बसन्तपुरमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु
वि.सं.२०८३ मंसिर ९ बुधवार १६:४१
shares

काठमाडौं । जोन्टा क्लब काठमाडौंले काठमाडौं महानगरपालिकासँगको सहकार्यमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु गरेको छ। अभियानको सुरुवात बुधबार काठमाडौंको बसन्तपुरमा सार्वजनिक कला स्थापनाको अनावरण गर्दै गरिएको हो।
अभियानको उद्घाटन काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलको प्रमुख आतिथ्यमा भएको थियो। कार्यक्रममा जोन्टा क्लब काठमाडौंका सदस्य, कलाकार, युवा नेतृत्व तथा सर्वसाधारणको उपस्थिति थियो।
तीन युवा नेपाली महिला कलाकार अमिषा महर्जन, निर्विता शाक्य र अमिषा केसीले वरिष्ठ कलाकार कपिलमणि दीक्षितको मार्गदर्शनमा तयार पारेको कला स्थापनाले महिला तथा किशोरीहरूले समाजमा खुलेर व्यक्त गर्न नसकेका र चुपचाप सहन बाध्य भएका भावनात्मक तथा सामाजिक पीडालाई उजागर गरेको छ।
‘उनका धेरै झोला छन्, सबैले देख्छन्। तर सबैभन्दा गह्रौँ झोला कसैले देख्दैन, जुन उनी एक्लै बोकेर हिँडिरहेकी हुन्छिन्’ भन्ने अवधारणामा आधारित कलाले महिलाहरूले भोग्ने डर, दमन, दोषारोपण र चारभित्ताभित्र सीमित पीडाका कथालाई प्रस्तुत गरेको छ। यसले हिंसाका विषयमा मौनता तोड्न, अनुभव खुलेर व्यक्त गर्न र महिला तथा किशोरीमाथि हुने हिंसा अन्त्यका लागि सामूहिक रूपमा अघि बढ्न प्रेरित गर्ने उद्देश्य राखेको छ।
महिला हिंसाविरुद्ध जनचेतना अभिवृद्धि गर्न र अभियानलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याउँदै काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महानगरपालिकाले जोन्टा क्लबसँग सहकार्य गरी महिला हिंसाविरुद्ध जनचेतना जगाउने तथा अभियानलाई निरन्तरता दिने योजना रहेको बताउनुभयो।
उहाँले महिला हिंसा, अपहेलना र लैङ्गिक विभेद अन्त्य गर्नु सबैको जिम्मेवारी भएको उल्लेख गर्दै अभियानमा सामूहिक सहभागिताको आवश्यकता औंल्याउनुभयो।
जोन्टा क्लब काठमाडौंकी अध्यक्ष मृदुला राजभण्डारीले लैङ्गिक हिंसा अन्त्यका लागि जनचेतनासँगै समाजका सबै तहबाट निरन्तर प्रयास आवश्यक रहेको बताउनुभयो। उहाँका अनुसार यस वर्षको ‘जोन्टा सेज नो’ अभियानमार्फत युवा, विद्यार्थी, स्थानीय तह र निजी क्षेत्रलाई जोड्दै संवादलाई व्यवहारिक परिवर्तनमा रूपान्तरण गर्ने लक्ष्य राखिएको छ।
त्यस्तै, जोन्टा क्लब काठमाडौंको महिला हिंसाविरुद्धको समितिकी अध्यक्ष दीप्ती आचार्यले कला पीडा र अनुभव अभिव्यक्त गर्ने सशक्त माध्यम भएको बताउनुभयो। उहाँले कलास्थापनाले लैङ्गिक हिंसाको अदृश्य पीडालाई सार्वजनिक संवादमा ल्याउँदै हिंसाको बोझ महिलाले एक्लै बोक्नुपर्ने होइन भन्ने सन्देश दिएको उल्लेख गर्नुभयो।
बसन्तपुरमा स्थापना गरिएको सार्वजनिक कला अभियान अवधिभर सर्वसाधारणका लागि खुला रहनेछ। नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म सञ्चालन हुने अभियान विश्वव्यापी ‘जोन्टा सेज नो’ पहलअन्तर्गत आयोजना गरिएको हो।
अभियान अवधिभर युवाको फ्ल्यास मोब, महिनावारी स्वास्थ्य तथा बालविवाहसम्बन्धी सामुदायिक संवाद, निजी क्षेत्रका श्रमिकका लागि कार्यशाला तथा काठमाडौं र दाङमा सामुदायिक दौड आयोजना गरिनेछ। अभियान डिसेम्बर १० मा हुने समापन सम्मेलनसँगै सम्पन्न हुनेछ।

























