गृहपृष्ठ तीन महिनामा बैंकहरुले कर्मचारी तलबमा खर्चिए साढे १४ अर्ब
तीन महिनामा बैंकहरुले कर्मचारी तलबमा खर्चिए साढे १४ अर्ब
पछिल्लो तीन महिनाको अवधिमा वाणिज्य बैंकहरुले आफ्ना कर्मचारीहरुको तलबमा साढे १४ अर्ब रुपैयाँ खर्चिएका छन् ।
३ महिना (साउन–असोज)मा कर्मचारीको तलव सुविधामा मात्र झण्डै साढे १४ अर्ब रुपैयाँ खर्चिएका हुन् । तलबमा सबैभन्दा बढी खर्च गर्ने बैंक नबिल बैंक रहेको छ । यस बैंकले १ अर्ब ११ करोडभन्दा धेरै तलब बाँडेको छ ।
त्यसपछि सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ८ करोड र एनआईसी एसियाले ९७ करोडभन्दा धेरै रकम कर्मचारीमा खर्चिएका छन् ।
लक्ष्मी सनराइज, कुमारी, ग्लोबल आईएमई र प्रभूले पनि लगभग उस्तै–उस्तै रकम (९३–९५ करोड) खर्चेका छन् । सरकारी स्वामित्वकै कृषि विकास र नेपाल बैंक तेस्रो श्रेणिमा पर्छन्, उनीहरुले तीन महिनामा ८७ करोड हाराहारी कर्मचारीमा खर्च गरेका छन् । ठूलै बैंक भएर पनि नेपाल इन्भेष्टमेन्ट मेगा र हिमायलन बैंकको कर्मचारी खर्च ७५–७६ करोड हाराहारी छ ।
त्यसैगरी सिद्धार्थ, माछापुच्छ्रे र एनएमबीले पनि ५० करोडभन्दा बढी नै खर्च गर्ने गरेका छन् । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा स्याण्डर चार्टर्डले आफ्नो कुल कर्मचारी खर्चको ४८.२५ प्रतिशत बोनस दिने सामथ्र्य बनाएको छ । त्यस्तै, प्राइम कमर्शियल बैंकले ४४.४८ प्रतिशत र नेपाल एसबीआईले ३७.४३ प्रतिशत बोनस क्षमता बनाएका छन् ।
एभरेष्टले ३६.१८ र एनएमबीले ३२.६३ प्रतिशत बोनस दिने क्षमता तयार पारेका छन् । प्राइमलाई छाड्ने हो भने यी सबै विदेशी साझेदारीमा सञ्चालित बैंक हुन् ।
बोनसको सामथ्र्यका हिसाबले एनआईसी एसिया सबैभन्दा निम्छरो देखिएको छ । सरकारी स्वामित्वका राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकको विश्लेषण गर्ने हो भने उनीहरुको स्थिति पनि निकै कमजोर छ भने सिटिजन्स, नेपाल बैंक, सिद्धार्थ र लक्ष्मी सनराइज बैंकले पनि १० प्रतिशत बोनस दिने हैसियतमा पुग्न सकेका छैनन् ।
रकमका आधारमा सर्वाधिक बोनस (३१ करोड ५१ लाख) बाँड्ने क्षमता बनाएको नबिल पनि कर्मचारी खर्चको केवल २८ प्रतिशतमात्रै बोनस दिने अवस्थामा छ । ग्लोबल आईएमई र नेपाल इन्भेष्टमेन्ट मेगाले पनि ठूलो अंकमा बोनस बाँड्ने तयारीमा रहेका छन् ।
प्रकाशित समय : २१:५९ बजे