काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

बाल संवेदनशील पत्रकारितासम्बन्धी दुईदिने अभिमुखीकरण सम्पन्न, १३ सदस्यीय बालमैत्री पत्रकार समूह गठन

315
shares

काठमाडौं । बाल अधिकार संरक्षण र प्रवद्र्धनका लागि ‘बाल संवेदनशील पत्रकारिता’ विषयक दुईदिने अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भएको छ । कार्यक्रमसँगै बाल अधिकारका क्षेत्रमा क्रियाशील पत्रकारहरूको १३ सदस्यीय बालमैत्री पत्रकार समूहसमेत गठन गरिएको छ ।

नागरिक दैनिककी पत्रकार सुभद्रा धितालको संयोजकत्वमा गठन गरिएको समूहको सह–संयोजकमा रातोपाटीका पत्रकार नरेन्द्र रौले रहेका छन् । यसैगरी, समूहको सदस्यहरूमा उमा शर्मा, विनोद देवकोटा, क्रिषला भण्डारी, शिव गौतम, सपना बोहरा, सुरेशप्रसाद सैँजु, पवित्रा मुडभरी, मनिषा बस्नेत, टोपेन्द्र रोकामगर, सत्यराज भट्ट र दानिस राज अन्सारी चयन भएका छन्।

अन्तर्राष्ट्रिय बाल दिवस (नोभेम्बर २०), बालविवाह, बाल्यकालीन तथा जबरजस्ती विवाह अन्त्यसम्बन्धी अन्तर्राष्ट्रिय दिवस (नोभेम्बर २७) र लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको सन्दर्भमा ललितपुरमा आयोजित अभिमुखीकरण कार्यक्रममा वक्ताहरूले बाल अधिकार संरक्षण र प्रवद्र्धनका लागि सञ्चारमाध्यमले बालबालिकाको सर्वोत्तम हितलाई सधैँ समाचारभन्दा माथि राख्नुपर्नेमा जोड दिएका छन् ।

बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप), जागृति बाल तथा युवा सरोकार नेपाल, एकोराब र प्लान इन्टरनेशनलको सहकार्यमा मङ्सिर ८ र ९ गते सञ्चालित कार्यक्रममा सिजपका अध्यक्ष तिलोत्तम पौडेलले नेपालमा कुल जनसङ्ख्याको ३३.८४ प्रतिशत अर्थात् ९८ लाख ६९ हजार ५८३ बालबालिका रहे पनि अझै २६ प्रतिशतको जन्मदर्ता नभएको तथ्याङ्क प्रस्तुत गरे ।

गत भदौ १० गते भोटेकोशीमा आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङका ३२ विद्यालयका नौ हजार चार सय बालबालिका प्रभावित भएको र ४८८ विद्यार्थी सम्पर्कविहीन रहेको उल्लेख गर्दै उनले विपद् तथा अन्य अवस्थामा बालबालिकाको पहिचान खुल्ने र मनोविज्ञानमा असर पार्ने विक्षिप्त दृश्य प्रकाशन–प्रसारण नगर्न आग्रह गरे ।

यस्तै, कार्यक्रममा सञ्चारिका समूहकी पूर्वअध्यक्ष बबिता बस्नेतले ‘बालिका र किशोरीका सवालमा लैङ्गिक उत्तरदायी पत्रकारिता’ विषयमा प्रस्तुति दिँदै सनसनीपूर्ण र पीडितकेन्द्रितभन्दा अधिकारमुखी रिपोर्टिङ आवश्यक रहेको बताइन् । युनिसेफको अक्टोबर २०२६ को प्रतिवेदनअनुसार नेपालमा २०–२४ वर्ष उमेर समूहका २८ प्रतिशत महिलाको १८ वर्ष नपुग्दै विवाह भएको तथ्याङ्क प्रस्तुत गर्दै उनले बालबालिकाको मर्यादा, गोपनीयता र मनोवैज्ञानिक सुरक्षाको रक्षा गर्दै जिम्मेवार पत्रकारिता गर्नुपर्ने आवश्यकता औँल्याइन् ।

यसैगरी, कार्यक्रममा सामुदायिक सूचना नेटवर्क सीआईएन अकोराबका सम्पादक लिलप्रकाश चन्दले बालबालिकालाई केवल पीडित वा असहाय पात्रका रूपमा मात्र नदेखाई समाधानमुखी र जवाफदेही पत्रकारिता गर्नुपर्नेमा जोड दिए । उनले सबल पक्षको पहिचान र सकारात्मक सोचको विकासका बारेमा अभिमुखीकरण दिएका थिए ।

सोही क्रममा नेपाल न्यूज बैंकका सम्पादन सल्लाहकार एवं नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष पत्रकार धर्मेन्द्र झाले ‘पत्रकारिता र बाल संवेदनशीलता’ विषयमा सहजीकरण गर्दै बालबालिकासँगको अन्तर्वार्तामा बालबालिका र अभिभावक दुवैको सुसूचित सहमति अनिवार्य लिनुपर्ने बताए । बालबालिकालाई मानसिक आघात र पुनः आघातबाट जोगाउन कृत्रिम प्रस्तुति नगर्न, सुरक्षित वातावरणमा सरल प्रश्न सोध्न तथा प्रेस काउन्सिल नेपाल र युनिसेफद्वारा जारी आचारसंहिता पूर्ण रूपमा पालना गर्नुपर्ने उनको भनाइ थियो ।

संयुक्त राष्ट्रसङ्घले सन् २०२६ देखि पहिलोपटक नोभेम्बर २७ लाई बालविवाह अन्त्यसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाउने निर्णय गरेको सन्दर्भमा सिजप नेपाल, सामुदायिक रेडियो प्रसारक सङ्घ अकोराब र प्लान इन्टरनेसनलको सहकार्यमा आयोजित अभिमुखीकरण कार्यक्रममा ३९ जना पत्रकारहरूको सहभागिता रहेको थियो ।