सङ्गीतकर्मीले सम्झिए गुरुदेव कामत
वि.सं.२०८१ साउन २६ शनिवार २०:०५
shares

दिवङ्गत भएका शास्त्रीय सङ्गीतका गायक तथा सङ्गीतकार गुरुदेव कामतलाई स्मरण गरिएको छ । आज जमलस्थित नाँचघरमा गुरुदेव कामत सङ्गीत फाउण्डेसन तथा गुरुकुल सङ्गीत पाठशालाले संयुक्त रूपमा आयोजना गरेको श्रद्धाञ्जली एवं समवेदना कार्यक्रममा उनको गीतसङ्गीतसँगै नेपाली शास्त्रीय गीतसङ्गीतमा गायक कामतले पुर्याएको योगदानको चर्चा गरियो ।
कलाकार मदनदास श्रेष्ठले गायक कामतसँग पहिलोपटक रेडियो नेपालमा भेटेको स्मरण गर्दै गीतसङ्गीत सदैव अमर रहने बताए । उनले भने, “उनी निकै सरल र मिलनसार स्वभावको थिए । आफ्ना पीडा लुकाएर पनि बाँच्ने मान्छे । उनका शिष्यले नै अब सङ्गीतमार्फत अमर बनाउनुपर्छ ।”
कलाकार श्रेष्ठले गायक कामतको गीतसङ्गीत र सिर्जना आउँदो पुस्ताका लागि मार्गदर्शन हुनेमा जोड दिए । उनले एउटा सर्जक उपचार अभावमा ज्यान गुमाउनुपर्ने अवस्था राज्यका लागि सुहाउँदो नभएकाले आउँदा दिनमा यस्तो हुन नदिन गीतसङ्गीतलाई हेर्न गठित संस्थाले सतर्कता अपनाउनुपर्ने बताए ।
गायक कामतसँग निकट गायक तथा कलाकार मुरलीधरले आफूले भाइ गुमाएको बताए । “मैले र गायक कामतले सँगै धेरै काम गरेका छौँ । नाटकदेखि गायनसम्म हामीले सहकार्य गर्यौँ”, उनले भने ।
गायक कामतको सम्झना दुई गीत गुनगुनाए । “उनले मलाई चलचित्रमा गीत गाउन दिएको थियो । तर, ती सब निर्माता र निर्देशकले तय गर्ने भएपछि मैले त्यो अवसर दिन सकिनँ । त्यो गुनासो सम्झिरहेको छु, अब उनको कामलाई सङ्ग्रहित गर्नुपर्ने दायित्व शिष्य र फाउण्डेसनमा आएको छ”, मुरलीधरले भने ।
सङ्गीतकार राजु सिंहले गायक कामत सङ्गीतको अनुसाशित साधक रहेको बताए । “गीतसङ्गीतमा साधना गर्ने एउटा अनुशासन हुन्छ । त्यो कायम गरेर साधना गर्थे । हामीले उनको सपनालाई पूरा गर्नु नै सच्चा श्रद्धाञ्जली हुनेछ । यसका लागि हामीले धेरै कार्य गर्नु छ”, उनले भने ।
सङ्गीतको बीमा हुनुपर्ने, गायक कामतको सालिक बन्नुपर्नेलगायत विषयमा चर्चा गरे । गायक कामतको शिष्य रहेकी गायिका शर्मिला बर्देवाले डायलाइसिसको समयमा अन्तिमपटक कुराकानी गरेको स्मरण गरे।
उनले भने, “उनसँग थोरै बोल्न पाएँ, त्यही अन्तिम संवाद भयो । मैले उनीसँग विसं २०२५ देखि २०४८ सम्म सङ्गीत सिकेकी थिएँ । त्यही क्रममा मलाई चलचित्रमा गाउने अवसर आएको थियो । शास्त्रीय सङ्गीतलाई नछाडी अन्यलाई अँगाल्नु भएको थियो । तर, विविध कारणले मैले शास्त्रीय सङ्गीतलाई निरन्तरता दिन सकिनँ, यसमा दुःख लागेको छ ।”
कार्यक्रममा फाउण्डेसनका संस्थापक अध्यक्ष प्रभातसगार सिंह प्रधानले एउटा सर्जक उपचार गर्न नसकेर काठमाडौं छाडेर गाउँ फर्कनु पीडादायक रहेको बताए । “बिरामीहरु काठमाडौं उपचार गराउन आएको सुनेको छु, तर गायक कामत गाउँ फर्के । यहाँ उपचारमा आर्थिक सङ्कट भएपछि गाउँमै केही होला भनेर फर्केको हो । हामीले पनि उपचारका लागि आर्थिक पहल गरिरहेका थियौँ, तर उनले छिट्टै छाडेर गए”, अध्यक्ष प्रधानले भने ।
त्यस अवसरमा साहित्यकार मुकुन्द पौडेलले गायक कामतको जीवनी सुनाएको थियो । यस्तै, शिष्य भीम मगरसहितको समूहले गायक कामतको स्वर र सङ्गीत रहेको ‘कुन पापीले कुन निष्ठुरीले’ गीतमार्फत श्रद्धाञ्जली दिएको थियो ।
यहीसाउन १७ गते दिवङ्गत भएका गायक कामतको १०औँ दिनमा श्रद्धाञ्जलीसभाको आयोजना गरिएको हो ।

























