global ime bank Long Banner Ad

गृहपृष्ठ लाङटाङ राष्ट्रिय निकुञ्जद्वारा १३९ जनालाई राहत वितरण

लाङटाङ राष्ट्रिय निकुञ्जद्वारा १३९ जनालाई राहत वितरण

लाङटाङ राष्ट्रिय निकुञ्जद्वारा १३९ जनालाई राहत वितरण

अन्नबालीको क्षतिपूर्तिबापत लाङटाङ राष्ट्रिय निकुञ्जले १३९ जनालाई राहत प्रदान गरेको छ । किसानको खेतबारीमा पसेर वन्यजन्तुले अन्नबाली नोक्सान पु‑याएबापत चालू आर्थिक वर्षको साउनदेखि हालसम्ममा १३९ जनालाई राहत रकम वितरण गरिएको हो ।

क्षतिको मूल्यांकनका आधारमा बढीमा १० हजार रुपैयाँसम्म राहत दिने कानुनी मापदण्डअनुसार १० लाख ४६ हजार ८३५ रुपैयाँ वितरण गरिएको निकुञ्ज कार्यालयले जनाएको छ । निकुञ्ज क्षेत्रभित्र बसोबास गर्ने बासिन्दाले लगाएको अन्नबाली भालु तथा बँदेलले क्षति पु‑याउने गरेको छ ।

यसैगरी चालू आवको यो अवधिमा भालु र चितुवाको आक्रमणबाट घाइते भएका चारमध्ये तीन जनालाई उपचार खर्च प्रदान गरिएको छ । भालुले तीन र चितुवाले एक जनालाई घाइते बनाएको निकुञ्जका वन प्राविधिक रेञ्जर विवेक श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार वन्यजन्तुको आक्रमणमा पर्ने निकुञ्जवासीबाहेक अन्य क्षेत्रका व्यक्तिलाई उपचार खर्च दिने प्रावधान नभएका कारण तीन जनालाई मात्र खर्च प्रदान गरिएको हो । वन्यजन्तुको आक्रमणबाट घाइते भएकालाई सरकारी अस्पतालमा उपचार गराउँदा लाग्ने खर्च प्रदान गर्ने प्रावधान छ । भालुको आक्रमणमा पर्ने एक जना भने निकुञ्ज क्षेत्र बाहिरबाट घुम्न आएका व्यक्ति भएकाले उपचार खर्च उपलब्ध गराउन नसकिएको निकुञ्जले जनाएको छ ।

यस्तै चालू आवको साउनदेखि माघ मसान्तसम्ममा एक हजार १२१ नेपाली र ७३ विदेशी पर्यटकले लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रको भ्रमण गरेका छन् । भ्रमणका लागि निकुञ्ज प्रवेश गरेबापत पर्यटक शुल्क आठ लाख ७९ हजार राजस्व संकलन भएको निकुञ्ज प्रशासनले जनाएको छ । खर्चतर्फ भने साउनदेखि माघभर सात महिनाको अवधिमा तलबभत्तालगायत विविध शीर्षकमा चार करोड ४४ लाख ९६२ खर्च भएको बताइएको छ ।

समय–समयमा वर्षा नहुँदा बढ्दै गएको सुक्खायामका कारण हालसम्म निकुञ्जका चार स्थानका जंगल डढेलोको चपेटामा परेको निकुञ्जका नायबसुब्बा रमेश गौडले बताए । (रासस)

प्रकाशित समय : १३:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु