काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सिद्धार्थनगरको फोहोर व्यवस्थापन पाँच वर्षका लागि निजी कम्पनीलाई

273
shares

रूपन्देही। सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका लागि निजी कम्पनीलाई दिएको छ ।

नगरपालिकाले रुपन्देहीको मायादेवी गाउँपालिका–७ स्थित वातावरणीय सुन्दर सरसफाइ तथा कृषि प्रवद्र्धन अफ नेपाल प्रालिसँग फोहोरमैला व्यवस्थापनका लागि सम्झौता गरेको हो । सोमबार भएको सम्झौताअनुसार कम्पनीले नगर क्षेत्रको फोहोर सङ्कलन, ढुवानी, वर्गीकरण, अन्तिम व्यवस्थापन तथा समग्र सरसफाइको जिम्मेवारी लिनेछ । सम्झौताको कुल रकम तीन करोड ६० लाख दुई हजार ९७१ रुपैयाँ सात पैसा रहेको छ ।

नगरपालिकाका अनुसार सम्झौता २०८३ मङ्सिर ७ देखि लागू भई २०८८ मङ्सिर ६ गतेसम्म कायम रहनेछ ।

संविधानसभा सदस्य तथा नगरप्रमुख इस्तायिक अहमद खानले वर्षौंदेखिको फोहोर व्यवस्थापनको समस्या समाधान गरी सिद्धार्थनगरलाई स्वच्छ, सफा, सुन्दर र व्यवस्थित सहर बनाउने लक्ष्यसहित निजी क्षेत्रसँग सहकार्य गरिएको बताए । उनले फोहोर व्यवस्थापन नगरवासीको प्रत्यक्ष सरोकार र नगरपालिकाको प्रमुख प्राथमिकताको विषय भएको उल्लेख गरे ।

नगर स्थापनाकालदेखि नै फोहोरमैला व्यवस्थापन सिद्धार्थनगरको प्रमुख चुनौतीका रूपमा रहँदै आएको थियो । बजार तथा बस्ती क्षेत्रमा नियमित फोहोर सङ्कलन र व्यवस्थापन हुन नसक्दा सडक किनारमा फोहोर थुप्रिने, दुर्गन्ध फैलिने र सहरी सौन्दर्यमा असर पर्ने समस्या देखिँदै आएको थियो । यसले नागरिकको स्वास्थ्य, वातावरणीय स्वच्छता तथा पर्यटकीय सहरका रूपमा भैरहवाको पहिचानमा पनि असर पारेको थियो ।

विशेषगरी फोहोर विसर्जनस्थलको अभाव र स्थानीयस्तरमा हुने अवरोधका कारण नगरपालिकालाई व्यवस्थापनमा कठिनाइ हुँदै आएको थियो । यसअघि नगरपालिकाले वडा नं १ को मेउडिहवास्थित डण्डा नदी किनारमा फोहोर विसर्जन गर्दै आएको थियो । स्थानीयवासीको अवरोधपछि सोही वडाको सिद्धार्थ राजमार्गछेउ डण्डा नदी किनारमा फोहोर विसर्जन गर्न थालिएको थियो । उक्त स्थानमा पनि फोहोर नफाल्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेपछि फोहोर व्यवस्थापन थप चुनौतीपूर्ण बनेको थियो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बीपिन क्षेत्रीले सिद्धार्थनगरलाई स्वच्छ, हराभरा, सुन्दर तथा पर्यटकीय नगरका रूपमा विकास गर्ने लक्ष्यअनुरूप फोहोरमैला व्यवस्थापनलाई प्राथमिकताका साथ अघि बढाइएको बताए । निजी क्षेत्रसँगको सहकार्यले फोहोर सङ्कलन, वर्गीकरण र अन्तिम व्यवस्थापनलाई व्यवस्थित बनाउन सहयोग पुग्ने उनको भनाइ छ ।

नगरपालिकाका प्रवक्ता मुक्तिनाथ यादवले फोहोरमैला व्यवस्थापनको दीर्घकालीन समाधानका लागि गरिएको पहलले सार्थकता पाएको बताए । सम्झौताअनुसार प्रभावकारी कार्यान्वयन हुन सके नगर क्षेत्रको सरसफाइमा सुधार आउनाका साथै नगरवासीले लामो समयदेखि भोग्दै आएको समस्या न्यूनीकरण हुने उनले विश्वास व्यक्त गरे ।

नगरपालिकाले सम्झौताको प्रभावकारी कार्यान्वयन, नियमित अनुगमन र नागरिकको सहभागितामा जोड दिएको छ । यसबाट सिद्धार्थनगरलाई स्वच्छ, व्यवस्थित र पर्यटकीय सहरका रूपमा विकास गर्ने लक्ष्य हासिल गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।