काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सुस्ताएको घरजग्गा तथा निर्माण क्षेत्रलाई गति दिन भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

2.08K
shares

ai logo सारांश

  • स्वदेशी लगानी आकर्षित गर्ने र रोजगारीका नयाँ अवसर सिर्जना गर्ने उद्देश्यले चितवनको भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुने भएको छ ।
  • तीन दिनसम्म सञ्चालन हुने एक्स्पोमा घरजग्गा व्यवसायी, निर्माण कम्पनी, निर्माण सामग्री उत्पादक तथा विक्रेतासहित विभिन्न क्षेत्रका ६० भन्दा बढी प्रदर्शनी कक्ष रहनेछन् ।
  • घर निर्माण गर्दा अपनाउनुपर्ने सरकारी मापदण्ड, भवन संहिता, गुणस्तर तथा सुरक्षासम्बन्धी विषयमा समेत जानकारी प्रदान गरिने आयोजकले जनाएको छ ।

काठमाडौं । सुस्ताउँदै गएको घरजग्गा तथा निर्माण व्यवसायलाई पुनः चलायमान बनाउने, स्वदेशी लगानी आकर्षित गर्ने र रोजगारीका नयाँ अवसर सिर्जना गर्ने उद्देश्यले चितवनको भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुने भएको छ ।

नारायणी जग्गा तथा आवास व्यवसायी संघ, भि ग्रुप र एसवन होम्सको संयुक्त आयोजनामा आगामी मंसिर २५ देखि २७ गतेसम्म भरतपुरस्थित चितवन उद्योग संघको एक्स्पो सेन्टरमा तीनदिने एक्स्पो सञ्चालन हुन लागेको हो ।

आयोजकका अनुसार घरजग्गा कारोबारमा आएको मन्दी, लगानीको अभाव तथा युवाहरू वैदेशिक रोजगारीमा जाने क्रम बढिरहेका बेला स्वदेशमै लगानी र उद्यमशीलताको वातावरण निर्माण गर्नु एक्स्पोको मुख्य उद्देश्य रहेको छ ।

नारायणी जग्गा तथा आवास व्यवसायी संघका अध्यक्ष एवं एक्स्पोका संयोजक बाबुराम अधिकारीले घरजग्गा तथा निर्माण क्षेत्रमा देखिएको सुस्ततालाई अन्त्य गर्दै यस क्षेत्रलाई नयाँ गति दिन एक्स्पोले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

उनले घरजग्गा तथा निर्माण क्षेत्र देशको अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको उल्लेख गर्दै यस क्षेत्रमा आएको मन्दीले उद्योगी, व्यवसायी, निर्माण कम्पनी, श्रमिकदेखि सर्वसाधारणसम्म प्रभावित भएको बताए । आधुनिक निर्माण प्रविधिबारे जानकारी दिने, स्वदेशी लगानीको वातावरण बनाउने र व्यवसायी तथा उपभोक्तालाई एउटै मञ्चमा जोड्ने उद्देश्यले एक्स्पो आयोजना गर्न लागिएको उनको भनाइ छ ।

त्यस्तै, नेपाल जग्गा तथा आवास व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष विष्णु घिमिरेले एक्स्पोले घरजग्गा तथा निर्माण व्यवसायलाई पुनः लयमा फर्काउन, आधुनिक निर्माण प्रविधिको प्रवद्र्धन गर्न र सुरक्षित तथा गुणस्तरीय आवास निर्माणबारे उपभोक्तालाई जानकारी दिन सहयोग पुग्ने बताए ।

एक्स्पोमा आधुनिक घर तथा आवास निर्माण सामग्री, निर्माण प्रविधि, घरजग्गा तथा आवास परियोजना, निर्माण कम्पनीका सेवा र विभिन्न निर्माणसम्बन्धी उत्पादन तथा सेवाहरू प्रदर्शन गरिनेछ । साथै, घर निर्माण गर्दा अपनाउनुपर्ने सरकारी मापदण्ड, भवन संहिता, गुणस्तर तथा सुरक्षासम्बन्धी विषयमा समेत जानकारी प्रदान गरिने आयोजकले जनाएको छ ।

एसवन होम्सका अध्यक्ष तथा एक्स्पोका सहसंयोजक सुरज न्यौपानेका अनुसार एक्स्पोले चितवनसहित देशका सम्भावनायुक्त जिल्लाहरूमा लगानी आकर्षित गर्दै आर्थिक गतिविधि बढाउन सहयोग पु-याउने अपेक्षा गरिएको छ । विदेशमा सीप र अनुभव हासिल गरेका नेपाली युवालाई स्वदेश फर्किएर उद्यम तथा व्यवसाय सञ्चालन गर्न प्रेरित गर्नुका साथै रोजगारीका नयाँ अवसर सिर्जना गर्ने लक्ष्यसमेत एक्स्पोले राखेको छ ।

तीन दिनसम्म सञ्चालन हुने एक्स्पोमा घरजग्गा व्यवसायी, निर्माण कम्पनी, निर्माण सामग्री उत्पादक तथा विक्रेतासहित विभिन्न क्षेत्रका ६० भन्दा बढी प्रदर्शनी कक्ष रहनेछन् । आयोजकले करिब २५ हजार अवलोकनकर्ताले एक्स्पो अवलोकन गर्ने अपेक्षा गरेको छ । इच्छुक प्रदर्शकका लागि प्रदर्शनी कक्ष बुकिङ खुला गरिएको छ ।

निर्माण कम्पनी, घरजग्गा व्यवसायी, निर्माण सामग्री उत्पादक तथा विक्रेता, इन्जिनियर, वास्तुविद्, लगानीकर्ता, विद्यार्थी तथा सर्वसाधारणले एक्स्पोबाट लाभ लिन सक्ने आयोजकको भनाइ छ । सर्वसाधारणका लागि प्रवेश निःशुल्क रहनेछ ।

आयोजकले ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ लाई घरजग्गा तथा निर्माण सामग्रीको प्रदर्शनीमा मात्र सीमित नराखी सुरक्षित आवास, आधुनिक निर्माण प्रविधि, स्वदेशी लगानी, उद्यमशीलता र आर्थिक समृद्धिको सम्भावनालाई एउटै मञ्चमा जोड्ने अभियानका रूपमा अघि बढाएको जनाएको छ ।