काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

भोजपुरका किसान कृत्रिम गर्भाधानतर्फ आकर्षित

378
shares

भोजपुर। भोजपुरमा उन्नत जातका पशु उत्पादन गरी दूध तथा मासु उत्पादन बढाउने उद्देश्यले कृत्रिम गर्भाधान सेवा लिने किसानको सङ्ख्या बढ्दै गएको छ । स्थानीय जातका गाईभैँसीको नस्ल सुधार गरी उत्पादन क्षमता बढाउन सकिने भएपछि किसान यस प्रविधितर्फ आकर्षित भएका हुन् ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्रका सूचना अधिकारी मनोज पोखरेलका अनुसार जिल्लामा गत आर्थिक वर्षमा १८० गाईभैँसीमा कृत्रिम गर्भाधान गरिएको थियो । चालु आर्थिक वर्षको हालसम्म थप १०० गाईभैँसीमा यो सेवा प्रदान गरिएको उनले जानकारी दिए । पछिल्लो समय किसानमा कृत्रिम गर्भाधानप्रति चासो बढ्नाका साथै सेवा लिने क्रम पनि बढेको उनको भनाइ छ ।

केन्द्रले किसानलाई सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले घर तथा गोठमै पुगेर कृत्रिम गर्भाधान सेवा प्रदान गर्दै आएको छ । पशुलाई सेवा केन्द्रसम्म ल्याउनुपर्ने झन्झट हटाउन प्राविधिक टोली किसानको मागअनुसार घरदैलोमै पुग्ने गरेको छ । घरमै पुगेर सेवा प्रदान गर्दा गाईका लागि एक हजार र भैँसीका लागि एक हजार ५०० शुल्क लिने गरिएको सूचना अधिकारी पोखरेलले बताए ।

कृत्रिम गर्भाधानका लागि भैँसीमा मुर्रा तथा गाईमा किसानको मागअनुसार होलिस्टेन र जर्सी जातको वीर्य प्रयोग गर्ने गरिएको केन्द्रले जनाएको छ । यस प्रविधिबाट स्थानीय जातका पशुको नस्ल सुधार गरी उन्नत जातका बाच्छाबाच्छी तथा पाडापाडी उत्पादन गर्न सकिन्छ । उन्नत जातका पशुको उत्पादन क्षमता बढी हुने भएकाले दूध उत्पादन बढाउन पनि सहयोग पुग्ने केन्द्रको भनाइ छ ।

भोजपुर नगरपालिका–८ पोखरेका स्थानीय किसान उपेन्द्र कार्कीले कृत्रिम गर्भाधान सेवा किसानका लागि सहज र लाभदायक बनेको बताए । उनले आफ्ना गाईमा दुई पटक कृत्रिम गर्भाधान विधि अपनाइसकेको जानकारी दिए । उन्नत जातको वीर्य प्रयोग गरी नस्ल सुधार गर्दा पशुको दूध उत्पादनमा पनि वृद्धि भएको उनको अनुभव छ ।

पहिले पशुको प्रजननका लागि उपयुक्त जातको गोरु तथा राँगो खोज्नुपर्ने अवस्था रहेकामा कृत्रिम गर्भाधान सेवाले त्यो झन्झट हटाएको किसान कार्कीले बताए । प्राविधिक टोली घरमै आएर सेवा दिने भएकाले पशुलाई अन्यत्र लैजानुपर्ने समस्या पनि नरहेको उनको भनाइ छ । उन्नत जातको वीर्य प्रयोग गर्दा दूध उत्पादन बढ्नाका साथै नस्ल सुधारमा सहयोग पुगेको उनले बताए ।

कृत्रिम गर्भाधानबाट उन्नत जातका पशु उत्पादन गर्न, पशुको उत्पादन क्षमता वृद्धि गर्न तथा दूध उत्पादन बढाउन सहयोग पुग्ने भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्रका प्रमुख पुष्पराज दाहालले बताए । प्राकृतिक गर्भाधानका लागि उन्नत जातका गोरु तथा राँगा पाल्नुपर्ने वा खोज्नुपर्ने बाध्यता हट्नुका साथै पशुको नस्ल सुधारमा पनि यो प्रविधिले सहयोग पुर्‍याउने उनको भनाइ छ ।

उहाँका अनुसार कृत्रिम गर्भाधान प्रविधिमार्फत किसानले आफ्नो आवश्यकता र पशुपालनको उद्देश्यअनुसार उपयुक्त जातको वीर्य प्रयोग गर्न सक्छन् । यसबाट स्थानीय जातका पशुको नस्ल सुधार गरी क्रमशः उत्पादनमुखी पशुपालनलाई प्रोत्साहन गर्न सकिन्छ । पशुको अवस्था हेरेर प्राविधिकले गर्भाधानका लागि उपयुक्त समय र आवश्यक स्वास्थ्यसम्बन्धी परामर्श दिने गरेका छन् ।

पशु लिएर सेवा केन्द्रसम्म पुग्नुपर्ने बाध्यता हटेपछि दुर्गम क्षेत्रका किसानलाई सेवा लिन सहज भएको छ । किसानको मागअनुसार प्राविधिक टोली घर तथा गोठमै पुग्ने भएकाले समय र खर्चको बचत हुनाका साथै पशुको प्रजनन व्यवस्थापनमा पनि सहयोग पुगेको छ ।

पशुपालनलाई आम्दानीको भरपर्दो माध्यम बनाउन कृत्रिम गर्भाधान उपयोगी प्रविधि बन्दै गएको केन्द्रको भनाइ छ । विशेषगरी दूध उत्पादनलाई प्राथमिकता दिएर गाईभैँसी पाल्दै आएका किसानले उन्नत जातका पशु उत्पादन गर्न यो प्रविधि प्रयोग गर्न सक्ने केन्द्रले जनाएको छ ।

कृत्रिम गर्भाधान सेवाको विस्तारसँगै जिल्लामा पशुपालन व्यवसायलाई व्यवस्थित र उत्पादनमुखी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । पशुको नस्ल सुधार र उत्पादन वृद्धि गर्न किसानलाई यस प्रविधिबारे थप जानकारी गराउँदै सेवा विस्तार भइरहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्रले जनाएको छ ।