काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

शुक्लाफाँटा चिनाउन ‘आहा शुक्लाफाँटा’

126
shares

कञ्चनपुर।विशाल घाँसेमैदान । मैदानभरि चर्दै गरेका बाह्रसिङ्गाको विशाल झुन्ड । आकाशमा उडिरहेका विभिन्न प्रजातिका चराचुरुङ्गी । निकुन्ज प्रवेशद्धारमै मयूरको स्वागत, प्रकृतिको यस्तो अनुपम दृश्यले जोकोहीलाई मोहित बनाउँछ ।

प्राकृतिक सुन्दरता, जैविक विविधता र दुर्लभ वन्यजन्तुको बासस्थानका रूपमा प्रख्यात शुक्लाफाँटा राष्ट्रिय निकुन्ज सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्य हो । यहाँको विशाल घाँसेमैदान र त्यहाँ देखिने बाह्रसिङ्गाको हजारौँ सङ्ख्याको झुन्ड, आखैँ अगाडि देखिने पाटेबाघ, गैँडा, हात्ती, चित्तललगायत वन्यजन्तु पाइने यस निकुन्जमा वन्यजन्तु अवलोकनका लागि पर्यटक आकर्षित हुने गरेका छन् ।

शुक्लाफाँटाको यही प्राकृतिक सौन्दर्य र पर्यटकीय सम्भावनालाई विश्वमाझ चिनाउने उद्देश्यले ‘आहा शुक्लाफाँटा’ अभियान सञ्चालन गर्ने तयारी गरिएको छ । अभियानमार्फत शुक्लाफाँटालाई मात्र नभई सुदूरपश्चिमका अन्य पर्यटकीय गन्तव्यलाई समेत जोडेर पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ । शान्त वातावरण, ठूलो घाँसेमैदान र थोरै क्षेत्रफलमा धेरै दुर्लभ वन्यजन्तु हेर्न मिल्ने भएकाले स्वदेशी तथा विदेशी पर्यटकको रोजाइ शुल्लाफाँटा हुने गरेको छ । वन्यजन्तुमात्रै नभई दुर्लभ वनस्पतिका लागि पनि शुक्लाफाँटा प्रसिद्ध छ ।

निकुन्जमा विविधतायुक्त पर्यटकीय सम्भावना भए पनि यहाँ आउने पर्यटकको सङ्ख्या न्यून छ । वर्षमा चार हजारको हाराहारीमा मात्रै पर्यटक निकुन्ज पुग्ने गरेका छन् । त्यसमध्ये विदेशी पर्यटकको सङ्ख्या न्यून छ । यही अवस्थालाई ध्यानमा राखेर निकुन्जको रजत महोत्सवका अवसरमा निकुन्जलाई विश्वमाझ चिनाउन ‘आहा शुक्लाफाँटा’ अभियान सञ्चालन गर्न लागिएको निकुन्जका वरिष्ठ संरक्षण अधिकृत नुरेन्द्र अर्यालले जानकारी दिए ।

“प्रकृतिमा आधारित पर्यटनको आकर्षण अरु ठाउँमा नभएको शुक्लफाँटामा छ, त्यसमा पनि घाँसेमैदानमा देखिने बाह्रसिङ्गाको झुन्ड यहाँको विशेषता हो”, वरिष्ठ संरक्षण अधिकृत अर्यालले भने, “यहाँको सम्भावनालाई प्रचारप्रसार गरी स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउनु हाम्रो अबको लक्ष्य हो ।”

