नेपाल–फिनल्याण्ड आर्थिक साझेदारी विस्तारमा चेम्बरको भूमिका महत्त्वपूर्ण : राजदूत पुहाक्का
वि.सं.२०८३ मंसिर ९ बुधवार १८:०५
shares

काठमाडौं । नेपाल र फिनल्याण्डबीच आर्थिक तथा व्यावसायिक सम्बन्ध विस्तार गर्न नेपाल–फिनल्याण्ड चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रीले महत्त्वपूर्ण भूमिका खेल्न सक्ने नेपालका लागि फिनल्याण्डका राजदूत पेट्री पुहाक्काले बताएका छन् ।
नेपाल–फिनल्याण्ड चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रीको चौथो वार्षिक साधारणसभालाई सम्बोधन गर्दै राजदूत पुहाक्काले दुई देशबीच व्यापार, लगानी, नवप्रवर्तन, शिक्षा तथा जनस्तरको सम्बन्ध विस्तारमा चेम्बरले पुलको काम गरिरहेको बताए ।
उनले भने,‘नेपाल र फिनल्याण्डबीचको आर्थिक तथा व्यावसायिक सम्बन्ध विस्तारमा नेपाल–फिनल्याण्ड चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रीको भूमिका महत्त्वपूर्ण छ । व्यापार, लगानी, नवप्रवर्तन, शिक्षा तथा जनस्तरको सम्बन्धलाई जोड्दै चेम्बरले दुई देशबीच पुलको काम गरिरहेको छ । द्विपक्षीय सम्बन्धलाई पारस्परिक लाभदायक आर्थिक साझेदारीमा रूपान्तरण गर्न चेम्बरको भूमिका अझ प्रभावकारी हुने विश्वास लिएको छु ।’
उनले नेपाल र फिनल्याण्डबीचको द्विपक्षीय सम्बन्धलाई पारस्परिक लाभदायक आर्थिक साझेदारीका रूपमा विकास गर्नुपर्नेमा जोड दिए । दुई देशबीचको व्यापार हाल सीमित रहे पनि आर्थिक सहकार्य विस्तारका प्रशस्त सम्भावना रहेको उनको भनाइ थियो ।
राजदूत पुहाक्काले फिनल्याण्ड नवप्रवर्तन, स्वच्छ तथा नवीकरणीय ऊर्जा, चक्रीय अर्थतन्त्र, शिक्षा र उन्नत प्रविधिमा परिचित रहेको उल्लेख गर्दै नेपालमा जलविद्युत्, पर्यटन, सूचना प्रविधि सेवा, कृषि व्यवसाय तथा उद्यमशीलताका क्षेत्रमा अवसर रहेको बताए ।
उनले भने, ‘नेपाल र फिनल्याण्डबीचको व्यापार हाल सीमित रहे पनि आर्थिक सहकार्य विस्तारका प्रशस्त सम्भावना छन् । फिनल्याण्ड नवप्रवर्तन, स्वच्छ तथा नवीकरणीय ऊर्जा, शिक्षा र उन्नत प्रविधिमा सक्षम छ भने नेपालमा जलविद्युत्, पर्यटन, सूचना प्रविधि, कृषि व्यवसाय र उद्यमशीलताका क्षेत्रमा ठूलो अवसर छ । दुवै देशका यी सबल पक्षलाई जोडेर पारस्परिक लाभदायक आर्थिक साझेदारी विकास गर्न सकिन्छ ।’
दुवै देशका सबल पक्षलाई एकअर्कासँग जोड्न सके पारस्परिक लाभका नयाँ सम्भावना सिर्जना हुने उनले उल्लेख गरे । चेम्बरले व्यवसायी तथा लगानीकर्ताबीच संवाद, सहकार्य र व्यावसायिक आदानप्रदानलाई प्रोत्साहन गर्नुपर्नेमा पनि उनले जोड दिए ।
राजदूत पुहाक्काले फिनल्याण्डले लामो समयदेखि नेपालको शिक्षा, खानेपानी तथा सरसफाइ क्षेत्रको विकासमा सहकार्य गर्दै आएको जानकारी दिए । विशेषगरी नेपालको पश्चिमी तथा सुदूरपश्चिम क्षेत्रमा शिक्षा र खानेपानी सेवाको पहुँच विस्तारमा फिनल्याण्डको सहयोगले सकारात्मक उपलब्धि हासिल गरेको उनले बताए ।

























