गरिबी बढाउँदै जलवायु परिवर्तन र यसको व्यवस्थापन
वि.सं.२०८३ मंसिर १२ शनिवार ०८:५६
shares

नेपालको प्रमुख समस्या गरिबी र बेरोजगारी हो । दशकौंदेखि नेपालको नकारात्मक तर बलियो पहिचानका रूपमा गरिबी अग्रपंक्तिमा रहँदै आएको छ । राज्यको नीतिगत प्रयत्न र परिवार तथा व्यक्तिको अग्रसरताले समयक्रम अनुसार गरिबीको दर घट्दै गएको भए पनि यसमा खासै उल्लेखनीय सुधार भने आउन सकेको छैन । गरिबी न्यूनीकरणमा धेरै पक्षले अवरोध गरिरहेको पाइन्छ । जलवायु परिवर्तन र विपद्ले पनि गरिबीको अर्को स्वरूप जन्माएको छ । नेपालमा प्राकृतिक प्रकोपका घटनाहरू धेरै हुने गरेका छन् । हरेक वर्ष दोहोरिने यस्ता घटनापछि घरखेतविहीन भएका, सम्पत्ति गुमाएर विपन्न बन्न पुगेका र सुकुम्बासी बनेर खोला र वन क्षेत्रमा झुपडी बनाएर बसेकाहरूको कारुणीक कथा हेर्न र सुन्न पाइन्छ ।
नेपाल प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेको वर्ष कुनै न कुनै किसिमका प्रकोपहरू आइरहने भएकाले नेपालका गरिबहरू कहिल्यै माथि उठ्न नसक्ने गरि थिचिएका छन् । नेपालका अघिकांश गरिबहरूको हातमुख जोर्ने उपाय ज्याला मजदुरी र कृषि नै हो । यी दुवै क्षेत्र प्रकोपबाट बढी प्रभावित हुने गरेका छन् । बाढी, पहिरो, खडेरीले खेती लगाउन नपाउने, बालीनाली हुर्काएर उत्पादन लिन नसक्ने, पशु चरण र आहाराको व्यवस्था गर्न नसक्ने तथा बल्लतल्ल उत्पादन गरिहाले पनि बजारसम्म पु¥याएर आर्थिक लाभ लिन नसक्ने भएकाले कृषि पेशामा संलग्न गरिबहरू प्रकोप बढेसंगै बढ्ने गरेको देखिन्छ । प्रकोपपछि सरकारले दिने केही राहतले दुईचार छाक खान पुग्ने भए पनि प्रकोपको कहरमा परेपछि त्यसबाट तत्कालमा बँच्नको लागि गरिबहरूले ऋण लिन बाध्य हुन्छन । जसले उनीहरूलाई गरिबीको दुष्चक्रबाट कहिले माथि उठ्न दिदैन ।
हुनत् कमजोर भौगर्भिक तथा भू–धरातलीय बनोट, मौसमी विषमता तथा जलवायु परिवर्तन, निरन्तर दोहोरिने बहु–प्रकोपको घटना, अब्यवस्थित तथा जोखिम असम्बेदनशील विकास निर्माण कार्यका कारण नेपाल विभिन्न किसिमका प्राकृतिक विपद्को उच्च जोखिममा रहेको छ । प्रायःहरेक वर्ष दोहोरिने प्रकोपका घटनाहरूले नेपालको भौतिक, आर्थिक र सामाजिक विकासमा प्रतिकूल प्रभाव पारिरहेको छ । नेपालमा विपद् आइसकेपछि उद्धार र पुनर्निर्माणका कामहरू हुने गर्छन तर गरिबीसंग जोडेर विपद्सँग लड्न पूर्वतयारी र विपद्पछि गरिबीको अवस्था आउन नदिने वैकल्पिक उपायहरूको बारेमा खोजी हुने गरेको छैन् । यसरी नेपाल गरिबी– विपद्–गरिबी चक्रमा घुमिरहेका छन् । त्यसैले विपद् व्यवस्थापनका योजना र कार्यक्रमहरू बनाउँदा गरिबीलाई पनि जोडेर बनाउनुपर्छ । गरिबीको कारणले विपद्मुखी गतिविधि हुन नदिन र विपद्पछि गरिब बन्ने अवस्था आउन नदिनका लागि गरिवी न्यूनीकरण, स्थानीय रोजगारी र विपद् जोखिम न्यूनिकरणका कार्यक्रमहरू एकीकृत रूपमा अघि बढाउनुपर्ने अहिलेको आवश्यकता छ ।
