काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

तीन वर्षमा साढे ३६ अर्ब राजस्व चुहावट

18.38K
shares

तीन वर्षको अवधिमा ३६ अर्ब ६१ करोड रुपैयाँ राजस्व चुहावट भएको छ । राजस्व अनुसन्धान विभागले बुधबार सार्वजनिक सूचना जारी गर्दै तीन वर्षमा राजस्व चुहावटतर्फ २२० मुद्दामा ७८० प्रतिवादी बनाई ३६ अर्ब ६१ करोडको छली गरेको आरोपमा अदालतमा मुद्दा चलाइएको जनाएको हो ।

अन्य १७ मुद्दामा सात अर्ब रुपैयाँको बिगो कायम गरी निर्णयका लागि सरकारी वकिलको कार्यालयमा पठाइएको जनाइएको छ । विभागले झन्डै तीन वर्षको कार्यप्रगति विवरण सार्वजनिक गर्दै आर्थिक अपराध नियन्त्रणमा महत्वपूर्ण उपलब्धि हासिल भएको जनाएको छ ।

महानिर्देशक दीर्घराज मैनालीको ३३ महिने कार्यकालको विवरण सार्वजनिक गर्दै विभागले सूचना प्रविधिको प्रयोगसँग जोडेर अनुसन्धान प्रणालीलाई व्यवस्थित गरिएकाले व्यावसायिक आचरण कायम गर्न विभाग सफल भएको जनाएको हो ।

यस्तै विदेशी विनिमय अपचलनतर्फ ४४० लाई प्रतिवादी बनाई १० अर्ब ७२ करोड रुपैयाँ बिगो कायम गर्दै मुद्दा दायर गरिएको मैनालीले जानकारी दिए । मूल्य अभिवृद्धि करका झुटा र नक्कली विजक जारी गरी ठूलो परिमाणमा राजस्व छली गर्नेविरुद्ध १६० मुद्दा दर्ता गरिएको छ । ती मुद्दामा १९ अर्ब रुपैयाँ बढी बिगो बराबरको छली गरेको आरोप लगाइएको छ ।

विभागले २०७६ साउनदेखि राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रणको कार्यलाई प्रभावकारी बनाउन, स्वस्थ, व्यावसायिक प्रतिस्पर्धा कायम गरी अनौपचारिक आर्थिक कारोबारलाई औपचारिकतर्फ लैजान भेइकल कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम (भीसीटीएस) प्रयोगमा ल्याएको थियो ।

आर्थिक सुशासन प्रवर्धन गर्न, सूचना र प्रविधिको प्रयोग गरी राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐनको दफा १३ ‘ग’ मा भएको व्यवस्थाअनुसार व्यावसायिक प्रयोजनका मालवस्तु तथा ढुवानीका साधनको अनुगमन प्रणाली प्रयोग गरिएको हो । विभागबाट प्राप्त विवरणअनुसार यसले राजस्वको दायरासमेत बढेको र करको दायरामा नआएका व्यवसायीलाई दायराभित्र प्रवेश गराउन सहज भएको छ ।

यो सूचना प्रणाली छल्न खोज्ने व्यक्तिविरुद्ध झन्डै ३० करोड रुपैयाँ बिगो कायम गरी मुद्दा चलाइएको मैनालीले बताए । एक हजार अनुगमनमा यसरी प्रणाली छली गरी मालसामान ढुवानी गर्नेलाई  पाँच करोड रुपैयाँ बढी जरिवानासमेत लगाइसकिएको छ ।

सार्वजनिक सूचनाअनुसार यस प्रणालीका प्रयोगकर्ता नै एक लाख १३ हजार पुगिसकेका छन् । हालसम्म ४१ खर्ब रुपैयाँ बराबरको मालवस्तु सूचना प्रणालीमा प्रविष्ट गराई ओसारपसार भइसकेको छ । यसले राजस्व वृद्धिमा सहयोग पुर्‍याएको विभागको भनाइ छ । मैनाली बुधबारदेखि अर्थ मन्त्रालयमा सरुवा भएका छन् । (रासस)