उपाधि जितेपछि जर्ज मुन्सेले भने : ‘यो जित सबै खेलाडी र प्रशिक्षकको मेहनतको प्रतिफल हो’
वि.सं.२०८३ मंसिर ६ आइतवार ०८:४८
shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उपाधि जितेपछि सुदूरपश्चिम रोयल्सका ओपनर जर्ज मुन्सेले यो सफलता आफ्नो व्यक्तिगत उपलब्धिभन्दा पनि सम्पूर्ण टोलीको मेहनतको प्रतिफल भएको बताएका छन् ।
शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न फाइनलमा लुम्बिनी लायन्सलाई पराजित गर्दै सुदूरपश्चिमले उपाधि जितेको हो । उपाधि जितेपछि प्रतिक्रिया दिँदै मुन्सेले पछिल्ला केही वर्षदेखि लगातार फाइनलमा पुगेर पनि उपाधि जित्न नसकेको टोलीका लागि यसपटकको सफलता विशेष रहेको बताए ।
‘म अन्तिम समयमा टोलीमा जोडिएको हुँ । त्यसैले यो उपाधिको वास्तविक हकदार सबै खेलाडी र प्रशिक्षक हुनुहुन्छ । उहाँहरू पछिल्ला केही वर्षदेखि निरन्तर मेहनत गरिरहनुभएको थियो। फाइनलमा पुग्ने तर उपाधि जित्न नसक्ने अवस्था थियो । त्यसैले यसपटक जित हासिल गर्न पाउँदा निकै खुसी छु,’ उनले भने ।
मुन्सेले नेपाली समर्थकबाट पाएको मायाको पनि खुलेर प्रशंसा गरे। खेलका क्रममा आफूले १५–१६ रन बनाउँदा नै दर्शकले आफ्नो नाम लिएर हुटिङ गरेको अनुभव निकै विशेष रहेको उनले सुनाए । खचाखच भरिएको त्रिवि मैदानको वातावरणमा खेल्न पाउनु आफ्नो लागि अविस्मरणीय अनुभव भएको उनको भनाइ थियो ।
उनले फाइनलमा सुदूरपश्चिमले सबै पक्षमा उत्कृष्ट प्रदर्शन गरेको पनि बताए । ‘म यहाँ आएदेखि टोलीको प्रदर्शनका हिसाबले यो पहिलो खेल थियो, जहाँ हामीले कुनै गल्ती गरेनौँ । फिल्डिङ शानदार थियो, बलिङ अद्भुत थियो र ब्याटिङमा पनि लक्ष्य पूरा ग¥यौँ । यो साँच्चै उत्कृष्ट सामूहिक प्रदर्शन थियो,’ उनले भने ।
एनपीएलमा सहभागी हुने अवसरबारे मुन्सेले आफू क्यारेबियनबाट घर फर्किएका बेला टोलीबाट फोन आएको बताए । नेपाली समर्थक र नेपाली खेलाडीसँग खेल्न पाउनु सधैँ विशेष अवसर भएको उल्लेख गर्दै उनले सुदूरपश्चिमका खेलाडीहरूको मेहनत, आत्मीयता र जित्ने चाहनाले आफू प्रभावित भएको बताए ।
उनका अनुसार फ्रेन्चाइज क्रिकेटमा उपाधि जितेपछि ड्रेसिङ रुममा देखिने गर्व र खुसीको माहोल निकै विशेष हुन्छ। खेलाडीको मुख्य उद्देश्य नै जित र उत्कृष्ट प्रदर्शन भएकाले धेरैभन्दा धेरै ट्रफी जित्न चाहने उनले बताए ।
सुदूरपश्चिम रोयल्ससँग पराजित भएपछि लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले आफ्नो टोलीले समग्र प्रतियोगितामा च्याम्पियनको स्तरको प्रदर्शन गरेको बताएका छन् । रोहितले लिग चरण र क्वालिफायर वानमा टोलीले गरेको प्रदर्शनप्रति सन्तुष्टि व्यक्त गरे ।