पछिल्लो समय गत भदौ १० मा आएको भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका पालिकाको गरिबी २.७ प्रतिशत बिन्दुले बढेको राष्ट्रिय योजना आयोगको प्रतिवेदनले देखाएको छ । यो तथ्याँक विपद् प्रभावित पालिकाको मात्रै हो, तर नेपालमा गरिबी उल्लेखनीय रूपमा घट्न नसक्नुमा विपद् बलियो कारण हो भन्ने पुष्टि गर्न भने यसले सघाउँछ । यसरी गरिबी धेरै भएको ठाउँमा विपद्का घटनाहरू धेरै हुने, विपद्पछि धेरै गरिबहरू प्रभावित हुने र गरिबहरूका कतिपय गतिविधिहरूले नै विपद्लाई आमन्त्रण गर्ने हुनाले विपद् र गरिबी जोडिएर आउने गरेको देखिन्छ । भोटेकोशी विपद्लाई नै हेर्ने हो भने नेपालले विपद्को पूर्वतयारीलाई दीर्घकालीन योजनाका रूपमा अगाडि बढाउनुपर्ने आवश्यकता छ । त्यस्तै, विपद्पछि बढेको गरिबीलाई अझै बढ्न नदिन र प्रभावितलाई गरिबीबाट मुक्त गर्नका लागि भने उनीहरूको पुनःस्थापना र आर्थिक उत्थानशीलताको कार्यक्रम लागू गर्नुपर्छ ।
विपद जोखिम न्यूनीकरण सम्बन्धी संयुक्त राष्ट्रसंघीय कार्यालय (युएनडीआरआर) का अनुसार सन् १९९८ देखि हालसम्म आएका विपद्का घटनाहरूमध्ये ८७ प्रतिशत प्राकृतिक विपद् न्यून आय भएका राष्ट्रहरूमा आएका छन् । विपद्बाट भएको कूल आर्थिक क्षतिको १३ प्रतिशत मात्र गरिब राष्ट्रहरूमा भएको छ । विश्वमा प्रति १० लाख जनसंख्यामा १३० जना विपद्बाट मर्ने गरेकोमा धनी राष्ट्रहरूमा यो संख्या प्रति दशलाखमा १८ जना मात्र रहेको छ । गरिवीको दर उच्च रहेका क्षेत्रका बासिन्दाहरू व्यवस्थित र सुरक्षित बसोबासको व्यवस्था गर्न कम सक्षम हुन्छन् । फलस्वरुप उनीहरू सस्तो र निःशुल्क जग्गाको खोजी गर्ने क्रममा बाढी, पहिरो, डुबान हुने क्षेत्रमा बसोबास गर्न बाध्य हुन्छन् । यिनै कारणले बाढी पहिरो जाँदा गरिब बस्तीहरू बढी प्रभावित हुने गरेका छन् ।
यसरी सुरक्षित र वातावरणमैत्री आवास निर्माण गर्न नसक्ने भएकाले भारी वर्षा, हावाहुरी, शितलहर र आगलागीबाट गरिबहरूले बढी क्षति बेहोर्नुपरेको देखिन्छ । बाढी, पहिरोजस्ता प्रकोपले जमिनको उत्पादकत्व, पानीका स्रोत, सिचाई प्रणाली, पशु चरणमा क्षति पुग्छ । यसबाट गरिबहरू नै बढी प्रभावित हुन्छन् । प्रकोपको कारणले रोजगार गुमाउनेहरूमा गरिब समूहका सदस्यहरू नै बढी हुने गर्छन । वास्तवमा नेपालमा गरिबी कायमै रहनुमा केही दीर्घकालीन र तत्कालीन विषय छन् । बहुसंख्यक मानिस परम्परागत कृषि पेसा अँगाल्छन् ।
