काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

मिदासले सार्वजनिक गर्‍यो माइक्रोसर्भिसेसमा आधारित एचएमआइएस

1.34K
shares

काठमाडौं।  मिदास हेल्थ सर्भिसेजले माइक्रोसर्भिसेस आर्किटेक्चरमा आधारित हस्पिटल म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम (एचएमआइएस) सार्वजनिक गरेको छ। कम्पनीले यसलाई नेपालको डिजिटल स्वास्थ्य सेवा रूपान्तरणमा महत्त्वपूर्ण उपलब्धि भएको जनाएको छ।

परम्परागत मोनोलिथिक सफ्टवेयर संरचनालाई स्तरोन्नति गर्दै मिदासले आधुनिक माइक्रोसर्भिसेस आर्किटेक्चरमा आधारित एचएमआइएस विकास गरेको हो। कम्पनीका अनुसार नेपालमा स्वास्थ्य संस्थालाई यस्तो प्रविधिमा आधारित एचएमआइएस उपलब्ध गराउने आफू पहिलो कम्पनी हो।

नयाँ प्रणालीले अस्पतालका बिलिङ, फार्मेसी, बिरामी अभिलेख, प्रयोगशाला तथा अन्य विभागका सेवालाई छुट्टाछुट्टै मोड्युलका रूपमा सञ्चालन गर्न सक्नेछ। यसबाट कुनै एउटा विभागको प्रणालीमा समस्या आए पनि अन्य विभागको सेवा प्रभावित हुने सम्भावना कम हुने कम्पनीको दाबी छ।

माइक्रोसर्भिसेस प्रविधिले अस्पतालको आवश्यकताअनुसार प्रणाली विस्तार गर्न, नयाँ सुविधा थप्न तथा प्राविधिक अद्यावधिक छिटो गर्न सहयोग पुर्‍याउने मिदासले जनाएको छ। यसले अस्पतालको सेवा प्रवाहलाई थप लचिलो, विश्वसनीय र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

२५ वर्षभन्दा बढी अनुभव रहेको मिदासले हालसम्म देशभरका २५० भन्दा बढी स्वास्थ्य संस्थालाई एचएमआइएस सेवा प्रदान गर्दै आएको छ। कम्पनीले आफ्नो नयाँ प्रणाली विभिन्न मेडिकल कलेज, सरकारी तथा निजी अस्पतालमा कार्यान्वयन गरिसकेको जनाएको छ।

मिदासका अनुसार नोबेल मेडिकल कलेज, काठमाडौं मेडिकल कलेज, ह्याम्स हस्पिटल, फ्रन्टलाइन हस्पिटल, गण्डकी मेडिकल कलेज, लुम्बिनी सिटी हस्पिटल, मणिपाल मेडिकल कलेजलगायतका स्वास्थ्य संस्थामा पुरानो प्रणालीलाई माइक्रोसर्भिसेस आर्किटेक्चरमा स्तरोन्नति गरिएको छ।

त्यस्तै, चरक मेमोरियल हस्पिटल, फिस्टेल हस्पिटल, तिलोत्तमा हस्पिटल, भरतपुर सामुदायिक हस्पिटल, सरोवर डायग्नोस्टिक सेन्टर, युरोलोजी किड्नी हस्पिटललगायतका संस्थामा नयाँ प्रणाली सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ।

कम्पनीले किस्ट मेडिकल कलेज टिचिङ हस्पिटल र नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरलगायतका स्वास्थ्य संस्थामा पनि प्रणाली स्तरोन्नतिको काम अघि बढाएको छ।

मिदास हेल्थ सर्भिसेजका प्रमुख कार्यकारी अधिकृत अंकित भण्डारीले कम्पनीले सफ्टवेयर उपलब्ध गराउने मात्र नभई स्वास्थ्य संस्थासँग दीर्घकालीन साझेदारी निर्माणमा जोड दिएको बताए। उनले माइक्रोसर्भिसेस प्रविधिमार्फत अस्पताललाई आवश्यकताअनुसार विस्तार गर्न सकिने प्रणाली उपलब्ध गराउने उद्देश्य रहेको बताए।

आइएमई ग्रुपको मुख्य लगानी रहेको मिदास हेल्थ सर्भिसेज यसअघि मिदास टेक्नोलोजिजका नामले परिचित थियो। कम्पनीले २५ वर्षभन्दा लामो समयदेखि स्वास्थ्य क्षेत्रका लागि सूचना प्रविधिमा आधारित समाधान प्रदान गर्दै आएको छ।

कम्पनीका अनुसार नेपालको ७० प्रतिशतभन्दा बढी स्वास्थ्य संस्थामा यसको एचएमआइएस सेवा प्रयोगमा रहेको छ। यसबाट देशको ६० प्रतिशतभन्दा बढी जनसङ्ख्या प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा लाभान्वित भइरहेको कम्पनीको दाबी छ।