सुन्तला ढुवानीका लागि सडक मर्मतमा जुटे राखुका किसान
वि.सं.२०८३ मंसिर १४ सोमवार ०५:१२
shares

म्याग्दी। म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको राखुका किसान सुन्तला ढुवानीका लागि श्रमदान अभियानबाट सडक मर्मतमा जुटेका छन् । बाढीले सडक भत्काएपछि यातायात अवरुद्ध हुँदा सुन्तला बजार पुर्याउन समस्या भएपछि स्थानीयवासीले श्रमदान अभियान सञ्चालन गरेका हुन् ।
गत असोज दोस्रो साताको वर्षापछि नयाँपुल–राखु–भकिम्ली सडकअन्तर्गत गौडाखोलामा आएको बाढीले करिब १५ मिटर सडक भत्काएको थियो । सरकारी निकायको सहयोग पर्खँदा मर्मतमा ढिलाइ हुने र डोजर परिचालन गर्दा थप पहिरोको जोखिम बढ्ने भएकाले स्थानीयले श्रमदानबाटै ग्यावियन पर्खाल निर्माण थालेका हुन् ।
स्थानीयवासी खिमबहादुर पुनका अनुसार वडा कार्यालयको सिफारिसमा नगरपालिकाले उपलब्ध गराएको २२ थान र स्थानीयले देउसीभैलो खेलेर जुटाएको रकमबाट खरिद गरिएका १८ थान ग्यावियन जालीमध्ये हालसम्म २५ थान जालीमा ढुङ्गा भरिसकिएको छ । सुन्तला ढुवानीमा समस्या भएपछि यातायात सञ्चालनलाई सहज बनाउन ६५ घरपरिवारका स्थानीय पाँच दिनदेखि निरन्तर श्रमदानमा खटिएका छन् ।
“दैनिक ६० देखि ७० जनासम्म श्रमदानमा सहभागी भएर ढुङ्गा फुटाउने, बोक्ने र ग्यावियन भरेर पर्खाल निर्माण गरिरहेका छन्”, उनले भने“सडक मर्मत छिटो सम्पन्न गरेर सुन्तला बजार पठाउन सकियोस् भन्ने हाम्रो उद्देश्य हो ।”
देउसीभैलोको रकम पनि सडक मर्मतमै
सडक मर्मतका लागि राखु आमा समूहले तिहारमा देउसीभैलो खेलेर सङ्कलन गरेको दुई लाख २१ हजार ५६० पनि परिचालन गरिएको छ । उक्त रकम ग्यावियन जाली खरिद र ढुङ्गा ढुवानीमा प्रयोग गरिएको ट्रयाक्टरको भाडा तिर्न परिचालन गरिएको स्थानीयवासी तथा जयन्ती माध्यमिक विद्यालयका शिक्षक डेकबहादुर घर्तीमगरले बताए ।
उनका अनुसार बजार र विदेशमा रहेका स्थानीयवासीले पनि श्रमदानमा सहभागी हुनेहरूका लागि आलोपालो गरेर खाजाको व्यवस्था मिलाएका छन् । सडकको खाल्डो पुर्न माटो ढुवानी र व्यवस्थापनका लागि डोजर आवश्यक पर्ने भएकाले नगरपालिकाले सहयोग गरिदिन स्थानीयले अनुरोध गरेका छन् । प्राविधिकको सर्वेक्षणअनुसार उक्त क्षेत्रमा ७० थान ग्यावियन पर्खाल निर्माण गर्नुपर्ने देखिएको छ ।
नगरपालिकाले अन्य स्थानमा डोजर परिचालन गरेर सडक मर्मत गरे पनि गौडाखोलाको प्रतिकूल भौगोलिक अवस्थाका कारण तत्काल मर्मत गर्न सकेको थिएन । हाल स्थानीयले काठको अस्थायी पुल निर्माण गरी पैदलयात्रु र मोटरसाइकललाई खोला वारपार गर्ने व्यवस्था मिलाएका छन् ।
दुई करोडको सुन्तला उत्पादन
राखुका ६५ घरपरिवारले व्यावसायिक रूपमा सुन्तलाखेती गर्दै आएका छन् । यहाँका किसानको आम्दानीको मुख्य स्रोत नै सुन्तलाखेती हो । वार्षिक करिब रु दुई करोड मूल्यबराबरको सुन्तला बिक्री हुने गरेको किसान घर्तीमगरले बताउनुभयो । नयाँ बिरुवा थपिँदै गएकाले उत्पादन पनि बर्सेनि बढ्दै गएको छ ।
