काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

महिला हिंसाको स्वरूप फेरिँदै, सामाजिक सञ्जालबाट हुने चरित्र हत्या र साइबर हिंसा नयाँ चुनौती

966
shares

ai logo सारांश

  • नेपालमा महिला हिंसाका घटना अझै अन्त्य हुन नसकेको र पछिल्लो समय हिंसाको स्वरूपसमेत परिवर्तन हुँदै गएको छ ।

काठमाडौं । नेपालमा महिला हिंसाका घटना अझै अन्त्य हुन नसकेको र पछिल्लो समय हिंसाको स्वरूपसमेत परिवर्तन हुँदै गएको छ । परम्परागत रूपमा परिवारभित्र हुने शारीरिक तथा मानसिक हिंसासँगै अहिले सामाजिक सञ्जालमार्फत हुने चरित्र हत्या, साइबर दुव्र्यवहार, सार्वजनिक अपमान र राजनीतिक हिंसा नयाँ चुनौतीका रूपमा देखा परेको छ ।

यसै संन्र्दभको कुराकानीमा एमाले नेतृ तथा राष्ट्रिय सभा सदस्य रामकुमारी झाँक्रीले नेपालमा महिला हिंसाका घटना बढेको भन्दा पनि हिंसाविरुद्ध आवाज उठाउने र उजुरी गर्ने महिलाको संख्या बढेको बताएकी छन् ।

नेपाल न्यूज बैंकसँगको कुराकानीमा झाँक्रीले विगतको तुलनामा अहिले महिला हिंसाविरुद्ध कानुनी सचेतना, सामाजिक जागरण र उजुरी गर्ने प्रवृत्ति बढेको बताएकी हुन् । उनले महिला हिंसाका घटनाको तथ्याङ्क बढेको देखिए पनि त्यसलाई समग्रमा हिंसा बढेको निष्कर्षका रूपमा बुझ्न नहुने धारणा राखिन् ।

उनले भनिन्, ‘महिला हिंसा बढेको होइन, उजुरी गर्नेको संख्या बढेको हो । हामी बच्चा हुँदा र हाम्रा दिदीबहिनी तथा आमाहरू हुर्किँदै गर्दा महिला हुनु र हिंसा सहनु अनिवार्य सर्तजस्तै थियो । अहिले महिलाहरू हिंसाविरुद्ध बोल्न र उजुरी गर्न सक्ने अवस्थामा पुगेका छन् ।’

उनका अनुसार महिला हिंसाविरुद्ध बनेका कानुन, राजनीतिक अभियान र समाज रूपान्तरणका प्रयासका कारण पीडितले आफ्ना समस्या बाहिर ल्याउने वातावरण बनेको हो । विगतमा सार्वजनिक स्थानमा महिलामाथि हुने दुव्र्यवहारलाई सामान्य रूपमा लिने सामाजिक सोचमा अहिले परिवर्तन आएको उनको भनाइ छ ।

झाँक्रीले महिला हिंसा न्यूनीकरण मात्र नभई पूर्ण रूपमा अन्त्य गर्ने लक्ष्यका साथ शून्य सहनशीलताको नीति अपनाउनुपर्नेमा जोड दिइन् । महिला होस् वा पुरुष, कसैले पनि कसैमाथि हिंसा, दुव्र्यवहार र बुलिङ गर्न नपाउने समाज निर्माण गर्नुपर्ने उनले बताइन् ।

उनले महिला हिंसालाई यौन दुव्र्यवहारमा मात्र सीमित गरेर हेर्न नहुने पनि बताइन् । सामाजिक सञ्जालमा हुने चरित्र हत्या, गालीगलौज, सार्वजनिक अपमान, मानसिक यातना तथा राजनीतिक क्षेत्रमा हुने विभेद र हिंसालाई पनि गम्भीर रूपमा लिनुपर्ने उनको भनाइ छ ।

झाँक्रीले महिला हिंसा अन्त्यका लागि कानुन र राज्यको प्रयास मात्र पर्याप्त नहुने उल्लेख गर्दै व्यक्ति र समाजको सोचमा परिवर्तन आवश्यक रहेको बताइन् । चार–पाँच वर्षका बालिकासमेत बलात्कारको सिकार हुने घटनाले समाजको आपराधिक मानसिकता र नैतिक विचलन उजागर गरेको उनको टिप्पणी छ ।

उनका अनुसार सरकारले कानुनी संरक्षण र सजायको व्यवस्था गरे पनि त्यसको प्रभावकारी कार्यान्वयनमा सामाजिक दबाब र भीडको हस्तक्षेप चुनौतीका रूपमा देखिएको छ । अनुसन्धान र प्रमाणका आधारमा न्याय निरूपण हुनुपर्नेमा भीडले नै कसैलाई अपराधी घोषणा गर्ने प्रवृत्ति खतरनाक रहेको उनले बताइन् ।

