काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

विश्वभर फेरि फैलिँदै दादुरा, खोपको कमी मुख्य कारण

294
shares

विश्वभर दादुरा रोग नियन्त्रणका लागि हासिल गरिएका उपलब्धि कमजोर हुँदै गएको भन्दै विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले चिन्ता व्यक्त गरेको छ। बालबालिकामा खोपको पहुँच र नियमित खोप लगाउने दरमा कमी आउँदा दादुरा पुनः फैलिने जोखिम बढेको सङ्गठनले जनाएको छ।

डब्लुएचओको नयाँ प्रतिवेदनअनुसार सन् २०२५ मा विश्वभर दादुराका कारण करिब ७२ हजार जनाको मृत्यु भएको थियो। यो सङ्ख्या सन् २००० को तुलनामा ९१ प्रतिशतले कम हो। तर गत वर्ष विश्वभर करिब एक करोड मानिस दादुराबाट सङ्क्रमित भएका थिए। यसले रोग नियन्त्रणमा उल्लेखनीय प्रगति भए पनि चुनौती कायम रहेको देखाएको छ।

विश्वभर दादुराको अवस्था

दादुरा हावाबाट फैलिने अत्यन्त सङ्क्रामक भाइरल रोग हो। यसले मुख्यतः बालबालिकालाई प्रभावित गर्छ। सङ्क्रमणले निमोनिया, मस्तिष्कमा सूजनजस्ता गम्भीर समस्या निम्त्याउन सक्छ भने उपचार र उचित हेरचाहको अभावमा मृत्युसमेत हुन सक्छ। विशेषगरी खोप नलगाएका व्यक्तिमा यसको जोखिम बढी हुन्छ।

सन् १९६३ मा पहिलोपटक दादुराविरुद्धको खोपलाई अनुमति दिइएको थियो। त्यसपछि सन् १९७१ मा दादुरा, गलगाँड र रुबेलाविरुद्ध संयुक्त एमएमआर खोप उपलब्ध भएको थियो। डब्लुएचओले बालबालिकालाई १८ महिनाको उमेर पुग्नुअघि खोपको दुई मात्रा लगाउन सिफारिस गरेको छ।

सन् २००० देखि २०२५ सम्म खोप अभियानका कारण विश्वभर ६ करोडभन्दा बढी मानिसको ज्यान जोगिएको डब्लुएचओले जनाएको छ।

तर विभिन्न क्षेत्रमा दादुराको सङ्क्रमण असमान रूपमा फैलिएको छ। सन् २०२५ मा अमेरिकी क्षेत्रमा करिब ७३ हजार सङ्क्रमण देखिएको थियो, जुन सन् २००० को तुलनामा आठ गुणा बढी हो। त्यस्तै, विश्वभरका कुल सङ्क्रमणमध्ये झन्डै आधा डब्लुएचओको दक्षिणपूर्वी एसिया क्षेत्रमा देखिएको थियो।

दादुरा पुनः फैलिनुको कारण

दादुरा पुनः फैलिनुको प्रमुख कारण खोपको अपर्याप्त पहुँच र खोप लगाउने दरमा आएको कमी हो। सन् २०२५ मा विश्वभरका ८४ प्रतिशत बालबालिकाले मात्र पहिलो मात्रा खोप लगाएका थिए भने दोस्रो मात्रा लगाउने बालबालिकाको सङ्ख्या ७७ प्रतिशत थियो। दादुराको प्रकोप रोक्न खोपको दुवै मात्रा लगाउने दर कम्तीमा ९५ प्रतिशत हुनुपर्ने डब्लुएचओको भनाइ छ।

सङ्गठनका अनुसार सन् २०२५ मा विश्वभर दुई करोड ९० लाखभन्दा बढी बालबालिका दादुराविरुद्धको खोपबाट वञ्चित वा अपूर्ण खोपको अवस्थामा थिए। कोभिड–१९ महामारीका कारण नियमित खोप कार्यक्रम प्रभावित हुँदा धेरै बालबालिका निर्धारित समयमा खोप लगाउनबाट छुटेका थिए।

अमेरिकामा खोपप्रतिको अनिच्छा पनि दादुरा फैलिनुको अर्को कारण बनेको छ। केही मानिसले धार्मिक विश्वास वा व्यक्तिगत धारणाका कारण खोप लगाउन अस्वीकार गर्ने गरेका छन्। स्वास्थ्य संस्थाप्रतिको जनविश्वास कमजोर हुँदा नियमित खोप अभियान सञ्चालन गर्नसमेत कठिन भएको अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले जनाएको छ।

नोभेम्बर १२ सम्म अमेरिकामा सन् २०२६ मा पाँच हजार ४१२ दादुरा सङ्क्रमण पुष्टि भएका थिए। सन् २०२५ मा यो सङ्ख्या दुई हजार २८९ थियो। यस वर्ष देखिएका सङ्क्रमणमध्ये करिब ९६ प्रतिशत खोप नलगाएका वा खोपको अवस्था अज्ञात रहेका व्यक्तिमा देखिएको थियो।

त्यस्तै, गरिबी, द्वन्द्व र विस्थापनले पनि खोपको पहुँचमा असमानता बढाएको छ। सन् २०२५ मा न्यून आय भएका देशमा दादुराको दुवै मात्रा खोप लगाउने दर ५७ प्रतिशत मात्र थियो भने उच्च आय भएका देशमा यो दर ९१ प्रतिशत पुगेको थियो।

दादुरा नियन्त्रणमा ल्याउन सकिन्छ रु

डब्लुएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले खोपका कारण दादुराबाट हुने मृत्युदर ऐतिहासिक रूपमा घटे पनि यसप्रति लापरबाही गर्न नहुने बताएको छन्। उनले प्रत्येक बालबालिकाले खोपको दुवै मात्रा पाएको सुनिश्चित गर्न सबै देशलाई आग्रह गरे।

डब्लुएचओको खोप, जैविक तथा प्रतिरक्षण विभागकी निर्देशक केट ओब्रायनले खोपको दर घट्दा नियन्त्रणमा आइसकेका रोगसमेत कति छिटो पुनः फैलिन सक्छन् भन्ने उदाहरण अमेरिकी अवस्था बनेको बताइन्। उनका अनुसार दादुरा मानिसमा सङ्क्रमण गराउने सबैभन्दा सङ्क्रामक भाइरसमध्ये एक हो।

ब्राउन विश्वविद्यालयको जनस्वास्थ्य विद्यालयअन्तर्गत प्यान्डेमिक सेन्टरकी निर्देशक जेनिफर नुजोले दादुरामुक्त हैसियत गुमाउनु विश्वको रोग पहिचान, रोकथाम र नियन्त्रण क्षमतामा कमजोरी आएको सङ्केत भएको बताए।

यसैबीच, प्यान अमेरिकन हेल्थ अर्गनाइजेसनका निर्देशक जार्बास बार्बोसाले दादुरामुक्त हैसियत गुम्नु गम्भीर चेतावनी भए पनि यसलाई अपरिवर्तनीय अवस्था मान्न नहुने बताए ।

उनका अनुसार नियमित खोप अभियान सञ्चालन, प्रभावकारी रोग निगरानी र सङ्क्रमण देखिए तत्काल नियन्त्रणका उपाय अपनाएर दादुराको फैलावट रोक्न सकिन्छ। स्वास्थ्य अधिकारीहरूले प्रत्येक बालबालिकालाई खोपको दुवै मात्रा उपलब्ध गराउन सके विश्वभर दादुरा नियन्त्रणका उपलब्धि पुनः हासिल गर्न सकिने विश्वास व्यक्त गरेका छन्।