काण्डला बन्दरगाहबाट तेल आयात गर्न पाउने भएपछि नेपाली उद्योगलाई राहत
वि.सं.२०८३ मंसिर ९ बुधवार १६:५७
shares

नेपालका प्रशोधित खाद्य तेल उद्योगले भारतको गुजरातस्थित काण्डला बन्दरगाहबाट समेत क्रुड सनफ्लावर आयल र क्रुड सोयाबिन आयल आयात गर्न पाउने भएका छन्। नेपाली वनस्पति घ्यू तथा तेल उद्योगका लागि यसलाई महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ।
हालै सम्पन्न प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा नेपाली उद्योगहरूले लामो समयदेखि उठाउँदै आएको माग सम्बोधन भएपछि काण्डला बन्दरगाहबाट आयातको व्यवस्था भएको वनस्पति घ्यू तथा तेल उत्पादक संघले जनाएको छ।
यसअघि नेपाली उद्योगहरू वजवज, कलकत्ता र हल्दिया बन्दरगाहमा मात्रै निर्भर रहँदा ढुवानी खर्च, समय तथा आयात लागतका हिसाबले विभिन्न कठिनाइ भोग्दै आएका थिए।
बन्दरगाहसम्बन्धी समस्या समाधानका लागि संघका अध्यक्ष विकास दुगडलगायत प्रतिनिधिमण्डलले नेपाल सरकारका सम्बन्धित निकायसँग निरन्तर माग गर्दै आएको थियो।
काण्डला बन्दरगाहबाट समेत आयात गर्न पाउने व्यवस्थाले उद्योगहरूलाई वैकल्पिक आयात मार्ग उपलब्ध गराउनुका साथै लागत न्यूनीकरण, आपूर्ति सहजता र प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिमा योगदान पुग्ने संघको विश्वास छ।
यस उपलब्धिका लागि उच्चस्तरीय वार्तामा नेपाली उद्योगहरूको मागलाई प्राथमिकताका साथ उठाएर समाधानको मार्ग प्रशस्त गरेको भन्दै संघले प्रधानमन्त्रीप्रति आभार व्यक्त गरेको छ। साथै, नेपाल सरकारका सम्बन्धित निकाय, निजी क्षेत्रका प्रतिनिधि तथा सहयोगी पक्षहरूप्रति धन्यवाद ज्ञापन गरेको छ।
सरकार र निजी क्षेत्रबीचको सहकार्य, समन्वय तथा संवादलाई थप प्रभावकारी बनाउँदै नेपाली उद्योगहरूको विकास, विस्तार र प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिका लागि यस्ता सकारात्मक पहलले निरन्तरता पाउने अपेक्षा संघले गरेको छ।

























