कुमारी बैंकलाई भिसाद्वारा दुई विधामा सम्मान
वि.सं.२०८३ मंसिर ९ बुधवार १७:१९
shares

काठमाडौं । कुमारी बैंक लिमिटेडलाई भिसाद्वारा सीमापार कारोबार तथा उपभोक्ता क्रेडिट कार्ड व्यवसायमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै दुई विधामा सम्मान गरिएको छ।
भिसा इन्टरनेशनलद्वारा आयोजित ‘भिसा लिडरसिप कन्क्लाभ नेपाल २०२६’ मा बैंकलाई ‘एक्सिलेन्स इन क्रस–बोर्डर बिजनेस’ तथा ‘एक्सिलेन्स इन कन्जुमर क्रेडिट कार्ड बिजनेस प्रिन्सिपल क्लाइन्ट’ विधामा सम्मान प्रदान गरिएको हो।
बैंकका अनुसार लगातार तीन वर्षदेखि प्राप्त उक्त सम्मानले अन्तर्राष्ट्रिय भुक्तानी सेवाको विस्तार, सीमापार कारोबारको प्रवर्द्धन तथा ग्राहककेन्द्रित कार्ड सेवामार्फत हासिल गरेको व्यावसायिक उत्कृष्टतालाई प्रतिबिम्बित गरेको छ।
डिजिटल भुक्तानी प्रणालीले विश्वव्यापी रूपमा कारोबार, यात्रा तथा वित्तीय पहुँचको स्वरूप परिवर्तन गरिरहेको अवस्थामा कुमारी बैंकले ग्राहकलाई सुरक्षित, सहज र नवीन भुक्तानी समाधान उपलब्ध गराउँदै आएको जनाएको छ। विशेषगरी भिसा कार्डमार्फत प्रदान गरिएका सेवा तथा अन्तर्राष्ट्रिय कारोबारसम्बन्धी सुविधालाई थप प्रभावकारी बनाउने दिशामा बैंक सक्रिय रहेको उल्लेख गरेको छ।
आधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकता दिँदै आएको बैंकले डिजिटल बैंकिङ, कार्ड सेवा तथा विद्युतीय भुक्तानी प्रणालीको विकास र विस्तारलाई निरन्तरता दिँदै आएको छ। आगामी दिनमा पनि ग्राहकको आवश्यकताअनुसार उन्नत, सुरक्षित र विश्वसनीय वित्तीय सेवा प्रदान गर्दै डिजिटल रूपान्तरणलाई थप सशक्त बनाउने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ।
२५ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकले देशभर २७९ शाखा, २९५ एटीएम, ४१ एक्सटेन्सन काउन्टर तथा ४० शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिँदै आएको छ। बैंकले डिजिटल बैंकिङ तथा भुक्तानी सेवाको पहुँच विस्तार गर्दै वित्तीय समावेशीकरणमा समेत योगदान पुर्याएको जनाएको छ।

























