सहुलियत पसलबाट १ करोड १९ लाख बढीको खाद्यान्न बिक्री, उपभोक्तालाई राहत
वि.सं.२०८३ मंसिर ५ शनिवार १३:२२
shares

मुगु । रोग, भोक, गरिबी र यातायातको पहुँच बाट पछि परेको मुगु जिल्लाको सदरमुकाम गमगढी बजारमा सञ्चालित सहुलियत छुट पसलबाट साढे तीन महिनाको अवधिमा १ करोड १९ लाख रुपैयाँ भन्दा बढीको खाद्यान्न बिक्री भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मुगुले प्रतिकिलो ५ रुपैयाँ छुटमा चामल तथा दाल बिक्री गरेपछि स्थानीय उपभोक्तालाई ठूलो राहत मिलेको छ ।
कम्पनीको केन्द्रीय कार्यालयको नीति अनुसार २०८३ साउन २८ गतेदेखि मशिर १ गते सम्म शाखा कार्यालयबाट २ हजार ९० क्वीन्टल बिक्री भएको खाद्यान्नमा कुल १० लाख ४५ हजार रुपैयाँ छुट दिइएको छ । उक्त अवधिमा अरुवा मोटा चामल २ हजार ३२ क्विन्टल (बिक्री मूल्य १ करोड २३ लाख ९९ हजार ७७५ रुपैयाँ), सिल्की मध्यम चामल ३२ क्विन्टल (२ लाख ११ हजार २५० रुपैयाँ), अरुवा मध्यम चामल ३ क्विन्टल (१८ हजार ९०० रुपैयाँ) र मसुरो दाल २१ क्विन्टल (३ लाख १५ हजार ३७५ रुपैयाँ) बिक्री भएको छ ।
कुल १ करोड २९ लाख ४५ हजार ३०० रुपैयाँ बराबरको खाद्यान्न बिक्रीमा छुट कटाएर खुद १ करोड १९ लाख ३०० रुपैयाँको कारोबार भएको शाखा कार्यालयले जनाएको छ । सहुलियत पसल बाट फोर्टिफाइड चामल आगामी २०८४ असार मसान्तसम्म नियमित छुटमा बिक्री भइरहने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मुगुका प्रमुख केशव गिरीले जानकारी दिए ।
स्थानीय बजारको तुलनामा कम्पनीको पसलबाट वितरण गरिएको चामलमा प्रति २५ देखि ३० केजीको बोरामा ५ देखि ६ सय रुपैयाँसम्म सस्तो पर्ने भएकाले स्थानीयवासीको आकर्षण बढेको छ । बजारको महँगीको तुलनामा सस्तो मूल्यमा चामल र दाल पाएपछि बचेको रकमबाट तेल, मसला तथा बालबालिकाका लागि कापी–किताब किन्न सहज भएको स्थानीय चन्द्र बहादुर बढुवालले बताए ।
जिल्लामा रोजगारीको अभाव र खेतीयोग्य जमिन निकै कम भएकाले बिहान–बेलुका मजदुरी गरेर घरपरिवार पाल्नुपर्ने बाध्यता रहेको स्थानीय जयकला बि.क. बताए । ‘मजदुरीको ज्यालाबाट घर खर्च चलाउनुपर्छ । बजारमा महँगो पर्छ, सहुलियत पसलबाट प्रति बोरा ५–६ सय रुपैयाँ छुट पाउँदा बचेको पैसाले अन्य घरायसी सामान जोड्न सजिलो भएको छ,’ उनले भने ।
गमगढी स्थित शाखा कार्यालय बाट छायाँनाथ रारा नगरपालिकाका १ देखि १४ वटै वडाका नागरिकले यो सुविधा लिएका छन् । यसैगरी जिल्लाका सोरु, खत्याड र मुगम कार्मारोङ गाउँपालिकाका ७ वटा बिक्री केन्द्रबाट पनि सहुलियत दरमा खाद्यान्न बिक्री भइरहेको र ती केन्द्रहरूको बिक्री विवरण आउन बाँकी रहेको शाखा कार्यालय मुगुले जनाएको छ ।

























