मैथिली भाषाका महाकवि विद्यापतिको स्मृति दिवस मनाइँदै
वि.सं.२०८३ मंसिर ६ आइतवार १४:५१
shares

सारांश
- मैथिली भाषाका महाकवि विद्यापतिको स्मृति दिवस आज नेपाल, भारतसहित विश्वका विभिन्न स्थानमा विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ ।
- उनको साहित्यिक योगदान मैथिली भाषामा मात्र सीमित नरही नेपाली भाषा, साहित्य र संस्कृतिमा समेत परेको छ ।
काठमाडौं । मैथिली भाषाका महाकवि विद्यापतिको स्मृति दिवस आज नेपाल, भारतसहित विश्वका विभिन्न स्थानमा विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । प्रत्येक वर्ष कार्तिक शुक्ल (धवल) त्रयोदशीका दिन विद्यापतिको अवसान भएको स्मरणमा मैथिली भाषी समुदायले यो स्मृति दिवस मनाउने गर्दछन् ।
यस अवसरमा काठमाडौं, जनकपुरधामलगायत नेपालका विभिन्न स्थान तथा भारतको मिथिलाञ्चल क्षेत्रमा साहित्यिक, सांस्कृतिक र सांगीतिक कार्यक्रम आयोजना भइरहेका छन् ।
भारतको बिहार राज्यस्थित मधुबनी जिल्लाको विस्फीमा जन्मिएका विद्यापति मैथिली साहित्यका विशिष्ट स्रष्टा हुन् । उनलाई ‘कविकोकिल’ उपनामले समेत चिनिन्छ । मैथिलीका अतिरिक्त संस्कृत र अवहट्ठ भाषामा समेत साहित्य सिर्जना गरेका उनका रचनामा प्रेम, भक्ति, सौन्दर्य र तत्कालीन सामाजिक जीवनका विविध पक्ष अभिव्यक्त भएका छन्
उनका मैथिली पदावली विशेष लोकप्रिय छन् । राधाकृष्णको प्रेमलीला र भक्तिभावमा आधारित उनका गीत तथा पद आज पनि मिथिलाञ्चलका घरघर र धार्मिक अनुष्ठानमा गाइने गरिन्छ । विद्यापतिको नेपालसँग पनि ऐतिहासिक सम्बन्ध रहेको छ । मिथिलाका तत्कालीन राजा शिवसिंह बेपत्ता भएपछि उनकी रानी लखिमासहित परिवारलाई संरक्षण दिन विद्यापति नेपाल आएको र महोत्तरीको बनौलीमा करिब १४ वर्ष बिताएको इतिहासमा उल्लेख छ । नेपाल बसाइका क्रममा उनले ‘लिखनावली’ र श्रीमद्भागवतको मैथिली अनुवादलगायतका साहित्यिक सिर्जना गरेको बताइन्छ ।
उनको साहित्यिक योगदान मैथिली भाषामा मात्र सीमित नरही नेपाली भाषा, साहित्य र संस्कृतिमा समेत परेको छ । विशेषगरी मल्लकालदेखि नै उनका भजन काठमाडौं उपत्यकाका मन्दिर तथा धार्मिक परम्परामा लोकप्रिय रहँदै आएका छन् ।

























