स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
वि.सं.२०८३ मंसिर १२ शनिवार ०७:०२
shares

हुम्ला। जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन् ।
कृषि विकास कार्यालय हुम्लाका अनुसार यस वर्ष जिल्लामा पाँच हजार पाँच मेट्रिक टन स्याउ उत्पादन भएको छ । कूल ६९० हेक्टर क्षेत्रफलमा लगाइएको स्याउमध्ये एक हजार ३७७ दशमलव छ मेट्रिक टन जिल्ला बाहिर बिक्रीका लागि पठाइएको कार्यालय प्रमुख चूडामणि पन्तले बताउनुभयो ।
गाउँपालिकागत रूपमा सबैभन्दा बढी सर्केगार्डबाट ५०० मेट्रिक टन स्याउ निकासी भएको छ । त्यस्तै, सिमकोटबाट ४००, खार्पुनाथबाट २००, चङ्खेलीबाट १४०, ताँजाकोटबाट ६७ दशमलव छ, नाम्खाबाट ५० र अदानचुलीबाट २० मेट्रिक टन स्याउ जिल्ला बाहिर गएको छ ।
काँचो स्याउको निकासी रोक्न गत साउनदेखि गाउँपालिकाका कृषि प्राविधिकको सिफारिस अनिवार्य गरिएको थियो । तर, सिफारिसबिना पनि स्याउ बाहिर गएको सूचना प्राप्त भएकाले वास्तविक कारोबार अझै बढी हुन सक्ने प्रमुख पन्तको भनाइ छ । व्यक्तिगत रूपमा खरिद गरी पठाइएको र जिल्लाभित्रै खपत भएको स्याउको विवरण भने यसमा समावेश नगरिएको बताए ।
सडक सञ्जाल विस्तारसँगै हुम्लाको स्याउले जिल्ला बाहिरको बजार पाउन थालेको हो । गत वर्ष करिब चार करोडको स्याउ निकासी भएकोमा यस वर्ष कारोबार दोब्बरभन्दा बढी पुगेको छ । स्याउ बिक्रीबाट आम्दानी हुन थालेपछि किसानमा खेतीप्रति उत्साह बढेको स्याउ खरिद बिक्री कारोबार गरिरहेका अदानचुली–३ का अर्जुन फडेराले बताए ।
यस वर्ष हुम्लामा ए ग्रेडको स्याउ प्रतिकेजी ६०, बी ग्रेडको ५० र सी ग्रेडको रु ४० मा बिक्री भएको थियो । हुम्लाबाट पहिलोपटक आठ मेट्रिक टन फुजी स्याउसमेत जिल्ला बाहिर बिक्री भएको कृषि विकास कार्यालय हुम्लाको तथ्याङ्कमा उल्लेख गरीएको छ । यता हुम्लाको दक्षिणी भेगमा रहेको ताँजाकोट गाउँपालिकाबाट मात्रै ११ ट्रक स्याउ निकासी भएको र अबको पाँच वर्षमा कम्तीमा वार्षिक ५५ ट्रक स्याउ निकासी गर्ने गरी स्याउ जोन बनाइएको गाउँपालिकाका अध्यक्ष लालकेश जैसीले बताए ।

























