एआई लगानीप्रति बढ्दो चिन्ता, विश्व सेयर बजारमा तरङ्ग
वि.सं.२०८३ मंसिर ९ बुधवार २१:२९
shares

अमेरिकी सेयर बजारमा कृत्रिम बुद्धिमत्ता एआई सम्बन्धित कम्पनीका सेयरमा भारी बिक्री चाप देखिएपछि बुधबार एसियाली सेयर बजारमा पनि गिरावट आएको छ । लगानीकर्ताको चिन्ता बढेसँगै अधिकांश प्रमुख एसियाली बजार ओरालो लागेका छन् भने अमेरिकी फ्युचर्स र कच्चा तेलको मूल्यसमेत घटेको छ ।
ताइवानको ताइएक्स परिसूचक ५ प्रतिशतले घटेको छ । एआई चिप निर्माता ताइवान सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी (टीएसएमसी) को सेयर ३।६ प्रतिशतले घट्दा चिप डिजाइन कम्पनी मिडियाटेकको सेयरमा १० प्रतिशतको गिरावट आएको छ ।
दक्षिण कोरियाको कोस्पी परिसूचक ६।२ प्रतिशतले घटेर ४ हजार ६९७।५१ अंकमा झरेको छ । सामसङ इलेक्ट्रोनिक्सको सेयर ९।९ प्रतिशत र एसके हाइनिक्सको सेयर ११।१ प्रतिशतले घटेको छ ।
जापानको निक्केई २२५ परिसूचक २।८ प्रतिशतले घटेर ५७ हजार ११।६२ अंकमा पुगेको छ । ओपनएआईमा लगानी गरेको सफ्टबैंक ग्रुपको सेयर १४।८ प्रतिशतले घटेको छ भने सेमिकन्डक्टर निर्माता किओक्सियाको सेयर १४।२ प्रतिशतले ओरालो लागेको छ ।
हङकङको हाङसेङ परिसूचक पनि ०।३ प्रतिशतले घटेर २२ हजार १५१।२८ अंकमा झरेको छ । त्यस्तै, चीनको साङ्घाई कम्पोजिट परिसूचक १।५ प्रतिशतले घटेर ३ हजार ४९४।७५ अंकमा पुगेको छ । यो एक वर्षभन्दा लामो अवधिकै न्यूनस्तर हो ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले चीनसहित अन्य १५ व्यापारिक साझेदारमाथि थप भन्सार शुल्क लगाउने योजना सार्वजनिक गर्ने अपेक्षा गरिएको छ । यसले विश्व व्यापार र लगानीकर्ताको मनोबलमा थप दबाब सिर्जना गर्न सक्ने देखिएको छ ।
अस्ट्रेलियाको एस एन्ड पी÷एएसएक्स २०० परिसूचक ०.४ प्रतिशतले घटेर ८ हजार ६९२.४० अंकमा झरेको छ । अस्ट्रेलियामा अक्टोबरको उपभोक्ता मूल्य सूचकांक वार्षिक रूपमा ४.९ प्रतिशत पुगेको छ, जुन बजारको अपेक्षाभन्दा बढी हो । यसले केन्द्रीय बैंकलाई ब्याजदर बढाउन दबाब पर्न सक्ने अनुमान गरिएको छ ।
यसको विपरीत भारतको सेन्सेक्स परिसूचक २.४ प्रतिशतले बढेको छ । यो पछिल्लो छ महिनाकै उच्च स्तर हो ।
अमेरिकी बजारमा मंगलबार एसएन्डपी ५०० परिसूचक ०.५ प्रतिशतले घट्दै पछिल्ला नौ कारोबार दिनमध्ये आठौँ पटक ओरालो लागेको थियो । नास्डाक कम्पोजिट १.५ प्रतिशतले घट्दा डाउ जोन्स इन्डस्ट्रियल एभरेज भने ०.९ प्रतिशतले बढेको थियो ।
एआई कम्पनीका सेयरमा देखिएको उतारचढावले विश्वव्यापी बजारमा लगानीकर्ताको अनिश्चितता बढाएको छ ।

























