काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

दश वर्षपछि प्रदेश-१ का विद्यालयमा न झोला न किताब

14.03K
shares

प्रदेश-१ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले दश वर्षभित्र प्रदेशका सबै विद्यालयबाट झोला र किताब विस्थापित हुने बताएका छन् । चालु आर्थिक वर्षमा हालसम्म भएका कामहरु सार्वजनिक गर्न मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा घिमिरेले अब सरकारले इएजुकेसनलाई प्रोत्साहन गर्ने बताए । जसका कारण विद्यालयबाट झोला र किताब विस्थापित हुने उनको भनाई थियो ।

‘अब साक्षरताको परिभाषा बदलियो । इ-एजुकेसन हाम्रो उच्च प्राथमिकतामा छ । त्यसका निमित्त हरेक विद्यालयभित्र इ-एजुकेसनमार्फत् दश वर्षभित्र प्रदेशका सबै विद्यालयबाट झोला र किताब बिस्थापित हुनेछन्,’ मन्त्री घिमिरेले भने, ‘सबै शिक्षा इ-एजुकेसनबाटै हुनेछ ।’

उनले इन्टरनेटको जमना आएकोले त्यसको तालिम दिनुपर्ने बताए । उनले परीक्षणका रुपमा सय वटा विद्यालयमा इ–एजुकेसन सञ्चालन गर्न लागेको जानकारी दिए । उनका अनुसार अबको ५ वर्षभित्र सामुदायिक विद्यालयको गुणस्तर सुधार हुने तथा परिणाम देखिँन थालेको बताएका छन् ।

पत्रकार सम्मेलनमा मन्त्रालयका मन्त्रालयका सचिव हरिप्रसाद दाहालले मन्त्रालयमार्फत ९८ करोड २२ लाख बजेट निकासा भएकोमा हालसम्म २ करोड ६५ लाख ४४ हजार खर्च गरेको जानकारी दिए । यो कुल बजेटको २७ दशमलव ३७ प्रतिशत हो । मन्त्रालयको कूल बजेट ३ अर्ब ६८ करोड ८७ लाख २५ हजार छ ।

प्रवक्ता गोपीप्रसाद घिमिरेले चालु आर्थिक वर्षमा मन्त्रालयबाट विभिन्न मन्त्रालयलाई ९८ करोड २२ लाख १ हजार रुपैयाँ अख्तियारी दिइएकोमा ३ करोड ९९ लाख ९२ हजार रुपैयाँ केन्द्रले फिर्ता लगेको बताए ।

 

१३ विद्यालयलाई ५–५ लाख

मन्त्रालयले प्रदेशका १३ उत्कृष्ट सामुदायिक मध्यामिक विद्यालयलाई छनौट गरी ५ लाखका दरले पुरस्कार वितरण गरेको जानकारी दिइएको छ । त्यस्तै प्रदेश विश्वविद्यालयको सम्भाव्यता अध्ययनका लागि कार्यदल गठन भई कार्य सञ्चालन भइरहेको पनि त्यस अबसरमा जानकारी दिइयो ।

भारतको पुणेस्थित एमआईटी वर्ड पिस यूनिभर्सिटी र प्रस्तावित मनमोहन टेक्निकल युनिभर्सिटीको बीचमा मैत्री सम्बन्ध स्थापित गर्ने समझदारी भएको र चाँडै एमओयु गरिने भएको छ ।

पत्रकार सम्मेलनमा प्रदेशका विद्यालय तथा क्याम्पसहरुको विवरण सार्वजनिक गरिएको थियो । जसअनुसार सामुदायिक तर्फ ३ हजार १ सय ३६ प्रा.वि, ९ सय ७२ नि.मा.वि, ६ सय ६९ मा.वि र ४ सय ८९ उच्च मावि छन् । त्यस्तै निजी तर्फ ६ सय ३६ प्रा.वि, ४ सय १४ नि.मा.वि, ५ सय ७२ मा.वि र १ सय ३९ उच्च मावि छन् ।

