गृहपृष्ठ विकास ऋणपत्रमार्फत थप १० अर्ब आन्तरिक ऋण लिँदै सरकार
विकास ऋणपत्रमार्फत थप १० अर्ब आन्तरिक ऋण लिँदै सरकार
सरकारले विकास ऋणपत्रको बोलकबोलमार्फत थप १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले बुधबार सो रकम बराबरको आन्तरिक ऋण उठाउन विकास ऋणपत्र २०८७ नामको ऋणपत्र जारी गरेको छ । सरकारले ६ वर्ष अवधिका लागि उक्त ऋण लिन लागेको हो ।
विकास ऋणपत्र २०८७ को कात्तिक २८ गते बुधबार बिहान १० बजेदेखि अपरान्ह २ बजेसम्म बोलकबोल हुनेछ भने कात्तिक २९ गते बिहीबार निष्कासन हुने जनाइएको छ ।
प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालालाई क्रमशः निष्कासित रकमको ८५ र १५ प्रतिशत अर्थात् ८ अर्ब ५० करोड र १ अर्ब ५० करोड छुट्याइएको छ। अप्रतिस्पर्धी बोलवालालाई छुट्याइएको रकमका लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालालाई बिक्री गरिने कार्यालयले जनाएको छ ।
ऋण बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बिमा कम्पनी, अन्य संगठीत संस्था र नेपाली नागरिकले दिन पाउनेछन् । सरकारले लिने यो ऋणको ब्याजदर बोलकबोलका माध्यमबाट निर्धारण हुनेछ । ऋणपत्रको ब्याज भुक्तानी ६–६ महिनामा हुनेछ । सो ऋणपत्रको २०८७ कात्तिक २९ गते सावाँ भुक्तानी हुनेछ । आर्जित ब्याजमा ब्याजकर लाग्नेछ ।
इच्छुक संस्था तथा नेपाली नागरिकले घटीमा ५ लाख र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाइ ५ लाखले निःशेष भाग जाने रकम बराबरको ऋणपत्र किन्न पाउनेछन् । सरकारलाई दिएको यो ऋणको प्रमाणपत्र अर्थात् ऋणपत्र धितोमा राखी कर्जा लिन दिन पाइनेछ भने धितोपत्रको दोस्रो बजारमा पनि खरिदबिक्री हुनेछ ।
चालु आर्थिक वर्षको हालसम्म सरकारले १ खर्ब ३४ रुपैयाँ बराबरको आन्तरिक ऋण लिइसकेको छ । जसमध्ये ८९ अर्बको विकास ऋणपत्र हो भने ४५ अर्बको ट्रेजरी बिल्स हुन् । बुधबार जारी हुनेसमेत गरेर सरकारले लिएको आन्तरिक ऋणको आकार १ खर्ब ४४ अर्ब पुग्नेछ ।
प्रकाशित समय : २२:०० बजे