युवालाई उद्यमशीलता र रोजगारीमा जोडिन ओलीको आग्रह
वि.सं.२०८३ मंसिर ५ शनिवार २०:२९
shares

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले युवालाई उद्यमशीलता र रोजगारीका अवसर सिर्जना गर्दै मुलुकको विकासमा योगदान गर्न आग्रह गरेका छन् ।
नेकपा (एमाले) ले गठन गरेको नेसनल भोलिन्टियर फोर्सको प्रथम स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले युवालाई राजनीतिसँगै उत्पादन र उद्यमशीलताका क्षेत्रमा सक्रिय हुन आग्रह गरेका हुन् ।
पूर्वप्रधानमन्त्री ओलीले कृषि, सूचना प्रविधि र साना उद्योगलगायत क्षेत्रमा उद्यमशीलता विकास गरी स्वरोजगार बन्न युवालाई सुझाव दिए । युवा उमेर सिक्ने, ज्ञान हासिल गर्ने र काम गर्ने समय भएकाले सीप विकास गरी आम्दानीको स्रोत खोज्नुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा एमाले सचिव महेश बस्नेतले एमाले नेतृत्वको सरकारले विकासका क्षेत्रमा गरेका कामबारे जनतालाई जानकारी गराउनुपर्ने बताए । नेसनल भोलिन्टियर फोर्सका अध्यक्ष पुष्पराज श्रेष्ठले संविधान र लोकतन्त्रको रक्षा, राष्ट्रिय एकताको संरक्षण तथा सामाजिक न्याय, समानता र समावेशिताका पक्षमा फोर्स प्रतिबद्ध रहेको बताए ।

























