‘एनपिएल चौथो संस्करण चितवनमा आयोजना गर्न सकिन्छ’
वि.सं.२०८३ मंसिर ९ बुधवार १७:२८
shares

सारांश
- नेपाल प्रिमियर लिग (एनपिएल) को चौथो संस्करण भरतपुरमा निर्माणाधीन गौतम बुद्ध क्रिकेट रंगशालामा आयोजना गर्न सकिने भएको छ ।
- पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आठ वटै क्लबका सञ्चालकसँग यस विषयमा छलफल अघि बढाएका छन् ।
- प्रधानमन्त्री शाहले चितवन राइनोजको होम रंगशाला गौतमबुद्ध रंगशालालाई तोकेका छन् ।
चितवन । नेपाल प्रिमियर लिग (एनपिएल) को चौथो संस्करण भरतपुरमा निर्माणाधीन गौतम बुद्ध क्रिकेट रंगशालामा आयोजना गर्न सकिने भएको छ । रंगशालाको पूर्वाधारको काम अन्तिम चरणमा पुगेकाले ‘फ्लर्ड लाइट’ जडानको काम अघि बढ्न सकेमा झण्डै एक वर्षपछि हुने एनपिएल खेल्न सकिने भएको हो ।
एनपिएलको तेस्रो संस्करण सकिएको दिन प्रधानमन्त्री वालेन्द्र शाहले आठ वटा क्रिकेट क्लबलाई ‘होम एण्ड अवे’ प्रणालीमा प्रतियोगिता सञ्चालन गर्ने घोषणा गरिसकेका छन् । यससँगै मंगलबार पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आठ वटै क्लबका सञ्चालकसँग यस विषयमा छलफल अघि बढाएका छन् ।
छलफलमा सहभागी चितवन राइनोजका अध्यक्ष आयुस न्यौपानेले पूर्वाधार विकासमन्त्री अत्यन्तै सकारात्मक रहेकाले चौथो एनपिएल चितवनमा हुनेमा आफू आशावादी भएको जानकारी दिए । उनले भने, ‘मन्त्रीज्यूसँगको छलफलमा चितवन र मूलपानीमा समेत अर्को वर्ष खेल खेलाउन सकिने विषयमा छलफल भएको छ ।’
रंगशाला निर्माणको काम केही महिनामा सकिने भएकाले संघीय सरकारले फ्लर्ड लाइड र प्राविधिक कामहरू गरेमा खेल खेलाउन समस्या नहुने देखिएको उनले बताए ।
चितवनमा जनकपुर, लुम्बिनी, पोखराका क्लबका लागि नजिक र सहज हुने अध्यक्ष न्यौपानेले बताए । प्रधानमन्त्री शाहले चितवन राइनोजको होम रंगशाला गौतमबुद्ध रंगशालालाई तोकेका छन् ।
भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले अबको चार महिनाभित्रमा रंगशालाको पूर्वाधारको काम सकिने बताए । उनका अनुसार रंगशालाको ६८ प्रतिशत काम सम्पन्न भइसकेको छ ।
दुईवटै ‘टावर स्ट्रक्चर’को काम एकिएको छ । फिनिसिङको काम हुँदै छ । प्यारापिटको बस्ने ठाउँको काम सकिएर प्यारापिट पछाडिको ढलानको काम गर्ने तयारी गरिएको छ । समग्रमा प्यारापिट ८० प्रतिशत सम्पन्न भएको कार्यवाहक प्रमुख अधिकारीले बताए ।
ग्राउण्डको सब सर्फेसको ड्रिनेजको पाइप राख्ने काम सुरु भएको भन्दै उनले त्यसपछि गिट्टी राखेर पिचको काम अघि बढाइने जानकारी दिए । ड्रिनेजको र कम्पाउण्डको काम भइसकेको छ । उनका अनुसार पहिलो चरणको यो काम सकिँदै गर्दा १५ हजार दर्शक बसेर क्रिकेट हेर्न सक्ने छन् । दोस्रो चरणको क्रमशः काम गर्ने योजना छ । दोस्रो चरणको काम सकिँदा ३० हजार जना क्षमताको रंगशाला बन्ने छ ।
