म्यानमारमा झन् तनाव बढ्दै, सेनाको आक्रमणबाट एकैदिन ३८ जनाको मृत्यु
वि.सं.२०७७ फागुन २० बिहीवार १३:४९
shares

म्यानमारमा सैनिक 'कु' को विरोधमा सडकमा उत्रिएका ३८ प्रदर्शनकारीको सेनाको आक्रमणबाट बुधबार ज्यान गएको छ । नेतृ आङ साङ सुचीलगायत नेताहरुको रिहाइको माग गर्दै भएको प्रदर्शनमा हालसम्म ५० जनाभन्दा बढीको ज्यान गइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
म्यानमारमा एक महिनादेखि प्रदर्शन जारी छ । प्रदर्शन हिंसात्मक बन्दै गएको छ । चुनावको नतिजामा असन्तुष्टि जनाउँदै आएको म्यानमारको सेनाले एक महिनाअघि नेतृ सुकीसहितका नेतालाई हिरासतमा राखेर एक वर्षका लागि संकटकालको घोषणा गरेपछि तनाब बढेको हो ।
सेनाले सबै अधिकार आफ्नो हातमा लिएर सैन्य शासनको घोषणा गरेको छ । चुनावमा सुकीले धाँदली गरेर जितेको सेनाको आरोप छ ।
म्यानमारमा हिंसात्मक गतिविधि बढेको भन्दै छिमेकी देशहरुले संयमता अपनाउन म्यानमारको सेनालाई आग्रह गरिरहेका छन् । तर, सेनाले यसलाई बेवास्ता गर्दै आएको छ । म्यानमारमा हरेक दिन भएका हिंसात्मक प्रदर्शनमा सयौँ मानिस घाइते भइसकेका छन् ।

























