इन्डोनेसियामा भारी वर्षापछि पहिरो र बाढी, चार जनाको मृत्यु
वि.सं.२०८३ मंसिर १३ आइतवार १९:३६
shares

इन्डोनेसियाको जाभा प्रान्तमा लगातार परेको भारी वर्षाका कारण पहिरो र बाढी आउँदा कम्तीमा चार जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन्।
खोज तथा उद्धार अधिकारीहरूका अनुसार बनजारनेगारा क्षेत्रमा गएको पहिरोमा परी चार जनाको ज्यान गएको हो। बेपत्ताहरूको खोजी कार्य जारी रहेको छ।
यसैबीच, भारी वर्षा र माथिल्लो क्षेत्रबाट आएको पानीको बहावका कारण सिलाकाप क्षेत्रमा शनिबार नदीको तटबन्ध भत्किएको छ। त्यसपछि आएको बाढीले सयौँ घर डुबानमा परेका छन्।
प्रारम्भिक विवरणअनुसार बाढीबाट एक हजारभन्दा बढी स्थानीय बासिन्दा प्रभावित भएका छन्।
स्थानीय सञ्चारमाध्यमका अनुसार प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य तीव्र पारिएको छ। उद्धार टोलीले बेपत्ताहरूको खोजी गरिरहेको छ भने बाढी प्रभावित क्षेत्रमा भत्किएको तटबन्ध अस्थायी रूपमा बन्द गर्ने, बालुवाका बोरा राख्ने र खाद्यान्न वितरण गर्ने काम भइरहेको छ।
प्रभावित नागरिकलाई आवश्यक राहत तथा आधारभूत सुविधा उपलब्ध गराउन स्थानीय सरकारी निकायहरू सक्रिय रूपमा परिचालित भएका छन्।

























