काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

दसौँ राष्ट्रिय खेलकुदः व्यक्तिगतमा स्वर्ण विजेतालाई एक लाख, टिमतर्फ ५० हजार

168
shares

कास्की। गण्डकी प्रदेश सरकारले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदक जित्ने प्रदेशका खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ ।

प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शनका लागि प्रोत्साहित गर्ने उद्देश्यले प्रदेश सरकारले पदकअनुसार पुरस्कार रकम घोषणा गरेको हो । कर्णाली प्रदेशको सुर्खेतमा यही मङ्सिर १६ गतेदेखि औपचारिक रूपमा सुरु हुने प्रतियोगितामा व्यक्तिगत विधातर्फ स्वर्ण पदक विजेताले एक लाख, रजत पदक विजेताले रु ५० हजार र कास्य पदक विजेताले २५ हजार नगद पुरस्कार पाउनेछन् ।

त्यस्तै, समूहगत खेलतर्फ स्वर्ण पदक जित्ने खेलाडीले जनही ५० हजार, रजत पदक विजेताले २५ हजार र कास्य पदक विजेताले जनही १५ हजार पुरस्कार प्राप्त गर्नेछन् ।

प्रदेश खेलकुद परिषद्का निमित्त सदस्यसचिव विनय थापाका अनुसार कुनै व्यक्तिगत स्पर्धामा एउटै खेलाडीले एकभन्दा बढी पदक प्राप्त गरेमा थप पदकका लागि समूहगत स्पर्धामा तोकिएअनुसारको पुरस्कार उपलब्ध गराइनेछ ।

त्यसैगरी, राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलकुद प्रतियोगितामा राष्ट्रिय वा अन्तरराष्ट्रिय कीर्तिमान तोड्ने खेलाडीलाई जनही ५० हजारका दरले पुरस्कार प्रदान गरिने परिषद्ले जनाएको छ । प्रदेश सरकारले खेलाडीको प्रदर्शनलाई मात्र नभई उनीहरूलाई प्रशिक्षण दिने प्रशिक्षक तथा टोली व्यवस्थापनमा खटिने व्यवस्थापकलाई समेत पुरस्कारबाट प्रोत्साहित गर्ने नीति लिएको छ ।

स्वर्ण पदक जित्ने टोलीका मुख्य प्रशिक्षकलाई ४० हजार तथा सहायक प्रशिक्षक र व्यवस्थापकलाई जनही २० हजार प्रदान गरिनेछ । रजत पदक विजेता टोलीका मुख्य प्रशिक्षकले २० हजार तथा सहायक प्रशिक्षक र व्यवस्थापकले जनही १० हजार पाउनेछन् ।

त्यस्तै, कास्य पदक विजेता टोलीका मुख्य प्रशिक्षकलाई १० हजार तथा सहायक प्रशिक्षक र व्यवस्थापकलाई जनही पाँच हजार नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गरिनेछ ।

प्रतियोगितामा सहभागी हुने गण्डकी प्रदेशको टोलीलाई बिदाइ गर्दै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले खेलाडीको मनोबल उच्च बनाउन र खेल क्षेत्रमा लगानी बढाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उनले पदक विजेता खेलाडीलाई प्रोत्साहित गर्न निजी क्षेत्र तथा विभिन्न सङ्घसंस्थालाई समेत सम्मान र पुरस्कारका कार्यक्रम ल्याउन आग्रह गरिएको जानकारी दिए ।

“खेलाडीको मनोबल उच्च राख्न र हौसला प्रदान गर्न पदक जितेर फर्किएपछि विभिन्न सङ्घसंस्थालाई सम्मानका लागि हामीले आग्रह गरेका छौँ”, मुख्यमन्त्री पाण्डेले भने । उनले खेलाडी तथा प्रशिक्षकको बिमा, औषधोपचार र कल्याणका लागि प्रदेश सरकारले बजेटको व्यवस्था गरेको उल्लेख गर्दै खेल क्षेत्रको विकासका लागि आगामी दिनमा लगानी थप बढाउँदै लैजाने बताए ।

प्रदेश सरकारले खेलाडीको हित र सुरक्षाका लागि खेलाडी कल्याणकारी कोषको व्यवस्थासमेत गरेको उनले जानकारी दिए । मुख्यमन्त्री पाण्डेले गण्डकीका खेलाडीले अन्य प्रदेशको तुलनामा अनुशासित र मर्यादित ढङ्गले आफ्नो खेल कौशल प्रदर्शन गर्ने विश्वास व्यक्त गरे ।

सामाजिक विकासमन्त्री रेखा गुरुङले दसौँ राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशले उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरे । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेशहरूमध्ये पहिलो स्थान हासिल गरेको गण्डकीले यसपटक पनि सोही नतिजालाई निरन्तरता दिने अपेक्षा गरिएको उनको भनाइ छ ।

“गण्डकी नवौँ राष्ट्रिय खेलकुदमा प्रदेशहरूमध्ये पहिलो बनेको थियो । त्यो नतिजा दसौँ राष्ट्रिय खेलकुदमा समेत कायम गर्ने अपेक्षा गरेका छौँ”, मन्त्री गुरुङले भने । दसौँ राष्ट्रिय खेलकुदमा समावेश ३२ खेलमध्ये गण्डकी प्रदेशले कुस्तीबाहेक ३१ खेलमा सहभागिता जनाउनेछ । प्रदेशबाट प्रतियोगितामा ६३६ खेलाडी, ७९ प्रशिक्षक, ३९ टिम व्यवस्थापक र तीन सदस्यीय मेडिकल टोली सहभागी हुनेछन् । यसबाहेक खेल पदाधिकारी तथा सञ्चारकर्मीको समेत सहभागिता रहनेछ ।

गण्डकीले नवौँ राष्ट्रिय खेलकुदमा हासिल गरेको सफलता दोहोर्याउने लक्ष्यसहित यसपटक मैदानमा उत्रने तयारी गरेको छ । तर छोटो समयमा खेलाडीले तयारी गर्न पाएका छैनन् । घरेलु भूमिमा चार वर्षअघि भएको नवौँ राष्ट्रिय खेलकुदमा गण्डकीले ३२ स्वर्ण, ३१ रजत र ५७ कास्य गरी १२० पदक जितेर समग्रमा विभागीय टोलीहरू पछि चौथो र प्रदेशहरूमा पहिलो बनेको थियो ।