यसअघि राखुका किसानले मङ्सिर दोस्रो सातादेखि सुन्तला टिपेर बजार पठाउने गरेका थिए । सडक अवरुद्ध हुँदा यस वर्ष सुन्तला बजार पुर्याउन ढिलाइ भएको किसान मेखबहादुर गर्बुजाले बताए । अर्का किसान नरबहादुर रानामगरले सडक मर्मत पूरा नहुँदासम्म अन्य काम छाडेर भए पनि श्रमदानलाई प्राथमिकता दिएको बताए।
सुन्तलाखेतीबाट रोजगारी र आयआर्जनको अवसर सिर्जना भएपछि कामको खोजीमा बजार तथा विदेश जानुपर्ने बाध्यता पनि घटेको छ । किसान गङ्गाबहादुर घर्तीले सुन्तलाले फल दिन थालेपछि आफूलाई वैदेशिक रोजगारीमा जानुपर्ने अवस्था नरहेको बताए ।
पूर्व फर्किएको भिरालो पाखोमा रहेको राखुको भूगोल र माटो सुन्तलाखेतीका लागि अनुकूल छ । सिँचाइको पर्याप्त सुविधा भएकाले यहाँका किसानले कोदो र मकैखेतीको विकल्पमा व्यावसायिक सुन्तलाखेती विस्तार गरेका हुन् ।
महिलाले सुन धितो राखेर जुटाए सडकका लागि ऋण
विसं २०७३ मा तत्कालीन भकिम्ली गाविस र स्थानीय किसानको ५० लाख लगानीमा जयन्ती माध्यमिक विद्यालयदेखि राखु हुँदै नयाँपुल जोड्ने करिब पाँच किलोमिटर सडकको मार्ग खोलिएको थियो । सडक निर्माणका लागि स्थानीय १३ जना महिलाले बैंकमा सुन धितो राखेर १२ लाख ऋणसमेत जुटाएका थिए ।
हाल बगैँचामा टिपेको सुन्तला ट्रयाक्टरमा राखेर नयाँपुलसम्म पुर्याउने र त्यहाँबाट गाडीमा राखेर बेनी, पोखरा, काठमाडौँ र चितवनलगायतका बजारमा पठाउने गरिएको किसान भविकला थापा रानामगरले बताए ।
अन्य क्षेत्रका किसानले प्रतिकिलो ८० देखि ८५ सम्ममा सुन्तला बिक्री गरे पनि सडक र ढुवानीको समस्याका कारण राखुका किसानले प्रतिकिलो ७५ मा बिक्री गर्न बाध्य भएको उनले बताए ।
सडक साँघुरो, घुम्ती धेरै र ग्रेड नमिलेका कारण मोटरसाइकल, जिप तथा ट्रयाक्टरमात्रै सञ्चालन हुनसक्ने अवस्था छ । जोखिमपूर्ण सडकका कारण ढुवानी खर्च बढ्नुका साथै किसानले उत्पादनको उचित मूल्य पाउन सकेका छैनन् ।
सडक निर्माण हुनुअघि राखुका किसानले डोकोमा बोकेर बेनीका व्यापारीलाई सस्तो मूल्यमा सुन्तला बिक्री गर्ने गरेका थिए । सडक पुगेपछि डोकोमा बोकेर बजार पुर्याउनुपर्ने बाध्यता हटे पनि सडक स्तरोन्नति हुन नसक्दा समस्या कायमै रहेको स्थानीयको भनाइ छ ।
बेनी नगरपालिका–३ का वडाध्यक्ष पदम पुनले नगरपालिकाको बजेटबाट सडकको सामान्य मर्मत तथा छोटो दूरीमा सुधारका काम हुँदै आएको बताए । उनले सडकको बृहत् स्तरोन्नतिका लागि प्रदेश र सङ्घीय सरकारसँग पहल भइरहेको जानकारी दिए ।
राज्यको सीमित स्रोतसाधनबाट वडाका सबै बस्तीको भौगोलिक सन्तुलन मिलाउँदै स्थानीयका माग सम्बोधन गर्न कठिनाइ भइरहेको उल्लेख गर्दै उनले सडक मर्मतमा जुटेका राखुवासीको सक्रियताको प्रशंसा गरे ।

























