काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

५० लाख पर्यटक भित्र्याउन पोखरा र गौतमबुद्ध विमानस्थलको उपयोगमा जोड

441
shares

ai logo सारांश

  • रेमिट्यान्समा आधारित नेपालको अर्थतन्त्रलाई उत्पादन र रोजगारी सिर्जनातर्फ रूपान्तरण गर्न पर्यटन क्षेत्रलाई प्रमुख आर्थिक आधार बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
  • पर्यटन क्षेत्रको रोजगारी सिर्जनाको अनुपात १ः१.१ छ ।

काठमाडौं । रेमिट्यान्समा आधारित नेपालको अर्थतन्त्रलाई उत्पादन र रोजगारी सिर्जनातर्फ रूपान्तरण गर्न पर्यटन क्षेत्रलाई प्रमुख आर्थिक आधार बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । त्यसका लागि पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी उपयोग गर्दै क्षेत्रीय हवाई सम्पर्क विस्तार गर्नुपर्ने उनीहरूको भनाइ छ ।

इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज (आईआईडीएस) ले मंगलबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा पर्यटनविद् ज्ञानेश्वर महतो, बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेत, नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता विक्रमराज गौतम लगायतले पर्यटन विकास, हवाई सम्पर्क विस्तार तथा विमानस्थल सञ्चालनका चुनौतीबारे धारणा राखेका हुन् ।

पर्यटनविद् महतोले नेपालको अर्थतन्त्रलाई दीर्घकालीन रूपमा सबल बनाउन रेमिट्यान्सको विकल्पका रूपमा पर्यटनलाई विकास गर्नुपर्ने बताए । न्यून सीप र उत्पादकत्व भएका श्रमिक विदेश पठाएर प्राप्त हुने आम्दानीमा अर्थतन्त्र कहिलेसम्म निर्भर रहने भन्ने प्रश्न महत्वपूर्ण रहेको उनको भनाइ थियो ।

महतोले पर्यटन क्षेत्रले प्रत्यक्ष, अप्रत्यक्ष र प्रेरित गरी कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा ६.४ प्रतिशत योगदान पु¥याएको अन्तर्राष्ट्रिय अध्ययनको तथ्यांक प्रस्तुत गरे । तर, सरकारी तथ्यांकमा पर्यटनको योगदान १.४ प्रतिशत मात्रै देखाइएको उनले बताए । पर्यटनको योगदान मापन गर्दा प्रत्यक्ष आम्दानीसँगै यसले सिर्जना गर्ने अन्य आर्थिक गतिविधिलाई पनि समेट्नुपर्ने उनको भनाइ छ ।

उनका अनुसार पर्यटन क्षेत्रको रोजगारी सिर्जनाको अनुपात १ः१.१ छ । अर्थात् पर्यटनमा सिर्जना हुने प्रत्येक एक प्रत्यक्ष रोजगारीले थप अप्रत्यक्ष तथा प्रेरित रोजगारी सिर्जनामा समेत योगदान पु-याउँछ । नेपालमा वार्षिक १० लाखभन्दा बढी पर्यटक आउने अवस्थामा रणनीतिक योजना बनाएर आगामी वर्षमा ५० लाख पर्यटक भित्र्याउने लक्ष्य लिनुपर्ने उनले बताए ।

५० लाख पर्यटक भित्र्याउन संख्या बढाउने मात्रै नभई पर्यटकको प्रतिव्यक्ति खर्च र बसाइ अवधि पनि बढाउनुपर्ने महतोको सुझाव छ । यसका लागि पोखरालाई भारतीय, चिनियाँ, दक्षिण एसियाली तथा मध्यपूर्वी बजारसँग जोड्दै क्षेत्रीय गन्तव्यका रूपमा विकास गर्नुपर्ने उनले बताए । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई लामो दूरीका अन्तर्राष्ट्रिय उडान र पोखरा विमानस्थललाई क्षेत्रीय उडानको केन्द्रका रूपमा उपयोग गर्न सकिने उनको भनाइ छ ।

पर्यटन विकासलाई होटल र हवाई सेवामा मात्रै सीमित नराखी कृषि तथा उत्पादनमूलक क्षेत्रसँग जोड्नुपर्ने पनि उनले बताए । पर्यटकको संख्या बढेसँगै होटलको क्षमता, शय्या, उच्च मूल्यका कृषि उपज, मासु, दुग्धजन्य पदार्थ र फलफूलको उत्पादनसमेत विस्तार गर्नुपर्ने उनको सुझाव छ ।

बुद्ध एयरका कार्यकारी अध्यक्ष बस्नेतले पर्यटन नेपालको अर्थतन्त्रमा छिटो रोजगारी सिर्जना गर्न सक्ने क्षेत्र भएको बताए । वैदेशिक रोजगारीबाट प्राप्त हुने रेमिट्यान्स र बैंकिङ प्रणालीमा रहेको लगानीयोग्य रकमलाई उत्पादन, पर्यटन र हवाई सेवामा परिचालन गर्नुपर्ने उनको भनाइ थियो । कक्षा १२ उत्तीर्ण गरेर रोजगारी खोज्ने साढे तीन लाख हाराहारी युवालाई स्वदेशमै अवसर दिन नसक्नु अर्थतन्त्रको प्रमुख चुनौती रहेको उनले बताए ।