विसं २०७५ माघ १६ गते धुर्मुस–सुन्तली फाउण्डेसन र भरतपुर महानगरपालिका बीच सम्झौता भई प्रारम्भिक काम २०७६ मङ्सिरदेखि सुरु भएको थियो । फाउण्डेसनले आर्थिक स्रोत जुटाउन नसकेपछि २०७८ सालबाट निर्माण रोकिएको थियो ।
फाउण्डेशनले महानगरपालिकालाई स्वामित्व हस्तान्तरण गरेपछि रंगशालाको पहिलो चरणको कामका लागि २०८१ साल असार २४ गते हिमालयन जेभिलाई भरतपुर महानगरपालिकाले ठेक्का दिएको थियो । ३० महिनाको समय दिएर भएको ठेक्का सम्झौताको मिति यही पुस २७ गते सकिँदै छ । कार्यवाहक प्रमुख अधिकारी त्यसको थप दुई महिनामा काम सक्ने अनुमान गर्छन् ।
सुरुको सम्झौता रकम ७८ करोड ५० लाख ९१ हजार रुपैयाँ रहेकोमा हाल बढेर ८६ करोड २४ लाख ८४ हजार रुपैयाँ पुगेको छ । दोस्रो चरणको समेत काम सम्पन्न गर्न फ्लर्ड लाइटबाहेक सिभिल कामका लागि रु दुई अर्ब हाराहारी लाग्ने अनुमान रहेको कार्यवाहक प्रमुख अधिकारीले बताए ।
उनले भने, ‘संघीय सरकारले थप पूर्वाधार र फ्लर्ड लाइट राखेमा आउँदो एनपिएल यही खेल्न सकिन्छ ।’ भौगोलिक हिसाबले उपयुक्त ठाउँ भएको भन्दै उनले छिमेकी देशहरु भारत र पाकिस्तानको समेत खेल यहीँ गर्न सकिने बताए ।
बागमती प्रदेशका क्रिकेट निर्देशक अनिल अधिकारीले एनपिएलको चौथो संस्करण भरतपुरमा गर्नुपर्ने बताए । सरकार स्वयं सकारात्मक रहेकाले चौथो संस्करण यही हुनेमा आफू ढुक्क रहेको उनको भनाइ छ ।
त्रिवि क्रिकेट रंगशालाको क्षमता १० हजार मात्रै भएको भन्दै उनले यहाँको पहिलो चरणको काम सकिँदै गर्दा १५ हजार र पछि ३० हजार दर्शक अट्ने भएकाले ठाउँ उपयुक्त भएको बताए । उनले भने, ‘त्रिवि रंगशालामा नौ महिनामा सिट र फ्लर्ड लाइट राख्न सक्यौँ, यहाँ हामीसँग ११ महिना छ, किन सकिँदैन ? ।’
अधिकारीले यहाँ राष्ट्रिय र अन्तर्राष्ट्रिय खेल खेलाउन सकिने बताए । त्रिविमा सात वटा पिच छन् भने यहाँ पाँच वटा पिच बनाउन सकिने छ । तराईका जिल्लाका खेलाडीका लागि भरतपुर उपयुक्त हुने अधिकारी बताउँछन् ।
चितवन जिल्ला क्रिकेट संघका सचिव सुरज ज्ञवालीले मापदण्ड अनुसार रंगशाला बनेकाले एनपिएलको चौथो संस्करण यहाँ गर्न सबैको साथ र सहयोग चाहिने बताए । उनले भने, ‘एनपिएलको चौथो संस्करण गर्न यहाँ सकिन्छ, सरकार सकारात्मक रहेकाले हुन्छ भन्नेमा हामी ढुक्क छौँ ।’
छिमेकी जिल्लामा रहेका केही क्लबको खेल यहाँ गर्न सकिने उनले बताए । भरतपुरबाट पोखरा, लुम्बिनी, जनकपुरजस्ता क्लबका लागि दूरीका हिसाबले चितवन सहज छ । खेलाडी र दर्शकका लागि बस्न होटलहरु सहज छन् भने खेल नहुँदा घुम्नका लागि चितवन राष्ट्रिय निकुञ्जलगायतका पर्यटकीयस्थल जिल्लामा रहेका छन् ।रासस

























