Nepalese Flag २०७८ वैशाख ४ गते शनिबार   |   April 17, 2021

कोकको वार्षिक २० करोड अधिकको विज्ञापन कारोबार, नेपाल बाहिरैबाट भुक्तानी

न्युज कारोबार काठमाडौं फागुन ११, २०७७       

कोकको वार्षिक २० करोड अधिकको विज्ञापन कारोबार, नेपाल बाहिरैबाट भुक्तानी

नेपालमा चार दशकभन्दा अधिकदेखि बोटलिङ कम्पनी स्थापना गरेर 'कार्बोनेटेड ड्रिंक' को कारोबार गर्दै आएको कोकाकोलाले नेपालमा गर्ने विज्ञापनसहितका अन्य प्रचारप्रसारको व्यवस्थापन र भुक्तानी भारतबाट गर्ने गरेको पाइएको छ । 'नेपालमा कोकाकोलाको बोटलिङ तथा व्यापारको कारोबार गर्दै आएको बोटलर्स नेपाल र उसको सहायक कम्पनी बोटलर्स नेपाल (तराई)ले गर्ने विज्ञापन व्यवस्थापन र भुक्तानी भारतीय कोकाकोला कम्पनीमार्फत हुने गरेको पाइएको छ,' कोकाकोलाको कर छली प्रकरणको अनुसन्धानमा संलग्न राजस्व अनुसन्धान विभाग स्रोतले भन्यो, 'विज्ञापन कारोबारको समेत सही लेखांकन नभएको पाइएको छ ।'

बोटलर्स नेपाल लिमिटेडको ७६ प्रतिशत सेयर अफ्रिकाको गुत्से परिवारले नेपाललाई थाहै नदिइ नेपालबाहिर नै कोकाकोला एटलान्टालाई बेचेर पुँजीगत लाभकर छलेको प्रकरणमा अनुसन्धान थालेको राजस्व अनुसन्धान विभागले कोकाकोलाको अन्य संग्दिग्ध कारोबार र भुक्तानीमाथि पनि छानबिन थालेको हो ।

विभाग स्रोतले विज्ञापन कारोबारको लेखांकन नभएको र यसमा छानबिन भइरहेको बताए पनि कम्पनी स्रोतले भने वार्षिक २० करोड रूपैयाँभन्दा अधिकको 'इनडोर' र 'आउटडोर' विज्ञापन बजेट हुने गरेको जानकारी दियो । 'विज्ञापन कारोबार समयअनुसार घटीबेसी हुने गरेको छ, कोकाकोलाका बिक्री घटेका बेला बढी स्किमहरू ल्याउनु पर्ने हुन्छ, त्यस्तो वर्ष यस्तो बजेट बढी हुने गरेको छ,' कम्पनी स्रोत भन्छ ।

केही वर्षअघिसम्म कोकाकोला इन्डिया र हिन्दुस्तान कोकाकोला बेभरेज प्रालि (एचसीसीबीपीएल) मार्फत नेपालको बजारीकरण, विज्ञापन र बिक्री व्यवस्थापनसमेत हेरिने गरिएकोमा विगत केही वर्षयता विज्ञापनका स्थानीयकरणका नाममा नेपाली एजेन्सीलाई दिन थालिएको छ । 'यद्यपि विज्ञापन व्यवस्थापन र भुक्तानीका काम उतै (भारत)मै हुन्छ,' स्रोत भन्छ, 'भुक्तानी कारोबार भारतमा हुँदा नेपालमा तिर्नुपर्ने मूल्य अभिवृद्धि कर (भ्याट) लगायतका अन्य कर छलिएको देखिन्छ ।'

नवीकरण नभएको कम्पनीकाे व्यवस्थापन खर्च

यसैबीच, नेपालमा उत्पादन नहुने कोकाकोलाका उत्पादन भारत, भुटान, सिंगापुरलगायतका देशबाट आयात गरि यहाँ बिक्री गर्नका लागि स्थापना गरिएको बोटलर्स नेपालको सहायक कम्पनी ट्रोयका ट्रेडर्स प्रालिको व्यवस्थापन नामसारी प्रकरणमा नवीकरण रोकिए पनि गत आर्थिक वर्षमा त्यसमार्फत ५१ लाख ४७ हजार रूपैयाँ बराबरको कारोबार भएको देखाइ साढे ५ लाख व्यवस्थापन खर्च काटिएको पाइएको छ ।

२०७५ सालमा सत प्रतिशत बोटलर्स नेपालको नाममा रहेको ट्रोयका नेपाल प्रालिको सेयर भारतीय नागरिकहरू सुमित गोयल र रजनीस शर्माका नाममा नामसारी गर्ने प्रक्रिया अगाडि सारेपछि वाणिज्य विभागले रोकेको थियो । गोयल र शर्मा दुवै बोटलर्स नेपालमा कार्यरत रहेकोमा हाल पुँजीगत लाभकर छली प्रकरणमा अनुसन्धान थालिएपछि कोकाकोलाले दुवैको नेपालबाट सरुवा गरेको छ ।

व्यापारिक कारोबार गर्नका लागि कम्पनी दर्ता नवीकरण नै नगरिए पनि गत वर्ष साढे ५१ लाखको कारोबार भएको देखाइ व्यवस्थापन खर्चका रूपमा साढे ५ लाख रूपैयाँ लिइएको हो । अवैधानिक रूपमा सेयर स्वामित्व नै आफ्नो नाममा हस्तान्तरण गर्ने प्रक्रिया अघि बढाएका भारतीय नागरिकद्वयले ट्रोयकाको व्यवस्थापन जिम्मा लिएको भन्दै भुक्तानी लिएको रकमसमेत अनुसन्धानको प्रक्रियामा देखिएको हो ।

यो  पनि पढ्नु होस् 

कोकाकोलाको स्थानीय कारोबारमाथि थप अनुसन्धान थालियो

कोकद्वारा १ अर्बमा स्वामित्व किनबेच भएको बयान, अमेरिकी दूतावासको चासो
राष्ट्र बैंकद्वारा कोकाकोलाको लाभांश फिर्ता लैजान रोक
नेपाली कर्मचारीलाई 'गोटी' बनाउँदै कोकाकोलाका व्यवस्थापक
कोकाकोलाको सहायक कम्पनीको सेयर स्वामित्वमा समेत चलखेल

कोकाकोलामा राजस्वको छापा, पुँजीगत लाभकर हिनामिनामा अनुसन्धान

 

 

सम्बन्धित खबरहरु