रेड बुल १३औं कृति अवार्ड्सको निर्णायक अभिमुखीकरण सम्पन्न
वि.सं.२०८३ मंसिर ९ बुधवार १६:१५
shares

काठमाडौं । नेपाल विज्ञापन संघ (आन) को आयोजनामा भइरहेको ‘रेड बुल १३औं कृति अवार्ड्स २०८३’ अन्तर्गत निर्णायक मण्डलका लागि आयोजित अभिमुखीकरण कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ। कार्यक्रममा निर्णायक मण्डलका अध्यक्ष प्रा. डा. विजय केसी तथा वरिष्ठ निर्णायकहरू रवीन्द्रमान श्रेष्ठ र भारती सिलवाल गिरीले सहभागी निर्णायकहरूलाई मनोनयन मूल्याङ्कनका मापदण्ड, प्रक्रिया तथा आचारसंहिताबारे विस्तृत जानकारी गराएको थियो।
यस वर्षको कृति अवार्ड्सका लागि विज्ञापन, बजार व्यवस्थापन, डिजिटल मार्केटिङ तथा बजार सञ्चारका विभिन्न विशिष्टीकृत विधाका विज्ञहरूलाई निर्णायक मण्डलमा समावेश गरिएको छ। साथै, संगीत, कला तथा साहित्य, ग्राफिक डिजाइन, डिजिटल प्रविधि र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) जस्ता सिर्जनात्मक तथा प्राविधिक क्षेत्रका प्रबुद्ध व्यक्तित्वहरूलाई समेत समेटेर बहुविधागत निर्णायक टोली गठन गरिएको छ।
आन कार्यसमितिको कार्यादेशअनुसार सम्बन्धित विधामा योगदान र विज्ञताका आधारमा छनोट गरी आमन्त्रण गरिएका निर्णायकहरूले अवार्डका लागि प्राप्त मनोनयनहरूको मूल्याङ्कन गर्नेछन्।
अवार्डलाई मर्यादित, निष्पक्ष, विश्वसनीय र प्रभावमुक्त बनाउन आनको कार्यसमिति निर्णायक छनोट प्रक्रियाबाट पूर्ण रूपमा अलग रहेको संघले जनाएको छ। निर्णायक छनोट तथा मूल्याङ्कन प्रक्रियामा कार्यसमितिका कुनै पनि पदाधिकारी वा सदस्यको संलग्नता नरहेको समेत संघले स्पष्ट पारेको छ। इनर्जी ड्रिंक रेड बुल मुख्य प्रायोजक रहेको यस वर्षको कृति अवार्ड्समा डिजिटल प्लेटफर्म इनमार्कको इनएसोसिएसन विथ तथा जीएमडब्ल्यू ओरा, कोका–कोला र यति इन्टरनेशनल कलेजको पावर्ड बाइ प्रायोजन रहेको छ।

























