साउदी अरबद्वारा नेपाल रेडक्रसलाई आठ हजार थान कम्बल हस्तान्तरण
वि.सं.२०८३ मंसिर ८ मंगलवार १६:३५
shares

काठमाडौं । साउदी अरबको ‘किङ सलमान ह्युमनिटेरियन एड एण्ड रिलिफ सेन्टर’ ले सहयोग स्वरूप नेपाल रेडक्रस सोसाइटीलाई न्यानो कम्बल तथा म्याट्रेस हस्तान्तरण गरेको छ ।
सोसाइटीको केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा नेपालका लागि साउदी अरबका राजदूत फहद बिन मोहम्मद बिन मुनिरले सोसाइटीका अध्यक्ष डा विशालकुमार भण्डारीलाई ती राहत सामग्री हस्तान्तरण गरेका हुन ।
बाढी प्रभावित तथा जोखिममा रहेका समुदायलाई लक्षित गरी संस्थाले आठ हजार थान न्यानो कम्बल र छ हजार थान म्याट्रेस उपलब्ध गराएको हो । उक्त सहायताबाट रसुवा, नुवाकोट, धादिङ र गोरखा जिल्लाका बाढी प्रभावित तथा उच्च जोखिममा रहेका दुई हजार घर परिवार लाभान्वित हुने अपेक्षा गरिएको छ ।
त्यस अवसरमा सोसाइटीका अध्यक्ष डा भण्डारीले जतिसक्दो चाँडो प्रभावित समुदायमा प्राप्त सहयोग सामग्री वितरण गरिने बताए । सोसाइटीले बाढी प्रभावित समुदायका लागि नेपाल सरकार, आइएफआरसी, आईसीआरसी र साझेदार राष्ट्रिय सोसाइटीलगायत सरोकारवालाको सहयोगमा प्रतिकार्यका गतिविधि सञ्चालन गरिरहेको उनले जानकारी दिए ।
राजदूत बिन मुनिरले साउदी अरबले मानवीय सहायता प्रदान गर्ने साझा उद्देश्यका साथ काम गरिरहेको र रेडक्रस जस्तो मानवीय संस्थामार्फत राहत सामग्री प्रभावित समुदायसम्म पुर्याउन पाएको भनी खुसी व्यक्त गरे ।
रेडक्रिसेन्ट सोसाइटीको अन्तरराष्ट्रिय महासङ्घ नेपालका प्रमुख डेभिड फिसरले विपद् पश्चात प्रभावित समुदायको आवश्यकता र प्राथमिकतालाई ध्यानमा राखी निरन्तर मानवीय सहायता प्रदान भनी सबैमा धन्यवाद ज्ञापन गरे ।

























