काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

म्याग्दीमा धान उत्पादन २।७० प्रतिशतले वृद्धि

420
shares

म्याग्दी।म्याग्दीमा यस वर्ष धान उत्पादन गत वर्षको तुलनामा २।७० प्रतिशतले वृद्धि भएको छ । अनुकूल मौसम, रोगकीराको समस्या नदेखिएको तथा असिनाले क्षति नगरेका कारण धान उत्पादन बढेको कृषि विकास कार्यालयले जनाएको छ ।

कार्यालयका प्रमुख सञ्जीव बास्तोलाका अनुसार धान रोप्ने र हुर्कने समयमा पर्याप्त वर्षा हुनुका साथै भित्र्याउने समयमा पनि मौसम अनुकूल हुँदा उत्पादन बढेको हो ।

गत असोजको झरीपछि आएको बाढीपहिरोले केही स्थानमा धानखेत पुरिए पनि जिल्लाको समग्र उत्पादनमा उल्लेख्य असर परेको छैन । जिल्लामा तीन हजार ८०६ हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ । यस वर्ष प्रतिहेक्टर तीन दशमलव आठ मेट्रिकटनका दरले कुल १४ हजार ४६२ दशमलव आठ मेट्रिकटन धान उत्पादन भएको कार्यालयले जनाएको छ । गत वर्ष प्रतिहेक्टर तीन दशमलव सात मेट्रिकटनका दरले १४ हजार ८७ मेट्रिकटन धान उत्पादन भएको थियो ।

कृषि प्रसार अधिकृत कल्पना पुनका अनुसार जिल्लाका विभिन्न स्थानमा गरिएको बाली कटानी विधिबाट उत्पादनको तथ्याङ्क सङ्कलन गरिएको हो । म्याग्दीमा गौरिया, गुडुरा, जेठो बुढो, जनर्ली, पहेँले, मार्सी, शङ्कर र युएस ३१२ जातका धानखेती हुँदै आएको छ ।

लेखाली क्षेत्रका किसानले भिरालो जमिनमा पनि खेती गर्न सकिने र सिँचाइ आवश्यक नपर्ने घैया जातको धान लगाउने गरेका छन् । पछिल्लो समय उन्नत जातप्रति किसानको आकर्षण बढेसँगै घैया, गौरिया र अन्दी जस्ता रैथाने जातको खेती घट्दै गएको छ ।

रत्नेचौर, ज्यामरुककोट, अर्थुङ्गे, पुलाचौर, सिङ्गा, बरङ्जा, बाबियाचौर, कुहुँ, अर्मन, दरबाङ, ताकम, घतान, पात्लेखेत, पिप्ले, भगवती, घार, नारच्याङ र दाना क्षेत्रमा धानखेती हुँदै आएको छ । धवलागिरि गाउँपालिकाको गुर्जा, लुलाङ तथा अन्नपूर्ण गाउँपालिकाको शिखमा चिसोका कारण धानखेती हुँदैन ।

मङ्गला गाउँपालिका–५ पिपलबोटकी चन्द्रकुमारी भण्डारीले यस वर्ष ७० मुरी धान उत्पादन भएको बताइन् । गत वर्ष उनले ५५ मुरी धान उत्पादन गर्नुभएको थियो । मौसम अनुकूल भएकाले यस वर्ष उत्पादन बढेको उनको भनाइ छ ।

रैथाने जातको खेती घट्दै जानु र धानखेतीको क्षेत्रफल विस्तार हुन नसक्नु जिल्लामा धान उत्पादनका प्रमुख चुनौती रहेका छन् ।