माछापुच्छ्रे बैंक र बेलायतको रिज रेमिटबीच विप्रेषण सेवा सञ्चालन सम्झौता
वि.सं.२०८३ मंसिर ८ मंगलवार १६:३६
shares

माछापुच्छ्रे बैंक लिमिटेड र बेलायतस्थित विप्रेषण सेवा प्रदायक कम्पनी रिज रेमिट लिमिटेडबीच विप्रेषण सेवा सञ्चालनसम्बन्धी सम्झौता भएको छ । सम्झौतासँगै दुवै संस्थाबीच विप्रेषण कारोबार औपचारिक रूपमा सुरु भएको छ ।
सम्झौतापछि युरोपमा रहेका नेपाली तथा अन्य सेवाग्राहीले रिज रेमिटको मोबाइल एप प्रयोग गरी सहजै नेपालमा रकम पठाउन सक्नेछन् । विदेशबाट पठाइएको रकम माछापुच्छ्रे बैंकको आफ्नै विप्रेषण सेवा ‘एमबी रेमिट’मार्फत नगद भुक्तानी लिनुका साथै माछापुच्छ्रे बैंक तथा नेपालका अन्य बैंक तथा वित्तीय संस्थाका खातामा सिधै जम्मा गर्न सकिनेछ ।
त्यसैगरी, देशभर रहेका ३० हजारभन्दा बढी भुक्तानी केन्द्रमार्फत सेवाग्राहीले नगद भुक्तानीसमेत प्राप्त गर्न सक्नेछन् । यस सहकार्यले विदेशबाट नेपालमा रकम पठाउने प्रक्रियालाई थप सहज, सरल, सुरक्षित र भरपर्दो बनाउने बैंकको अपेक्षा छ ।
नेपाली घरपरिवारको आर्थिक अवस्था सुधारमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको विप्रेषण सेवालाई डिजिटल प्रविधिमार्फत थप विस्तार गर्ने उद्देश्यले यो सहकार्य गरिएको बैंकले जनाएको छ । बैंकले विप्रेषण कारोबारमा पारदर्शिता, सुरक्षित भुक्तानी तथा प्रचलित कानुनी र नियामकीय व्यवस्थाको पूर्ण पालना गर्दै सेवा प्रवाहलाई प्राथमिकता दिँदै आएको छ ।
माछापुच्छ्रे बैंकले देशभरका १५६ शाखा, ८८ शाखारहित बैंकिङ सेवा र ११ एक्सटेन्सन काउन्टर गरी २५५ सेवा केन्द्र तथा १९४ एटीएममार्फत १८ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

