वरिष्ठ संरक्षण अधिकृत अर्यालले शुक्लाफाँटामा वन्यजन्तु र विशाल घाँसेमैदानदेखि तालतलैयासम्म हरेक क्षेत्रमा विविधता रहेको बताए । “अब आहा शुक्लाफाँटा अभियानसँगै यसको प्रचारप्रसार र भौतिक पूर्वाधारमा पनि जोड इिनेछ”, उनले भने, “निकुन्जको पर्यटन प्रवर्द्धनमा सबै तहका निकायले लाग्नु आवश्यक छ ।” यसपटक दसैँ र तिहारको अवधिमा शुक्लाफाँटा घुम्ने पर्यटकको सङ्ख्या उल्लेख्य देखिएको थियो । निकुन्ज कार्यालयका अनुसार एक महिनामा मात्रै करिब दुई हजार पर्यटक निकुन्ज प्रवेश गरेका थिए ।

शुक्लाफाँटालाई दार्चुलाको अपिसँगै खप्तड र बडिमालिकालगायत पर्यटकीय क्षेत्रसँग जोडेर जानुपर्ने राष्ट्रिय प्रकृति संरक्षण कोषको शुक्लाफाँटा संरक्षण कार्यक्रम प्रमुख लक्ष्मी जोशीले बताए । “देशका कुनै पनि निकुन्जभन्दा शुक्लाफाँटा कम छैन, यसपटक दसैँतिहारमा समेत पर्यटकको सङ्ख्या उलेख्य थियो”, प्रमुख जोशीले भने, “अब ‘आहा शुक्लाफाँटा’ ब्रान्डमा यसलाई प्रचारप्रसार गरेर अगाडि बढ्नुपर्छ ।” उनले यसका लागि यहाँका सबै सरकारले सहयोग र सहकार्य गर्नुपर्नेमा जोड दिए ।

शुक्लाफाँटामा अहिलेसम्म संरक्षणमा मात्रै जोड दिइएको बताउँदै अब संरक्षणसँगसँगै पर्यटन प्रवर्द्धनमा पनि लाग्नुपर्ने होटल व्यवसायी सङ्घ कञ्चनपुरका अध्यक्ष रामचन्द्र रेग्मीले बताए । “शुक्लाफाँटा भारतको राजधानीबाट पनि नजिक छ, अब यहाँका संरचनालाई पर्यटनमैत्री बनाउनुपर्छ”, उनले भने, “निकुन्जभित्र बाह्रै महिना सफारी गर्न सक्नेगरी सडकको स्तरोन्नति गरिनुपर्छ ।”

अहिले निकुन्जमा बर्खायाममा जङ्गल सफारी बन्द हुने गरेको छ । निकुन्जको प्रचारप्रसारका लागि सामाजिक सञ्जाल र सेलिब्रेटीलाई समेत जोड्नुपर्ने यहाँका पर्यटन व्यवसायी परमानन्द भण्डारी बताउछन् । “निकुन्ज भ्रमण गर्न आउने पर्यटकलाई पूर्वी र पश्चिम दुवै क्षेत्रमा घुम्न सक्ने वातावरण तयार हुनुपर्छ”, उनले भने, “राजमार्गसँगै जोडिएको अर्जुनी पोस्टनजिकै हिरापुर फाँटमा रहेको कृष्णसार संरक्षित क्षेत्रमा समेत सहजै पुग्न सक्ने व्यवस्था गर्नुपर्छ ।”

तीन सय पाँच वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुन्ज बाह्रसिङ्गेका लागि प्रसिद्ध मानिन्छ । निकुन्जमा दुई हजार ३२३ बढी बाह्रसिङ्गा छन् । यहाँ घुम्न आउने पर्यटकले ठूलो सङ्ख्यामा बाह्रसिङ्गाको झुन्ड देख्न पाउँछन् । यहाँ २३ वटा एकसिङ्गे गैँडा, ५० वटा पाठेबाघ रहेका छन् भने ३०० भन्दा बढी कृष्णसार र ४६५ प्रजातिका चरा छन् । निकुन्जको प्रमुख आकर्षण ५४ वर्गकिलोमिटरमा फैलिएको विशाल घाँसेमैदान र त्यहाँ देखिने हजारौँको सङ्ख्यामा बाह्रसिङ्गाका झुन्ड हुन् ।