Nepalese Flag २०७८ वैशाख २९ गते बुधबार   |   May 12, 2021

नेपाली कर्मचारीलाई 'गोटी' बनाउँदै कोकाकोलाका व्यवस्थापक

न्युज कारोबार काठमाडौं मंसिर ३०, २०७७       

नेपाली कर्मचारीलाई 'गोटी' बनाउँदै कोकाकोलाका व्यवस्थापक
कोकाकोलाको नेपालका लागि बोटलिङ तथा व्यापारिक कम्पनी, बोटलर्स नेपाल लिमिटेडका व्यवस्थापकले कम्पनीको सेयर तथा कारोबारसम्बन्धि सरकारी छानबिनमा नेपाली कर्मचारीलाई 'गोटी (मोहरा)' बनाएर आफू पछाडि उभिने रणनीति अख्तियार गरेका छन् । केही वर्षअघि नेपालमा मूल्य अभिवृद्धि कर (भ्याट) छलीमा केही कम्पनीले अपनाएको 'भरियालाई मालिक देखाउने' शैली बोटलर्स नेपालका व्यवस्थापकहरूले अवलम्बन गरेका हुन् । ती कम्पनी सञ्चालकहरूले भरियालगायत सामान्य मानिसका नाममा कम्पनी दर्ता गरेर करोडौँ रूपैयाँबराबरको भ्याट अपचलन गरेको अनुसन्धानबाट खुलेको थियो । बोटलर्स नेपालको ७६ प्रतिशत सेयर दुबईस्थित कोकाकोला साब्को प्रालिले बोटलिङ इन्भेस्टमेन्ट ग्रुप एटलान्टा (अमेरिका)लाई बिक्री गर्दा नेपाललाई तिर्नुपर्ने अर्बौँ रुपैयाँको पुँजीगत लाभकर नतिरेको विषयमा अहिले राजस्व अनुसन्धान विभागले छानबिन गरिरहेको छ । यो प्रकरणमा पनि कोकाकोला कम्पनीका आधिकारिक प्रतिनिधि र उनीहरूका तर्फबाट नियुक्त भारतीय व्यवस्थापक, प्रबन्धनिर्देशक पुनीत बार्सेनीसहितका अधिकारीहरू आफू कानुनी वा अधिकारप्राप्त सरकारी निकायमा सामुन्ने देखा नपरी नेपाली कर्मचारीलाई ढालका रूपमा अगाडि सारिरहेका छन् । सन् २००४ र २०१४ मा गरी दुई पटकसम्म बोटलर्स नेपाल लिमिटेडको मुख्य सेयर नेपालबाहिर नै किनबेच गरिएको छ । पछिल्लो पटक करिब १६ देखि १७ अर्ब रूपैयाँबराबरमा नेपालको स्वामित्व किनबेच गरिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । गत मंगलबार (मंसिर २३)गते अपराह्न विभागले बोटलर्स नेपाल लिमिटेडको बालाजुस्थित कार्यालयमा छापामा मारेर महत्वपूर्ण दस्तावेजहरू, कम्प्युटर, ल्यापटपसहितका उपकरण कब्जामा लिएको थियो । विभागले दस्तावेज र विद्युतीय उपकरणहरू कब्जामा लिएपछि अनुसन्धान र बयानका लागि बोलाउँदा बोटलर्स नेपालको उच्च व्यवस्थापनमा रहेका भारतीय व्यवस्थापकहरू नगइ नेपाली कर्मचारीहरू अशोक मण्डल र प्रतिमा बर्मालाई पठाउने गरेका छन् । स्मरणीय छ, दुवै कर्मचारीका नाममा बोटलर्स नेपाल लिमिटेडको सहायक कम्पनी ट्रोयका ट्रेडर्सको स्वामित्व चलखेल गरेर नामसारी गरिएपछि वाणिज्य विभागले त्यसका व्यापारिक कारोबार अनुमति नै स्थगनमा राखेको छ । बर्मा अहिले बोटलर्स नेपालको कम्पनी सचिव छिन् । कानुनी सल्लाहकारका रूपमा रहेकी बर्माका नाममा बोटलर्सले कसरी स्वामित्व सेयर हस्तान्तरण गर्‍यो भन्ने विषयमा समेत वाणिज्य विभागले प्रश्न उठाएको छ । बोटलर्स नेपाल पब्लिक लिमिटेड कम्पनी भएकाले यसका सहायक कम्पनीको सेयर हकभोक हस्तान्तरण पनि साधारण सभाबाट पारित हुनुपर्ने हुन्छ, तर यो प्रक्रिया नै पूरा नगरी अर्थात सर्वसाधारण सेयरधनीलाई थाहै नदिइ मण्डल र बर्माको नाममा पास गरिएको कम्पनी रजिष्ट्रारको रेकर्डबाट देखिएको छ । राजस्व अनुसन्धान विभागले गत शुक्रबार (मंसिर २६) गतेबाट बयान लिन थालेकोमा बोटलर्सका उच्च व्यवस्थापकले मण्डल र बर्मालाई नै विभागमा पठाएका थिए भने विभागले बयान लिने क्रम जारी रहेको बताएको छ । मंगलबार पनि कोकका दुवै कर्मचारीसँग विभागले बयान लिइरहेको छ । यो पनि पढ्नु होस्ः कोकाकोलामा राजस्वको छापा, पुँजीगत लाभकर हिनामिनामा अनुसन्धान कोकाकोलाको सहायक कम्पनीको सेयर स्वामित्वमा समेत चलखेल

सम्बन्धित खबरहरु