कृषि स्वयं महँगो लागत र तुलनात्मक रूपमा कम प्रतिफलको क्षेत्र भएको छ । मुलुकभित्र उद्योगधन्दा फस्टाउन सकेको छैन, पूर्वाधार निर्माणको काम पनि सुस्त हुने गरेको छ, आयोजना वर्षौंसम्म पूरा हुँदैनन् । त्यसले गर्दा रोजगारका अवसर अत्यन्तै न्यून छ । व्यवसाय÷उद्यमशीलताका लागि लगानी गर्ने वातावरण उत्साहजनक छैन । उत्पादन, रोजगारी तथा व्यवसाय जस्ता क्षेत्रमा सकारात्मक परिस्थिति नहुँदा मानिसलाई गरिबीबाट मुक्त हुन कठिन छ । अर्कोतर्फ, सामाजिक सुरक्षाका सन्दर्भमा राज्यको बलियो उपस्थिति छैन । सरकारबाट घोषणा भएका कतिपय कार्यक्रम प्रभावकारी छैन, कतिपय असफल छन् । शिक्षा तथा स्वास्थ्यमै ठूलो रकम खर्च हुने गरेको छ । उपचारमा हुने व्यक्तिगत खर्चका कारण बर्सेनि हाराहारी ६ लाख मानिस गरिबीतर्फ धकेलिने गरेका छन् । त्यस्तै, भ्रष्टाचार, अपारदर्शिता, कुशासन, ढिलासुस्ती जस्ता कारणले पनि गरिबी बढाउन भूमिका खेलेको छ ।
नेपालमा समयक्रममा ह्वात्तै गरिबी बढाउन विपद् तथा महामारीले पनि ठूलो भूमिका खेल्ने गरेको छ । उदाहरणका लागि, २०७२ वैशाख १२ गते आएको भूकम्पले मुलुकभर करिब सात लाख मानिस गरिबीको रेखामुनि धकेलिएका थिए । त्यस्तै, २०७६ को अन्त्यतिर सुरु भएको कोभिड महामारीका कारण नेपालमा करिब १२ लाख मानिस गरिबीको रेखामुनि धकेलिएका थिए । त्यतिबेला अनुमानित १६ लाखले रोजगारी गुमाएको पनि राष्ट्रिय योजना आयोगको अध्ययनले देखाएको थियो । नेपालमा मधेश, सुदूरपश्चिम तथा कर्णाली जस्ता प्रदेशमा तुलनात्मक रूपमा गरिबी बढी छ । त्यस्ता क्षेत्रमा निम्तिने विपद् तथा महामारीले गरिबी थप बढाउन भूमिका खेल्ने गरेका छन् । विशेषगरी सरकारले लामो प्रयत्नबाट र परिवार तथा व्यक्तिले विभिन्न संयोग र अग्रसरताबाट जसोतसो गरिबीको रेखापार गरेका हुन्छन्, उनीहरूसँग बचत कम हुन सक्छ । त्यहीबेला निम्तिने सानातिना धक्काले नै उनीहरूलाई गरिबीको रेखामुनि धकेलिदिन सक्छ । कतिपय अवस्थामा त महँगी बढेर वा कृषि उत्पादनमा हस आउँदा पनि गरिबी बढ्न सक्छ ।
पछिल्ला तीन दशकमा नेपालमा उल्लेखनीय रूपमा गरिबी घटेको छ । सन् १९९५÷९६ मा ४१.७६ प्रतिशत रहेको नेपालको गरिबी २०२२÷२३ मा २०.२७ प्रतिशतमा झरेको तथ्यांक छ । यसका लागि राज्यले शिक्षा तथा स्वास्थ्यमा बढाएको लगानी, बढ्दो सहरीकरण र त्यससँगै बढ्दो अवसर, विश्व व्यापीकरणसँगै बढेको पहुँच, आर्थिक उपार्जनका लागि नयाँ–नयाँ क्षेत्रको विकास, सामाजिक सुरक्षाका कार्यक्रम, वैदेशिक रोजगारी जस्ता कारणले भूमिका खेलेका छन् । तर यी नियमित र दीर्घकालीन विषय हुन् । यतिबेलाको मूल प्रसंग भोटेकोशी बाढी वा त्यस्ता विपद्को सम्भावना बढ्दै गएको र त्यसले गरिबी दर पनि ह्वात्तै बढाउने गरेको यथार्थसँग सम्बन्धित छ ।
विपद्का बेलामा मानिसले आफ्नो सर्वस्व गुमाउन सक्छन् । परिवारका सदस्य, घरजग्गा, व्यवसाय जस्ता सबै पक्ष गुम्न सक्छन् । त्यसले सम्पन्न मानिस पनि एकै पटक गरिब बन्न सक्छ । साथै, गरिबीबाट उकासिनका लागि उसका व्यक्तिगत तथा पारिवारिक पहल मात्रै पर्याप्त नहुन सक्छन् । हुनत् मुलुकमा आर्थिक अवसर जति बढी भयो, मानिसको आर्थिक सामथ्र्य पनि उति नै बढ्छ । त्यसले गरिबीतर्फ धकेलिने सम्भावना कम हुन्छ नै, गरिबी न्यूनीकरणका लागि तत्कालै पहलकदमी लिन सक्ने सम्भावना पनि बढ्छ । विपद्को हकमा भने त्यसको क्षति कमै मात्र पर्न सक्ने परिस्थिति निर्माण गर्नुपर्छ ।
