काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

साक्षरता कार्यक्रमले पठन तथा लेखन सीपमा सुधार

441
shares

कपिलवस्तु।दुई वर्षअघिसम्म नेपाली भाषा पढ्न र लेख्न कठिनाइ भोग्दै आएका कपिलवस्तुका मदरसामा अध्ययनरत विद्यार्थी अहिले नेपाली विषयमा सहजै पढ्न र लेख्न सक्ने भएका छन् । मायादेवी गाउँपालिका–२ मनखोरियास्थित मिसवाहुल उलुम आधारभूत विद्यालयका विद्यार्थीमा कक्षा कोठामा आधारित साक्षरता कार्यक्रम सञ्चालन भएपछि यस्तो सुधार आएको हो ।

बाल शिक्षादेखि कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीलाई नेपाली भाषा पढ्न र लेख्न कठिन हुने गरेकामा अहिले उनीहरूको पठन तथा लेखन सीपमा उल्लेख्य सुधार आएको विद्यालयले जनाएको छ । विद्यालयका प्रधानाध्यापक मोहम्मद तारिखले दुई वर्षअघि नेपाली विषय पढ्नसमेत कठिन हुने विद्यार्थी अहिले धाराप्रवाह पढ्न र लेख्न सक्ने भएको बताउनुभयो । अरबी र अङ्ग्रेजीलगायत विषयमा राम्रो ज्ञान भएका विद्यार्थीले नेपाली भाषामा समेत प्रगति गरेपछि विद्यार्थी र अभिभावक उत्साहित भएको उनले बताए ।

पिस नेपाल र रुम टु रिड परियोजनाअन्तर्गत विद्यालयमा दुई वर्षदेखि कक्षा कोठामा आधारित साक्षरता कार्यक्रम सञ्चालन भएपछि सिकाइ उपलब्धिमा सुधार आएको प्रधानाध्यापक तारिखको भनाइ छ । कार्यक्रमले शिक्षकको अध्यापन शैलीमा परिवर्तन ल्याउनुका साथै विद्यार्थीको सिकाइ प्रक्रियालाई प्रभावकारी बनाएको उनले बताए ।

विद्यालयकी शिक्षिका अनिता चौधरीले तालिमप्राप्त गरेपछि नयाँ विधि र अभ्यासमार्फत पठनपाठन गराउन थालेको बताए । शिक्षकले विद्यार्थीको सिकाइस्तरअनुसार शिक्षण गतिविधि सञ्चालन गर्न थालेपछि नेपाली भाषा पढ्न र लेख्न सक्ने विद्यार्थीको सङ्ख्या बढेको उनले जानकारी दिए ।

मायादेवी गाउँपालिकाका शिक्षा शाखा प्रमुख हरिहर बेल्बासेले मदरसामा अध्ययनरत विद्यार्थीको नेपाली भाषा सिकाइमा आएको सुधार सकारात्मक रहेको बताए । दक्षिणी क्षेत्रका मदरसामा समेत पठनपाठनको स्तरवृद्धि हुनु महत्त्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै उनले यस्ता कार्यक्रम अन्य विद्यालयमा पनि विस्तार गर्नुपर्नेमा जोड दिए ।

गाउँपालिका अध्यक्ष वलीउद्दीन मुसलमानले दुई वर्षअघि नेपाली पढ्नसमेत कठिनाइ हुने विद्यार्थी अहिले राम्रोसँग पढ्न र लेख्न सक्ने भएको देख्दा खुसी लागेको बताए । पिस नेपाल र रुम टु रिड परियोजना सञ्चालन भएका विद्यालयमा शैक्षिक सुधार देखिएको उल्लेख गर्दै उहाँले गाउँपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।

मनखोरियाको मिसवाहुल उलुम आधारभूत विद्यालयसहित कपिलवस्तु नगरपालिका–११ रेहरास्थित मदरसा मिसहाउल उलुम अल सफिया र मायादेवी गाउँपालिका–३ स्थित मदरसा रियाजुल उलुम अल सफिया आधारभूत विद्यालयमा कार्यक्रम सञ्चालन भइरहेको छ । परियोजनाका कार्यक्रम संयोजक नारायणप्रसाद पौडेलले कपिलवस्तुका दुई स्थानीय तहका तीन मदरसामा सञ्चालित कार्यक्रमबाट ७७७ विद्यार्थी लाभान्वित भएको बताए । ती मदरसाका १५ शिक्षकलाई साक्षरतासम्बन्धी तालिम प्रदान गरिएको उनले जानकारी दिए ।

संयोजक पौडेलका अनुसार कपिलवस्तु, बुद्धभूमि र शिवराज नगरपालिका तथा मायादेवी गाउँपालिकाका ९३ विद्यालयमा परियोजना सञ्चालन भइरहेको छ । कार्यक्रमबाट १३ हजार ९५० विद्यार्थी लाभान्वित भएका छन् । कक्षा १ देखि ३ सम्मका विद्यार्थीको पठन सीप तथा आधारभूत साक्षरता विकास गर्न कार्यक्रम सञ्चालन गरिएको हो । त्यसैगरी, ती स्थानीय तहका १५ विद्यालयमा कक्षा ६ र ७ का विद्यार्थीका लागि जीवनोपयोगी सीपसम्बन्धी कक्षासमेत सञ्चालन गरिएको संयोजक पौडेलले बताए ।