नेप्से ३० अंकले बढ्यो, ६ वटा कम्पनीको मूल्यमा ९ प्रतिशत वृद्धि
वि.सं.२०७५ पुस ११ बुधवार २१:२८
shares

आइतबार ३२ अंकले बढेर सोमबार र मंगलबार सामान्य घटेको सेयर बजार साताको चौथो दिन बुधबार ३० अंकले उकालो लागेको छ । अल्पकालीन लगानीकर्ता नाफा बुक गर्नतर्फ लागेपछि दुई दिन सुस्ताएको बजार बुधबार बढेको हो ।
बुधबार नेप्सेमा सूचीकृत बैंक, वित्त, बिमा, लघुवित्त, व्यापारलगायतका सबै समूह उकालो लागेका छन् । सबैभन्दा धेरै जीवन बिमा कम्पनी समूहको सेयर ७.७९ प्रतिशतले बढेको छ । त्यस्तै, व्यापार समूह ६.०५, निर्जीवन बिमा ४.३८, होटल ३.८२, लघुवित्त ३.६७, अन्य २.१३, बैंक १.७९, विकास बैंक १.४१, जलविद्युत १.५९, वित्त १.३५ र उत्पादनमूलक ०.८६ प्रतिशतले बढेका छन् ।

दुई दिन मूल्य घटेको मौका छोपेर बुधबार सेयर खरिद गर्नेहरु सक्रिय भएसँगै कारोबार रकम पनि ह्वात्तै बढेको छ । बुधबार १७३ कम्पनीको ६९ करोड २६ लाख रुपैयाँबराबरको १९ लाख १०३ कित्ता सेयर खरिद–बिक्री भएको छ । यो कारोबार रकम अघिल्लो दिनको तुलनामा २७ करोड बढी हो । मंगलबार ४२ करोडको सेयर कारोबार भएको थियो ।
९ प्रतिशत मूल्य बढ्ने कम्पनी
बुधबार ६ वटा कम्पनीको मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ । नागरिक लगानी कोष ९.९९, विशाल बजार कम्पनी ९.९७, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी ९.९३, मल्टिपर्पोज फाइनान्स कम्पनी ९.६६, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ९.४५ र नेसनल लाइफ इन्स्योरेन्स कम्पनीको मूल्य ९.१९ प्रतिशतले उकालो लागेको छ ।
नयाँ नेपाल लघुवित्तका लगानीकर्ताको सम्पत्ति ८.३२ प्रतिशतले बढेको छ भने गुराँस लाइफ इन्स्योरेन्स कम्पनी, फर्स्ट माइक्रोफाइनान्स, उन्नति माइक्रोफाइनान्स, युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल), सूर्य लाइफ इन्स्योरेन्स कम्पनी र एभरेस्ट इन्स्योरेन्स कम्पनीको सेयर मूल्य पनि ७ प्रतिशतभन्दा धेरैले बढेको छ ।

























