‘प्रकृति संरक्षणको नेतृत्व स्थानीय नागरिकले नै गर्नुपर्छ’:भुटानका पूर्वप्रधानन्यायाधीश दोर्जी
वि.सं.२०८३ मंसिर ५ शनिवार २१:१३
shares

ललितपुर।भुटानका पूर्वप्रधानन्यायाधीश तथा राष्ट्रिय वातावरण आयोगका विशेष सल्लाहकार दाशो पाल्जोर जिग्मे दोर्जीले प्रकृति र वातावरण संरक्षणको नेतृत्व सम्बन्धित देशका नागरिकले नै गर्नुपर्ने बताएको छन् ।
जेभियर एकेडेमीले आज राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी), खुमलटारमा आयोजना गरेको ‘नेपालका प्रमुख वातावरणीय चुनौती समाधानका लागि आगामी पाँच वर्षमा आवश्यक प्रमुख कदम’ विषयक कार्यक्रमका प्रमुख वक्ता दोर्जीले संरक्षणका लागि आफ्नै देशका नागरिकलाई सक्षम र सचेत बनाउनुपर्नेमा जोड दिए ।
भुटानको संरक्षण यात्राबारे अनुभव सुनाउँदै उनले संरक्षण अभियानमा तत्कालीन राजा जिग्मे सिङ्गे वाङ्चुकको राजनीतिक इच्छाशक्ति र सहयोग महत्त्वपूर्ण रहेको बताए । उनले आफ्नो जीवनमा हासिल गरेका उपलब्धिको श्रेय राजाको संरक्षणसम्बन्धी दृष्टिकोण र समर्थनलाई दिए ।
उनले सन् १९८४ मा भुटानमा विभिन्न अनुसन्धानका लागि विदेशी अनुसन्धानकर्ता आउने गरेको र सन् १९८५ मा उनीहरूलाई देशबाट फर्काउने निर्णय गरिएको प्रसङ्ग उल्लेख गरे ।
तत्कालीन राजाले उक्त निर्णयको कारणबारे जिज्ञासा राख्दा आफूले भुटानी विद्यार्थीलाई विज्ञान अध्ययन, अनुसन्धान र नयाँ आविष्कारका लागि प्रोत्साहित गर्नुपर्ने तथा उनीहरू सक्षम नहुँदासम्म देशको प्राकृतिक सम्पदा सुरक्षित राख्नुपर्ने तर्क प्रस्तुत गरेको उनले बताए।
विदेशी अनुसन्धानकर्ताले सबै अध्ययन र अनुसन्धान गर्दा भविष्यमा भुटानी युवाले आफ्नै देशको प्रकृति र जैविक विविधताबारे अनुसन्धान गर्ने अवसर गुमाउन सक्ने चिन्ता आफूले व्यक्त गरेको उनको भनाइ थियो ।
कार्यक्रममा नेपालका वातावरणीय चुनौती तथा आगामी पाँच वर्षमा संरक्षणका क्षेत्रमा अपनाउनुपर्ने प्राथमिक कदमबारे क्लाइमेट चेन्ज एण्ड को–एक्जिस्टेन्स वल्र्डवाइडका संस्थापक तथा अध्यक्ष अरूप राजौरिया, राष्ट्रिय प्रकृति संरक्षण कोषका वरिष्ठ संरक्षण अधिकृत अशोक सुवेदी र डब्लुडब्लुएफ नेपालका संरक्षण कार्यक्रम निर्देशक डा कञ्चन थापाले छलफल गरेका थिए । राष्ट्रिय अनुसन्धान परिषद् थाइल्यान्डका सल्लाहकार तथा एसियाली विकास बैंकका पूर्वजलवायु परिवर्तन समन्वय एकाइ प्रमुख रोबर्ट (बब) जे डोबियासले छलफल सहजीकरण गरेका थिए ।
यस अवसरमा वन्यजन्तु संरक्षण, वातावरणीय शिक्षा तथा जैविक विविधता संरक्षणमा योगदान पुर्याउएका नेपाली संरक्षणकर्मी किरणराज रिजाललाई चौथो बब एण्ड जाङरजेभियर एकेडेमी संरक्षण पुरस्कार–२०२६ प्रदान गरिएको थियो ।
अवैध रूपमा ओसारपसार गरिएका वन्यजन्तु तथा चराचुरुङ्गीको उद्धार, समुदायमा आधारित प्राकृतिक स्रोत व्यवस्थापन र नयाँ पुस्तामा प्रकृतिप्रतिको चेतना अभिवृद्धिमा उनको योगदान रहेको छ । उनि वाइल्डलाइफ कन्जर्भेसन नेपाल (डब्लुसीएन) तथा राष्ट्रिय प्रकृति संरक्षण कोषसँग आबद्ध रहेर संरक्षणका गतिविधिमा सक्रिय हुन् ।

























