अमेरिकी सरकारी निकायमा साइबर आक्रमणका घटना बढ्दै
वि.सं.२०८३ मंसिर ५ शनिवार २०:५९
shares

अमेरिकाको संघीय अनुसन्धान ब्युरो (एफबीआई) ले देशव्यापी आपराधिक सूचना प्रणालीमा भएको साइबर आक्रमणबारे अनुसन्धान गरिरहेको छ ।सीएनएनले यस विषयमा जानकारी राख्ने दुई व्यक्तिलाई उद्धृत गर्दै शुक्रबार जनाएअनुसार ह्याकरहरूले एफबीआईको राष्ट्रिय अपराध सूचना केन्द्र (एनसीआईसी) मा अनधिकृत पहुँच बनाएका छन् । पछिल्ला केही महिनामा उक्त प्रणालीमा भएको यो दोस्रो साइबर आक्रमण हो ।
एनसीआईसी संघीय, राज्य तथा स्थानीय सुरक्षा निकायबीच सूचना आदानप्रदान गर्ने महत्त्वपूर्ण प्रणाली हो । यसले अमेरिकी सुरक्षा निकायहरूलाई आपराधिक गतिविधिसम्बन्धी सूचना उपलब्ध गराउँदै आएको छ ।
यसैबीच, अमेरिकी कृषि विभाग पनि यसै साता साइबर आक्रमणको सिकार भएको एनबीसी न्युजले जनाएको छ । ह्याकरहरूले किसानलाई भुक्तानी गर्न प्रयोग हुने विभागको प्रणालीमा पहुँच बनाएका थिए ।
अमेरिकी सरकारी निकायलाई लक्षित साइबर आक्रमणका घटना हवाई यातायात, बैंकिङ कारोबार तथा राष्ट्रिय सुरक्षा प्रणालीमा प्राविधिक अवरोध उत्पन्न भएका घटनापछि सार्वजनिक भएका हुन् ।
अमेरिकी गुप्तचर अधिकारीहरूले बुधबार ती अवरोधहरू समन्वित वा कुनै राष्ट्रद्वारा प्रायोजित साइबर आक्रमण नभई मर्मतसम्भार तथा प्राविधिक परिवर्तनका कारण उत्पन्न भएका छुट्टाछुट्टै सेवा अवरोध भएको बताएका थिए ।
यसैबीच, प्रविधि प्रणालीमा देखिएका अवरोधप्रति बढ्दो आलोचनाका बीच राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार ह्वाइट हाउसका राष्ट्रिय साइबर निर्देशक सिन केर्नक्रसलाई पदबाट बर्खास्त गर्नुभएको छ । उहाँले सन् २०२५ अगस्टदेखि उक्त जिम्मेवारी सम्हाल्दै आएका थिए ।
एक्सियोसका अनुसार ट्रम्पले रक्षा मन्त्रालयकी प्रमुख सूचना अधिकारी कस्र्टन डेभिसलाई नयाँ राष्ट्रिय साइबर निर्देशकमा नियुक्त गरेका छन् । उक्त नियुक्तिका लागि अमेरिकी सिनेटको अनुमोदन आवश्यक पर्नेछ । रासस

