प्रदेशमा ७ हजार २ सय ३२ विद्यालय छन् भने १ सय ५६ क्याम्पस रहेको जनाईएको छ । प्राविधिक तर्फको टि-एसएलसी सञ्चालन गर्ने ४८ विद्यालय छन् । सो अवसरमा शिक्षा महाशाखाका उपेन्द्र दाहालले आगामी एसइई परीक्षाका लागि ९२ हजार ७ सय १९ उत्तरपुस्तिका छपाईका लागि जनक शिक्षा सामाग्री केन्द्रसँग सम्झौता भएको जानकारी दिए ।

 

६ वटा विधयेकको मस्यौदा तयार

मन्त्रालयले यस अवधिमा प्रदेश घरेलु हिंसा सम्बन्धी ऐन, २०७५ र प्रदेश सामाजिक विकास संस्था ऐन, २०७५ पारित गराएको र ६ वटा विधयेकहरु मन्त्रिपरिषदबाट सैद्दान्तिक सहमति लिइ मस्यौदा समेत तयार गरी अन्तिम स्वीकृतिका लागि पठाईएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

 

कोशी अञ्चल अस्पताललाई शिक्षण अस्पतालको रुपमा विकास गरिने

विराटनगरस्थित कोशी अञ्चल अस्पताललाई शिक्षण अस्पतालमा रुपान्तरण गर्ने गरी आवश्यक प्रक्रिया अघि बढाइएको छ । तत्काल गर्नुपर्ने सुधारका लागि कार्यदल गठन गरी कार्य पूरा भएको र प्रतिवेदन चाँडै सार्वजनिक गर्ने त्यस अबसरमा जानकारी दिइयो ।

जडिबुटी उत्पादन तथा प्रशोधनको सम्भाव्यता अध्ययन गर्न एक कार्यदल गठन गरी अध्ययन प्रारम्भ गरिएको छ । यस्तै ज्येष्ठ नागरिक दन्त मुस्कान कार्यक्रमअन्तर्गत पाइलट प्रोजेक्टको रुपमा खोटाङको रावाबेसी गाउँपालिकाका  एक सय जना ज्येष्ठ नागरिकलाई दात लगाइएको जानकारी दिइयो ।

त्यस्तै झापा, मोरङ र सुनसरीका पानी उद्योगहरुको अनुगमन गरी पिउने पानीको शुद्धताका लागि जनजागरण ल्याउने, व्यवस्थापनमा सुधार ल्याउने र कमजोरी गर्नेलाई कारबाही गर्ने कार्य प्रारम्भ गरिएको जनाइएको छ ।

शौचालय सफाइका लागि जागरण र अनुगमनलाई नियमित गरिएको छ । निजी तथा सरकारी स्तरमा सञ्चालित अस्पतालको नियमन र व्यवस्थापनको लागि आवश्यक निति निर्देशिकाको तयारी भईरहेको उल्लेख गरिएको छ । फुटबल खेलको विकासका लागि २०७९ सम्म दुई ठूला फुटबल प्रतियोगिता गर्ने सम्झौता भएको जनाइएको छ ।

हालसम्म मन्त्रालयलाई ३३ वटा कार्यालयहरु संघीय सरकारबाट हस्तान्तरण भएका छन् भने १० वटा कार्यालय स्थापना गरिएको पनि सो अवसरमा जानकारी दिइएको छ । सामाजिक विकास मन्त्रीको भारत भ्रमणका क्रममा झापा, मोरङ, सुनसरी र इलामका विभिन्न नगरपालिका प्रमुखहरु र नास्टका वैज्ञानिकहरुसँग समेत मुख्य–मुख्य शहरहरुबाट उत्पन्न हुने फोहोर व्यवस्थित विर्सजन गर्ने, त्यस्ता फोहोरहरुबाट विकेट उत्पादन गर्ने, प्लाष्टिकजन्य फोहोरबाट इन्धन उत्पादन गर्ने र अन्य फोहोरबाट कम्पोष्ट मल बनाउने विषयमा छलफल अघि बढाईएको जनाइएको छ ।