पशुपतिनाथको नित्य पूजालाई विधिवत् रूपमा निरन्तरता दिइनुपर्नेमा जोड
वि.सं.२०८३ मंसिर ५ शनिवार २१:१७
shares

काठमाडौँ।विश्वभर फैलिएका वैदिक सनातन हिन्दू धर्मावलम्बीका आस्थाको केन्द्र पशुपतिनाथको नित्य र नैमित्तिक पूजा, आराधना र परम्परालाई पूर्ववत् रुपमा निरन्तरता दिनुपर्नेमा जोड दिइएको छ । पशुपति अर्चना सुव्यवस्था प्रतिष्ठान, विद्वत् परिषद्को आजको बैठकमा विद्वान्हरूले यस विषयमा जोड दिएको हुन् ।
बैठकले पशुपतिनाथको पूजा, आराधनाको पद्धतिका विषयमा जानकारी दिने गरी पुस्तक प्रकाशन गर्दै आएकामा त्यसलाई पनि निरन्तरता दिने निर्णय गरेको प्रतिष्ठानका अध्यक्ष देवीप्रसाद चापागाइँले जानकारी दिए ।
विधिपूर्वक आराध्यदेव भगवान् पशुपतिनाथको पूजा नियमित भएको छरछैन बुझेर यथोचित गराउने उद्देश्यले प्रतिष्ठानको २०६६ सालमा स्थापना भएको थियो । पशुपतिनाथको पाँच दिन र बासुकीनाथको १७ दिन नित्य पूजा रोकिएपछि प्रतिष्ठान स्थापना भएको जानकारी पनि कार्यक्रममा गराइएको थियो ।
नित्य पूजा आराधनालगायत मूर्त, अमूर्त सांस्कृतिक क्रियाकलाप रोकिँदा विश्व सम्पदा सूचीमा सूचिकृत पशुपति क्षेत्रको महत्वका बारेमा प्रश्न उठ्न सक्ने भएकाले त्यस्तो अवस्था नआई पशुपतिनाथको महत्व स्थापित भइरहोस् भनी यस किसिमको छलफल आयोजना गरिएको उनले सुनाए। कार्यक्रममा प्रा दीर्घराज घिमिरे, प्रा डा ऋषिराम पोखरेल, प्रा विद्यानाथ उपाध्याय भट्ट, प्रा डा विनुबाबा अर्याललगायत विद्वान् एवं विदुषीहरूको उपस्थिति थियो ।

























