Nepalese Flag २०७८ वैशाख २९ गते बुधबार   |   May 12, 2021

कोकाकोलाको सहायक कम्पनीको सेयर स्वामित्वमा समेत चलखेल

न्युज कारोबार काठमाडाैँ मंसिर २८, २०७७       

कोकाकोलाको सहायक कम्पनीको सेयर स्वामित्वमा समेत चलखेल

बहुराष्ट्रिय कम्पनी कोकाकोलाको नेपालका लागि बोटलिङ कम्पनी, बोटलर्स नेपाल लिमिटेडको नेपाल स्वामित्व किनबेचसँगै यसका सहायक कम्पनीमध्ये ट्रोयका ट्रेडर्स प्रालिको सेयर स्वामित्वमा समेत चलखेल भएको पाइएको छ ।

नेपालमा दर्ता भएका उद्योगले व्यापारिक कारोबार गर्न नपाउने कानुनी प्रावधानअनुसार क्यानमा भएका कोकाकोला उत्पादन, माजा, मिनटसहितका अन्य इनर्जी ड्रिंकहरूको कारोबार गर्न आव २०४९/५० मा बोटलर्स नेपाल लि.को सहायक कम्पनीको रूपमा ट्रोयका ट्रेडर्स प्रालि दर्ता गरिएको थियो । यो कम्पनीले भारत, भुटान, सिंगापुरलगायतका देशबाट नेपालमा उत्पादन नहुने कोकाकोला समूहका उत्पादनहरू आयात गरेर नेपालमा बोटलर्स नेपाल र त्यसको सह-प्रतिष्ठान बोटलर्स तराई लिमिटेडको संरचनाअन्तर्गत बिक्री-वितरण गर्दै आएको थियो ।

सन् २०१४ मा कोकाकोलाको मूल स्वामित्व धारक कोकाकोला साप्को इस्ट अफ्रिकाले बोटलिङ इन्भेस्टमेन्ट ग्रुप एटलान्टा (अमेरिका)लाई बिक्री गरेपछि नेपालको व्यवस्थापनमा हेरफेर भएसँगै सहायक कम्पनीको स्वामित्वमा पनि हेरफेर गरिएको हो । २०७५ साल (सन् २०१८ )मा सत प्रतिशत बोटलर्स नेपालको नाममा रहेको ट्रोयका नेपाल प्रालिको सेयर भारतीय नागरिकहरू सुमित गोयल र रजनीस शर्माका नाममा नामसारी गर्ने प्रक्रिया अगाडि सारेपछि वाणिज्य विभागले रोकेको थियो । 'एउटा पब्लिक लिमिटेड कम्पनी, जसमा सर्वसाधारणको सेयर पनि छ, त्यस्तो कम्पनीको सेयर सतप्रतिशत विदेशी नागरिकका नाममा नामसारी गर्ने निर्णय गरेर पत्र आएपछि विभागले तत्कालै त्यो निर्णय कार्यान्वयन नगर्ने निर्देशन दिएको हो,' वाणिज्य विभागका एक वरिष्ठ अधिकारीले भने ।

अहिले बोटलर्सका सेयर किनबेच प्रकरणमा राजस्व अनुसन्धान विभागले उच्चस्तरको छानबिन गरिरहेकाले विस्तृत विवरण दिन र नाम खुलाउन भने ती अधिकारी मानेनन् । झन्डै १६ देखि १७ अर्ब रूपैयाँबराबरको मूल्यांकनमा दुबईस्थित कोकाकोला साप्कोले बोटलर्स नेपालको बोटलिङ इन्भेस्टमेन्ट ग्रुप एटलान्टालाई सेयर बिक्री गर्दा नेपालले पाउनु पर्ने डेढ अर्ब रूपैयाँभन्दा बढीको पुँजीगत लाभकर छलिएको अभियोगमा अहिले अनुसन्धान थालिएको हो ।

यसअघि सन् २००४ मा पनि अमेरिकी कोकाकोला कम्पनीले नेपालसहित भियतनाम, कम्बोडिया, श्रीलंकाको सेयर स्वामित्व कुल २ करोड ९० लाख अमेरिकी डलरमा बिक्री गरेको थियो । त्यसबेला पनि कोकाकोला साब्कोको नेपाल हेर्ने व्यवस्थापकले नेपाललाई तिर्नुपर्ने लाभकर तिरेका थिएनन भने पछि चुडामणि शर्माको संयोजकत्वमा बनाइएको उच्चस्तरीय कर फर्छ्योट आयोगबाट माफी मिन्हा गराउन सफल भएका थिए ।

बोटलर्स नेपालको सहायक कम्पनी ट्रोयका नेपालको स्वामित्वधारी भएर मूल बिक्री कारोबारमा हस्तक्षेप गर्ने कोकाकोलाका तत्कालीन वित्त निर्देशक (फाइन्सियल डाइरेक्टर) सुमित गोयल र रजनीश शर्माका नाममा सेयर हस्तान्तरण हुन नसकेपछि ०७५ सालमै अशोक मण्डल र प्रतिमा बर्माका नाममा १००/१०० कित्ता सेयर भएको देखाइ उनीहरूलाई कम्पनीको सञ्चालक बनाइएको कम्पनी रजिष्ट्रार कार्यालयको रेकर्डबाट देखिएको छ । नेपाली नागरिकहरू अशोक मण्डल र प्रतिमा बर्मा दुवै बोटलर्स नेपालका सामान्य कर्मचारी हुन् ।

सेयर स्वामित्व हस्तान्तरणमा विवाद उठेपछि र वाणिज्य विभागले शंकास्पद सेयर हस्तान्तरण देखिइ कारोबार अनुमतिका लागि स्वीकृति नदिएपछि विगत दुई वर्षदेखि बोटलर्स नेपालको सहायक कम्पनी ट्रोयकाको नवीकरण रोकिएको छ भने यसले गर्ने आयात र स्थानीय थोक बिक्रीको कारोबार पनि ठप्प भएको छ ।

सहायक कम्पनी ट्रोयका ट्रेडर्समार्फत कोकाकोलाका क्यानमा हुने उत्पादन, इनर्जी ड्रिंक र अन्य उत्पादन अहिले तेस्रो पक्षमार्फत आयात गरेर कारोबार भइरहेको कम्पनी स्रोतले जानकारी दियो । बोटलर्स नेपालको वार्षिक प्रतिवेदनअनुसार ट्रोयका ट्रेडर्समार्फत वार्षिक औसत ३५ करोड रूपैयाँबराबरको कारोबार हुँदै आएको थियो ।

यो पनि पढ्नु होस्

कोकाकोलामा राजस्वको छापा, पुँजीगत लाभकर हिनामिनामा अनुसन्धान

सम्बन्धित खबरहरु