विपद् पहिलाको तयारीमै ध्यान दिनुपर्छ । विपद्का सम्भावित क्षेत्रको पहिचान गर्दै मानवीय उपस्थिति र गतिविधि कम गर्दै लैजाँदा त्यसको क्षति पनि कम हुन्छ । त्यसैले बसोबासदेखि पूर्वाधार निर्माणसम्मका क्षेत्र तय गर्दा राज्यले गम्भीर अध्ययन अनुसन्धान गर्न जरुरी छ । विपद् प्रतिरोधी संरचना विशेषगरी भूकम्प प्रतिरोधी निजी तथा सार्वजनिक संरचना बनाउँदा जनधनको क्षति कम हुन सक्छ । विपद्का बेलामा राहत तथा उद्धारलाई प्राथमिकता दिनुपर्छ । विपद्बाट बाँचेकाहरूको अस्थायी र स्थायी पुनःस्थापना गरिनुपर्छ । उनीहरूलाई पहिलेकै स्थितिमा फर्काउन तीनै तहका सरकारले रणनीतिक कार्यक्रम कार्यान्वयन गर्नुपर्छ, निजी क्षेत्रले प्रभावितलाई रोजगारी र उद्यमशीलतासँग जोड्नुपर्छ । जलवायु परिवर्तनको असर स्वरूप निम्तिएका विपद्पछि आउने अन्तर्राष्ट्रिय वित्तलाई पनि उत्थानशीलतासँग जोड्नुपर्छ ।
निम्न मध्यम आय भएका मुलुकका लागि प्रतिदिन ३.२० अमेरिकी डलर र विकसित मुलुकका लागि ५.५० अमेरिकी डलर आयलाई गरिबीको रेखा मानिएको छ । नेपाल सरकारले गरिबी निर्धारण गर्न निर्धारण गरेको गरिबी रेखाको आधार न्यूनतम् आवश्यकता (खाद्य आवश्यकता तथा अन्य प्राथमिक सेवा) का लागि चाहिने क्रय शक्ति हो, जसको निर्धारण जीवनस्तर मापन सर्वेक्षणबाट गरिँदै आएको छ । हाल १५.१ प्रतिशत घर परिवार गरिबीको रेखामुनि रहेको अनुमान छ । गरिबी बहुसूचाँकको आधारमा भने १७.४ प्रतिशत जनसंख्या गरीब छन् । प्रदेशगत रूपमा कर्णालीको सूचकाङ्क उच्च ३९.५ छ भने सुदूरपश्चिमको २५.३, मधेश प्रदेशको २४.२ र सबैभन्दा कम बाग्मतीको ७ प्रतिशत जति छ । चालू आर्थिक वर्षमा गरिबीको रेखामुनिको जनसंख्या ९.५ प्रतिशत र बहुसूचकाङ्कको राष्ट्रिय लक्ष्य ११.५ को प्राप्त नहुने अवस्था छ । यस दृष्टिकोणमा सन् २०३० सम्ममा सबै स्वरूपको गरिबी हटाउने, प्रतिव्यक्ति प्रतिवर्ष राष्ट्रिय आय २५०० अमेरिकी डलर पु¥याउने लक्ष्य झनै टाढा छ ।
वास्तवमा गरिबी अभाव र विपन्नता हो तर गरिबीको अर्थलाई विकासको स्तर र समाजको अवस्थाले पनि प्रभाव पार्दछ । सामान्य बुझाइमा गरिबी भनेको जीवन निर्वाहका लागि आवश्यक क्षमताको अभाव हो, जसलाई सामान्यतः मौद्रिक शक्तिको सापेक्षतामा हेरिन्छ । जीवनका लागि आवश्यक रकम, सेवा तथा वस्तुको अभाव हुने अवस्था गरिबी हो । त्यसैले गरिबीसंग जोडेर जलवायु परिवर्तन र विपद्सँग लड्न पूर्व तयारी र विपद्पछि गरिबीको अवस्था आउन नदिने वैकल्पिक उपायहरूको खोजी गर्नु नै राज्यको अर्जुनदृष्टि हुनुपर्दछ ।

























