इसेवाबाट सन नेपाल लाइफको ‘स्क्यान एन्ड केयर’ बीमा, १ लाखसम्मको सुरक्षा
वि.सं.२०८३ मंसिर १३ आइतवार १९:२५
shares

काठमाडौं । भुक्तानी सेवा प्रदायक इसेवा र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सहकार्यमा ‘स्क्यान एन्ड केयर’ बीमा योजना अब इसेवामार्फत सहजै खरिद गर्न सकिने भएको छ। डिजिटल माध्यमबाट सर्वसाधारणसम्म बीमा सेवाको पहुँच सरल बनाउने उद्देश्यले दुई कम्पनीबीच साझेदारी गरिएको हो।
यस साझेदारीअन्तर्गत इसेवाका ग्राहकले ‘स्क्यान एन्ड केयर’ योजनामार्फत कुल १ लाख रुपैयाँसम्मको बीमा सुरक्षा प्राप्त गर्न सक्नेछन्। योजनामा ५० हजार रुपैयाँसम्मको टर्म लाइफ इन्स्योरेन्स र ५० हजार रुपैयाँसम्मको सन मेडिकेयर (स्वास्थ्य बीमा) समावेश गरिएको इसेवाले जनाएको छ।
१८ देखि ६० वर्ष उमेर समूहका योग्य व्यक्तिले इसेवा एपमा उपलब्ध क्यूआर कोड स्क्यान गरी उक्त बीमा योजना खरिद गर्न सक्नेछन्। उमेर र बीमा सुरक्षाको आधारमा योजनाको वार्षिक बीमाशुल्क ७६० रुपैयाँदेखि १ हजार ४०५ रुपैयाँसम्म निर्धारण गरिएको छ।
सन नेपाल लाइफले शाखा कार्यालय तथा अभिकर्तामार्फत उपलब्ध गराउँदै आएको ‘स्क्यान एन्ड केयर’ योजनालाई डिजिटल माध्यमबाट पनि विस्तार गर्ने उद्देश्यले साझेदारी गरिएको हो। यसले सर्वसाधारण नागरिकसम्म बीमा सेवा सहज, द्रुत र प्रविधिमैत्री रूपमा पुर्याउन सहयोग गर्ने अपेक्षा गरिएको छ।
बीमा क्षेत्रलाई प्रविधिसँग जोड्दै आएको इसेवाले विभिन्न जीवन तथा निर्जीवन बीमा कम्पनीसँग सहकार्य गरी ग्राहकलाई बीमाशुल्क भुक्तानी, नयाँ पोलिसी खरिदलगायत डिजिटल बीमा सेवाहरू प्रदान गर्दै आएको छ। आगामी दिनमा डिजिटल माध्यमबाट बीमाको पहुँच थप विस्तार गर्ने इसेवाको लक्ष्य रहेको छ।

