‘भीडले जसलाई अपराधी भन्यो, त्यसैलाई अपराधी मान्नुपर्ने अवस्था सिर्जना हुनु हुँदैन। अनुसन्धान र तहकिकातका आधारमा न्याय हुनुपर्छ । भीडको निर्णयलाई राज्यले स्वीकार गर्न थाल्यो भने कानुनको शासन कमजोर हुन्छ,’ उनले भनिन् ।

उनले निर्मला पन्त प्रकरणदेखि पछिल्ला विभिन्न बलात्कार तथा हत्या घटनासम्म आइपुग्दा अनुसन्धानलाई प्रभावित पार्ने गरी भीडबाट हुने दबाब र सामाजिक सञ्जालमा फैलिने अपुष्ट धारणाले न्याय प्रक्रियामा जटिलता थपेको बताइन् । पीडितका घटनालाई राजनीतिक स्वार्थ, चन्दा सङ्कलन र व्यक्तिगत लाभको माध्यम बनाउने प्रवृत्तिप्रति पनि उनले असन्तुष्टि व्यक्त गरिन् ।

झाँक्रीले सिमरामा भएको नाबालिका बलात्कार तथा हत्या प्रकरण र सुर्खेतको घटनाको प्रसङ्ग उल्लेख गर्दै वास्तविक अनुसन्धान र भीडले बनाउने धारणाबीच फरक हुन सक्ने बताइन्। प्रहरी अनुसन्धान, सरकारी वकिलको अभियोजन र अदालतको न्यायिक प्रक्रियालाई स्वतन्त्र रूपमा अघि बढ्न दिनुपर्ने उनको जोड छ ।

उनले सामाजिक सञ्जालबाट हुने हिंसा नियन्त्रणका लागि नियमन आवश्यक रहेको बताउँदा त्यसको विरोध गर्ने प्रवृत्तिप्रति पनि प्रश्न उठाइन्। उनका अनुसार अभिव्यक्ति स्वतन्त्रताको नाममा अरूको चरित्र हत्या, अपमान र हिंसालाई प्रोत्साहन गर्न मिल्दैन ।

कानुनको दुरुपयोगप्रति पनि सचेत हुनुपर्ने उल्लेख गर्दै उनले केही घटनामा आपसी सहमति वा मिलेमतोका विषयलाई समेत बलात्कारको आरोपमा रूपान्तरण गर्ने प्रवृत्ति देखिएको बताइन् । कानुनको दुरुपयोग र वास्तविक पीडितले न्याय नपाउने अवस्था दुवै रोक्न निष्पक्ष अनुसन्धान आवश्यक रहेको उनको भनाइ छ ।

‘कानुन बनाउनु मात्रै पर्याप्त हुँदैन। कानुनको सही कार्यान्वयन हुनुपर्छ। हिंसा गर्ने व्यक्तिलाई समाजले नै निरुत्साहित गर्न सक्नुपर्छ। हिंसा गर्नेलाई संरक्षण गर्ने र त्यसको पक्षमा उभिने प्रवृत्ति रहेसम्म महिला हिंसा अन्त्य हुन सक्दैन,’ उनले भनिन् ।

झाँक्रीले महिला हिंसाविरुद्धको अभियानलाई राजनीतिक दल, सरकार र प्रहरी प्रशासनको जिम्मेवारीमा मात्र सीमित नगरी प्रत्येक व्यक्तिको व्यवहार र सोच परिवर्तनसँग जोड्नुपर्ने बताइन् ।

यसैगरी, राष्ट्रिय सभा सदस्य दलकी नेता कमला पन्तले नेपालमा महिला हिंसा अन्त्य हुन नसकेको र पछिल्लो समय हिंसाको प्रकृतिसमेत परिवर्तन हुँदै गएको बताएकी छन्। उनले परम्परागत रूपमा परिवारभित्र हुने हिंसासँगै अहिले सामाजिक सञ्जालमार्फत हुने साइबर हिंसा, चरित्र हत्या तथा राजनीतिक हिंसासमेत बढ्दै गएको बताएकी हुन् ।

पन्तले महिला हिंसाको स्वरूप परिवर्तन भए पनि यसको अवस्था अझै चिन्ताजनक रहेको बताइन । विगतमा दाइजो, पारिवारिक दुव्र्यवहार तथा बुहारीमाथि हुने हिंसा बढी देखिने गरेको उल्लेख गर्दै उनले अहिले सामाजिक सञ्जालबाट हुने गालीगलौज, चरित्र हत्या र साइबर अपराध नयाँ चुनौतीका रूपमा देखिएको बताइन् ।

उनले भनिन्, ‘महिला हिंसा घटेको छैन। हिंसाको प्रकृति मात्रै फरक भएको छ। अहिले सामाजिक सञ्जालबाट हुने हिंसा, साइबर अपराधलगायत विभिन्न प्रकृतिका हिंसा बढिरहेका छन्। राजनीतिक हिंसा पनि बढिरहेको छ ।’

पन्तले हिंसाका घटनाको गहिरो अनुसन्धान गरी दोषीलाई कारबाही गर्न नसके पीडितले थप पीडा भोग्नुपर्ने अवस्था आउने बताइन् । अहिले सामाजिक सञ्जालमा हुने आरोप–प्रत्यारोप र चरित्र हत्याका कारण गल्ती नै नगरेका व्यक्तिसमेत हिंसाको सिकार हुनुपरेको उनको भनाइ छ ।