‘जुन हिसाबले हामीले लिग स्टेज र क्वालिफायर वान खेल्यौँ, मलाई लाग्छ हामीले च्याम्पियनजस्तै खेल्यौँ। आजको दिन हाम्रो थिएन। समग्र प्रतियोगिता हाम्रो लागि निकै राम्रो रह्यो,’ उनले भने ।
रोहितले फाइनलमा सुदूरपश्चिमका ब्याटर विशेषगरी मुन्सीले उत्कृष्ट ब्याटिङ गरेको भन्दै उनको प्रशंसा गरे। लुम्बिनीले बनाएको स्कोर सम्मानजनक भए पनि विपक्षी ब्याटरले राम्रो प्रदर्शन गर्दा नतिजा आफ्नो पक्षमा आउन नसकेको उनको भनाइ थियो ।
बलिङतर्फ आफ्ना खेलाडीले शतप्रतिशत प्रयास गरेको उल्लेख गर्दै उनले बलरहरूको प्रदर्शनलाई कमजोर भन्न नमिल्ने बताए । सबै बलरले आफ्नो योजना कार्यान्वयन गर्ने प्रयास गरे पनि त्यो दिन टोलीका लागि केही कुरा अनुकूल नभएको उनले स्वीकार गरे ।
फिल्डिङमा भएको क्याच ड्रपलाई पनि उनले खेलको एउटा अवसरका रूपमा व्याख्या गरे। ‘जानीजानी क्याच छोडेको होइन। खेलमा कहिलेकाहीँ अवसर छुट्छन्, कहिलेकाहीँ समातिन्छन् । त्यसलाई ठूलो मुद्दा बनाउन चाहन्नँ । आज हाम्रो दिन थिएन,’ रोहितले भने ।
उनले दोस्रो इनिङमा शीत (ड्यु) परेपछि बलिङ गर्न कठिन भएको पनि बताए। पहिलो इनिङमा पिचले बलरलाई केही सहयोग गरे पनि दोस्रो इनिङमा विकेट ब्याटिङका लागि सहज भएको उनको विश्लेषण थियो। शीतका कारण बल राम्रोसँग स्किड भएर ब्याटमा आउँदा फास्ट बलर र स्पिनर दुवैलाई विकेटबाट पर्याप्त सहयोग नमिलेको उनले बताए ।
लुम्बिनीको ब्याटिङका क्रममा भएको रनआउटप्रति पनि रोहितले दुःख व्यक्त गरे। उक्त रनआउटका कारण टोलीको रनगति केही समय सुस्त भएको भन्दै उनले त्यसो नभएको भए स्कोर १६५ देखि १७० सम्म पुग्न सक्ने सम्भावना रहेको बताए ।
विदेशी खेलाडीको योगदानबारे बोल्दै रोहितले डिक्वेला, डार्सी र ट्रम्पलम्यानलगायत खेलाडीबाट प्राप्त अनुभव र सुझाव टोलीका लागि निकै महत्त्वपूर्ण रहेको बताए। उनीहरूको उपस्थितिले लुम्बिनीको प्रदर्शनमा फरक पारेको उनको भनाइ थियो।
त्यस्तै, नेपाली खेलाडीहरूको प्रदर्शनप्रति पनि उनले खुसी व्यक्त गरे। विशेषगरी रिजन र लोकेशको प्रदर्शनको प्रशंसा गर्दै कमलसहित अन्य नेपाली खेलाडीले पनि राम्रो योगदान दिएको उनले बताए। एनपीएलमा स्थानीय खेलाडीले देखाएको प्रदर्शन नेपाली क्रिकेटको विकासका लागि सकारात्मक भएको रोहितको धारणा थियो।
उनले सिजन १ देखि नै लुम्बिनीलाई निरन्तर साथ र माया दिँदै आएका समर्थकलाई धन्यवाद दिए। फाइनलमा हार बेहोर्नुपरे पनि समर्थकलाई निराश नहुन आग्रह गर्दै उनले आगामी सिजन अझ बलियो भएर फर्किने प्रतिबद्धता व्यक्त गरे ।

























