चाडपर्वपछि रोजगारीका लागि भारत फर्किन थाले सुदूरपश्चिमेली
वि.सं.२०८३ मंसिर १३ आइतवार २०:२९
shares

धनगढी। महान् चाड बडादसैँ, दीपावली तथा छठ पर्व मनाएर घर फर्किएका सुदूरपश्चिमका नेपाली पुनस् रोजगारीका लागि छिमेकी मुलुक भारत जान थालेका छन् ।
कैलालीको त्रिनगर भन्सार नाकाबाट दैनिक करिब छ हजार नेपाली रोजगारीका लागि भारत गइरहेको सीमास्थित सशस्त्र प्रहरी बलको सीमा हेल्प डेस्कले जनाएको छ । उनीहरू चाडपर्व मनाउन भारतका विभिन्न सहरबाट केही समयअघि घर फर्किएका थिए ।
लामो समयदेखि भारतको मुम्बईमा रोजगारी गर्दै आउनुभएका डोटीको आदर्श गाउँपालिकाका रमेशबहादुर साउद केही समयअघि चाडपर्व मनाउन घर आएको थिए । अहिले उनि पुनस्रोजगारीका लागि भारत फर्कन लागेका छन् । उनि मुम्बईस्थित एक होटलमा भान्सेको काम गर्छन् ।
नेपालमा रोजगारी पाउन कठिन हुनुका साथै काम पाए पनि त्यसबाट हुने आम्दानीले परिवारको खर्च धान्न मुस्किल पर्ने भएकाले भारत जानुपरेको साउदले बताए ।
सोही नाकाबाट भारत जाँदै गर्नुभएका कैलालीको गोदावरीका हरि नेपाली बडादसैँमा टीका लगाउन र परिवारसँग भेटघाट गर्न घर आएको बताए । उनि अहिले रोजगारीका लागि भारतको सुरत जाँदै छन् । बाजुराका नरेश बुढा पनि रोजगारीका लागि भारतको पञ्जाव् जाँदैछन् ।
सुदूरपश्चिमका नेपाली छोटो तथा लामो समयका लागि रोजगारी गर्न भारत जाने गरेका छन् । खेतीपाती हुनेहरू कृषि काम सकेर अन्नबाली भित्र्याउने समयसम्म भारतमा काम गर्छन् भने खेतीपाती नहुनेहरू लामो समयसम्म भारतमा बसेर चाडपर्वका बेला घर फर्कने र त्यसपछि पुन काममा जाने गरेका छन् ।
सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुरलगायत पहाडी जिल्लाबाट रोजगारीका लागि भारतका मुम्बई, दिल्ली, पिथौरागढ, नासिक र पञ्जाव्लगायत सहरमा जाने गरेका छन् । भिसा नलिई भारत जान र त्यहाँ रोजगारी पाउन सहज भएकाले पनि नेपालीहरू रोजगारीका लागि भारत जाने गरेको पाइन्छ ।

