उनले सामाजिक सञ्जालमा हुने दुव्र्यवहारले महिलाको व्यक्तिगत तथा सामाजिक जीवनमा गम्भीर असर पारिरहेको बताइन् । विशेषगरी महिलाको चरित्रमाथि प्रश्न उठाउने, फोटो जोडेर गलत प्रचार गर्ने र आधारहीन आरोप लगाउने प्रवृत्तिले महिलालाई सार्वजनिक रूपमा बोल्नसमेत कठिन बनाएको उनले उल्लेख गरिन् ।

‘महिलालाई हिंसा गर्न झन् सजिलो भएको छ। एउटा पुरुषसँग एउटा महिलाको फोटो जोडिदिएपछि समाजले उसलाई गलत ठान्न थाल्छ । महिला गलत नहुन पनि सक्छिन् भन्ने कुरा कसैले सोच्दैन । यस्तो अवस्थामा महिलालाई जोगिएर हिँड्नसमेत गाह्रो भइसकेको छ,’ उनले भनिन् ।

उनले महिला हिंसा अन्त्यका लागि कानुन निर्माण मात्रै पर्याप्त नहुने भन्दै त्यसको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताइन् । हिंसाका घटनामा निष्पक्ष अनुसन्धान हुनुपर्ने र पीडितले उजुरी गरेपछि त्यसलाई गम्भीरतापूर्वक लिनुपर्ने उनको जोड छ ।

पन्तले आर्थिक रूपमा कमजोर परिवार, दलित समुदाय तथा सामाजिक रूपमा पछाडि पारिएका वर्गका महिलामाथि हुने हिंसालाई पनि गम्भीर रूपमा लिनुपर्ने बताइन्। अन्तरजातीय विवाहका कारण दलित तथा गैरदलित समुदायका युवा–युवतीमाथि कुटपिट र हत्यासम्मका घटना हुने गरेको उल्लेख गर्दै उनले यस्ता घटनाको अनुसन्धान र दोषीमाथि कारबाही हुनुपर्ने बताइन् ।

उनका अनुसार हिंसाका घटनामा पहुँच र आर्थिक अवस्थाका आधारमा विभेद हुने गरेको गुनासोसमेत छ । प्रहरी प्रशासनले सबै पीडितलाई समान व्यवहार गर्दै निष्पक्ष अनुसन्धान गर्नुपर्ने उनको भनाइ छ ।

सामाजिक सञ्जालमार्फत हुने हिंसाबारे बोल्दै पन्तले यसलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताइन् । सामाजिक सञ्जालमा हुने चरित्र हत्या, अपमान र दुव्र्यवहार नियन्त्रणका लागि प्रभावकारी संयन्त्र आवश्यक रहेको उनले उल्लेख गरिन् ।

उनले भनिन्, ‘सामाजिक सञ्जालमा हुने हिंसालाई सरकारले गम्भीर ढंगले हेर्नुपर्छ। महिलाले उजुरी गर्नेबित्तिकै त्यसलाई गम्भीरताका साथ लिनुपर्छ । प्रहरीले महिला सहायता संयन्त्र बनाएर काम सुरु गरेको छ, तर त्यसमा पनि हुनेखाने र आर्थिक अवस्था कमजोर भएका व्यक्तिबीच विभेद हुनुहुँदैन ।’

पन्तले महिला हिंसाविरुद्धको अनुसन्धानलाई प्रभावकारी बनाउन प्रहरी प्रशासनलाई थप जिम्मेवार बनाउनुपर्ने बताइन् । हिंसाका घटनालाई राजनीतिक तथा व्यक्तिगत सम्बन्धका आधारमा हेर्ने प्रवृत्ति अन्त्य हुनुपर्ने र पीडितको सामाजिक तथा आर्थिक अवस्थाभन्दा माथि उठेर न्याय प्रदान गर्नुपर्ने उनको भनाइ छ ।

उनले सामाजिक सञ्जाल प्रयोगकर्ता, सञ्चालक तथा त्यसमा निर्भर रहने सबै पक्षलाई जिम्मेवार बन्न आग्रह गरिन् । सामाजिक सञ्जाल समाजलाई सही दिशामा डो-याउने माध्यम बन्नुपर्ने भन्दै उनले त्यसको दुरुपयोगबाट हुने हिंसा रोक्न सबै पक्ष गम्भीर हुनुपर्ने बताइन् ।

पन्तका अनुसार महिला हिंसा अन्त्यका लागि सरकार, प्रहरी प्रशासन, राजनीतिक दल, सामाजिक संस्था र नागरिक सबैको साझा प्रयास आवश्यक छ । कानुन हुँदाहुँदै पनि कार्यान्वयन कमजोर भए हिंसाका घटना न्यूनीकरण हुन नसक्ने भएकाले अनुसन्धान र कार्यान्वयन पक्षलाई बलियो बनाउनुपर्नेमा उनले जोड दिइन् ।