काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

पोखरामा ‘किङ्स कप’ राष्ट्रिय पुरुष भलिबल सुरु

420
shares

कास्की। पोखरामा आजदेखि ‘किङ्स कप’ राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ ।

युनाइटेड किङ्स क्लब पोखराको आयोजनामा पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा सञ्चालन भएको प्रतियोगिताको गण्डकीका सामाजिक विकास युवा तथा खेलकुदमन्त्री रेखा गुरुङले उद्घाटन गरे ।

प्रतियोगिताको पहिलो दिनको खेलमा गण्डकी प्रदेश, नेपाल एपिएफ क्लब र आयोजक किङ्स क्लब पोखराले विजयी सुरुआत गरेका छन् । पहिलो खेलमा गण्डकी प्रदेशले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गर्दै तीन अङ्क जोडेको छ । गण्डकीले पहिलो र दोस्रो सेट समान २५–१७ ले जिते पनि तेस्रो सेट १९–२५ ले गुमाएको थियो । चौथो सेट २५–२२ ले आफ्नो पक्षमा पार्दै गण्डकीले जित सुनिश्चित गरेको हो ।

दोस्रो खेलमा नेपाल एपिएफ क्लबले नेपाल पुलिस क्लबलाई ३–२ को सेटमा पराजित गर्‍यो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो सेट २९–२७ ले जित्दा दोस्रो सेट १८–२५ ले पुलिसलाई सुम्पिएको थियो ।

तेस्रो सेट २५–१८ ले जितेको एपिएफले चौथो सेट २२–२५ ले गुमाएपछि खेल पाँचौँ सेटमा पुगेको थियो । निर्णायक सेट १५–१३ ले जित्दै एपिएफले दुई अङ्क जोड्यो । पराजित पुलिसले एक अङ्क प्राप्त गरेको छ ।

यसैगरी खेलमा आयोजक किङ्स क्लब पोखराले कोशी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्‍यो । आयोजकले कोशीलाई २६–२४, २५–१८ र २५–२० को सेटमा हराउँदै तीन अङ्क जोडेको हो ।

‘राउन्ड रोबिन’ प्रणालीमा सञ्चालन हुने प्रतियोगितामा आयोजक किङ्स क्लब पोखरा, नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, कोशी प्रदेश भलिबल सङ्घ र गण्डकी प्रदेश भलिबल सङ्घ गरी छ टोलीको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले रु चार लाख, उपविजेताले रु दुई लाख ५० हजार, तेस्रो हुने टोलीले रु एक लाख र सान्त्वना स्थान हासिल गर्ने टोलीले ५० हजार पुरस्कार प्राप्त गर्ने क्लबका अध्यक्ष अशोक गुरुङले जानकारी दिए ।

प्रतियोगिता उद्घाटन गर्दै मन्त्री गुरुङले खेलकुद क्षेत्रको विकासका लागि सरकारसँगै निजी क्षेत्र, क्लब, सङ्घसंस्था र खेलप्रेमी समुदायको सक्रियता पनि उत्तिकै महत्त्वपूर्ण हुने बताए । उनले किङ्स क्लबले पहिलो पटक राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गर्न गरेको पहल प्रशंसनीय रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता प्रतियोगितालाई निरन्तरता दिन आग्रह गरे ।

“गण्डकी प्रदेशमा भलिबलप्रतिको आकर्षण र खेलाडीको प्रतिभा प्रशंसनीय छ । खेलाडीको प्रतिभाको सम्मान गर्दै खेलकुदलाई पेसा र भविष्य निर्माणको माध्यम बनाउनु आवश्यक छ”, मन्त्री गुरुङले भने । प्रतियोगिता संयोजक थमन गुरुङले राष्ट्रियस्तरमा पुरुष भलिबलको विकास, विस्तार र प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए । उनले प्रतियोगितालाई आगामी वर्ष पनि निरन्तरता दिने प्रतिबद्धता जनाए ।