बस्नेतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई व्यावसायिक रूपमा सफल बनाउन पाँचवटा पूर्वसर्त आवश्यक रहेको बताए । उनका अनुसार काठमाडौंको तुलनामा उडान लागत र हवाई भाडा प्रतिस्पर्धी हुनुपर्ने, नियमित उडानका लागि पर्याप्त यात्रु सुनिश्चित हुनुपर्ने, पोखराबाट आफ्नै अन्तर्राष्ट्रिय वायुसेवा सञ्चालन हुनुपर्ने, एयरलाइन्सलाई पर्यटन तथा सेवा क्षेत्रसँग जोड्नुपर्ने र व्यवसायी, विमानस्थल तथा स्थानीय सरकारबीच जोखिम बाँडफाँट हुनुपर्नेछ ।

पोखराबाट दैनिक कम्तीमा ३० टेकअफ र ३० ल्यान्डिङ सञ्चालन गर्न सके मात्रै व्यावसायिक आधार तयार हुने उनको भनाइ छ । करिब १५ लाख यात्रुको आवागमन भएपछि सञ्चालनको अर्थतन्त्र प्राप्त गर्न सकिने उनले बताए । विमानस्थलमा कम भिजिबिलिटीको समस्या समाधान गर्न आरएनपी–एआर प्रविधिको सम्भाव्यताबारे अध्ययन भइरहेको र बुद्ध एयरले विभिन्न विमानको प्राविधिक तथा व्यावसायिक सम्भाव्यता पुनर्मूल्यांकन गरिरहेको उनले जानकारी दिए ।

पर्यटन व्यवसायी श्रेष्ठले भने पूर्वाधारसँगै नेपालको अन्तर्राष्ट्रिय छवि र गन्तव्यको प्रतिष्ठा पनि पर्यटन विकासको महत्वपूर्ण चुनौती रहेको बताए । नेपाललाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा विपद्, बाढीपहिरो र दुर्घटनाका समाचारमार्फत बढी चिनाउने गरिएको उनको भनाइ थियो ।

नेपाल–भुटान–तिब्बत क्षेत्रमा विशेषज्ञता हासिल गरी पर्यटकलाई सेवा दिँदै आएका श्रेष्ठले अन्तर्राष्ट्रिय पर्यटकले नेपाललाई कसरी बुझ्छन् भन्ने विषयमा ध्यान दिनुपर्ने बताए । ’हामीकहाँ सकारात्मक ब्रान्डिङ र राम्रा समाचारभन्दा विपद् र प्रतिकूल परिस्थितिका समाचार बढी आउँछन्,’ उनले भने, ’यसले नेपालको गन्तव्य छविमा असर पारिरहेको छ ।’

श्रेष्ठले विदेशी पर्यटकमाथि लागू दोहोरो मूल्य प्रणालीको दीर्घकालीन प्रभावबारे पनि प्रश्न उठाए । नेपालका विभिन्न पर्यटकीय क्षेत्रमा नेपाली र विदेशी पर्यटकका लागि फरक शुल्क निर्धारण गरिँदा अन्तर्राष्ट्रिय पर्यटकलाई त्यसको औचित्य बुझाउन कठिन हुने उनको अनुभव छ । विदेशी पर्यटकबाट लिइने अतिरिक्त शुल्कले नेपालीका लागि पर्यटन सेवा सस्तो बनाउन सहयोग गरे पनि यसले नेपालको गन्तव्य छविमा पार्न सक्ने असरबारे समीक्षा गर्नुपर्ने उनले बताए । दोहोरो मूल्य प्रणाली दीर्घकालीन रूपमा उपयुक्त समाधान हो कि होइन भन्ने विषयमा स्पष्ट नीति आवश्यक रहेको उनको भनाइ थियो ।

प्राधिकरणका प्रवक्ता गौतमले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि आवश्यक प्राविधिक तथा पूर्वाधारगत तयारी अघि बढिरहेको बताए । आरएनपी–एआरसम्बन्धी प्रक्रिया एक महिनाभित्र टुंग्याउने गरी काम भइरहेको उनले जानकारी दिए ।

गौतमले पोखराको पर्यटनलाई बागलुङ, पर्वत, स्याङ्जा, तनहुँलगायत आसपासका जिल्लासम्म विस्तार गरी ’ग्रेटर पोखरा’ अवधारणामा अघि बढ्नुपर्ने बताए । यसबाट क्षेत्रीय पर्यटकीय गन्तव्य विस्तार हुनुका साथै हवाई सेवाका लागि आवश्यक यात्रु संख्या पनि बढाउन सकिने उनको भनाइ छ । आवश्यकताअनुसार पुरानो पोखरा विमानस्थललाई समेत उपयोग गर्ने अवधारणामा छलफल भइरहेको उनले जानकारी दिए ।