काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

प्रधानमन्त्रीको भारत भ्रमणमा राष्ट्रिय हितलाई प्राथमिकता दिन कांग्रेसको आग्रह

1.16K
shares

ललितपुर । नेपाली कांग्रेसले प्रधानमन्त्री वालेन्द्र शाहको मङ्सिर ६ गतेदेखि प्रारम्भ हुने भारत भ्रमण सफल र उपलब्धिमूलक बनाउन राष्ट्रिय हितलाई प्राथमिकता दिन आग्रह गरेको छ ।

प्रधानमन्त्रीको भारत भ्रमणका सन्दर्भमा पार्टीका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले आज  विज्ञप्ति जारी गर्दै दुई राष्ट्रबीचको सम्बन्धलाई थप प्रगाढ बनाउँदै नेपालको सर्वोत्तम राष्ट्रिय हितमा भ्रमण उपयोगी हुनुपर्ने बताएको छ ।

सङ्घीय संसद्को प्रमुख प्रतिपक्ष दल कांग्रेसले भारतसँगको द्विपक्षीय सम्बन्ध र सहकार्यका सम्भावित विषयमा सरकारलाई रचनात्मक सुझाव दिने उद्देश्यले विषयविज्ञको सहभागितामा विशेष आन्तरिक विमर्श गरेको उल्लेख छ ।

जलवायु परिवर्तन, हवाई सम्पर्क, पर्यटन, व्यापार, ऊर्जा, खेलकुद, उद्यमशीलता, सीमा व्यवस्थापन, सीमावर्ती क्षेत्रका नागरिकका सरोकार तथा भारतमा कार्यरत नेपाली श्रमिकका समस्यालगायत विषयमा छलफल गरिएको कांग्रेसले जनाएको छ ।

नेपाल–भारत सम्बन्धलाई पारस्परिक सम्मान, सार्वभौमिक समानता र राष्ट्रिय हितका आधारमा सुदृढ बनाउन कांग्रेसले ऐतिहासिक भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै वक्तव्यमा दुई देशबीचको सम्बन्धका सम्भावना, अवसर र व्यावहारिक जटिलताबारे पार्टीसँग लामो संस्थागत अनुभव र स्पष्ट बुझाइ रहेको जनाइएको छ ।

प्रधानमन्त्री राष्ट्रको प्रतिनिधित्व गर्दै भारत भ्रमणमा जान लाग्नुभएको उल्लेख गर्दै कांग्रेसले राष्ट्रिय हितका विषयमा व्यापक परामर्श र साझा समझदारी निर्माण हुन सके अन्तरराष्ट्रिय मञ्चमा नेपालको अडान बलियो हुने जनाएको छ ।

नेपालको राष्ट्रिय हित र मित्रराष्ट्र भारतसँगको सम्बन्ध सुदृढ बनाउने विषयमा आफ्नो प्रतिबद्धता स्पष्ट र अटल रहेको कांग्रेसको भनाइ छ । कांग्रेसले विगतका प्रतिबद्धता कार्यान्वयन, विद्यमान समस्याको ठोस समाधान र पारस्परिक हितमा आधारित दीर्घकालीन सहकार्यको नयाँ आधार निर्माणमा भ्रमण केन्द्रित हुनुपर्नेमा जोड दिएको छ ।

वरिष्ठ उपसभापति शर्माले प्रधानमन्त्री शाहको भ्रमणको पूर्ण सफलताको कामना गर्दै भ्रमणको सफलतासँग नेपालको सफलता जोडिएको उल्लेख गरेको छ ।