प्रधानमन्त्रीको भारत भ्रमणलाई लिएर रास्वपाले भन्यो– द्विपक्षीय सम्बन्ध थप मजबुत बन्नेछ
वि.सं.२०८३ मंसिर ६ आइतवार १३:५४
shares

सारांश
- रवि लामिछानेले प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको भारत भ्रमण द्विपक्षीय सम्बन्धलाई अझ मजबुत बनाउन कोसेढुङ्गा बन्ने विश्वास व्यक्त गरेका छन् ।
- भारतको औपचारिक राजकीय भ्रमणका सन्दर्भमा प्रधानमन्त्री शाहले सभापति लामिछानेसँग भेट गरी विस्तृत छलफल तथा जानकारी गराएको रास्वपाले जनाएको छ ।
- रास्वपाले प्रधानमन्त्री शाहको भारत भ्रमण सफल, उपलब्धिमूलक र सुखद रहोस् भन्ने कामनासमेत गरेको छ ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको भारत भ्रमण द्विपक्षीय सम्बन्धलाई अझ मजबुत बनाउन कोसेढुङ्गा बन्ने विश्वास व्यक्त गरेका छन् ।
भारतको औपचारिक राजकीय भ्रमणका सन्दर्भमा प्रधानमन्त्री शाहले सभापति लामिछानेसँग भेट गरी विस्तृत छलफल तथा जानकारी गराएको रास्वपाले जनाएको छ ।
रास्वपाका महामन्त्री विपिनकुमार आचार्यका अनुसार प्रधानमन्त्री शाहको नेतृत्वमा ३४ सदस्यीय प्रतिनिधिमण्डल भारत जान लागेको हो । प्रतिनिधिमण्डलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार तथा राजनीतिक सल्लाहकारसहित उच्चपदस्थ सरकारी अधिकारी र विभिन्न संस्थाका प्रतिनिधिहरू सहभागी हुनेछन् ।
दुईदिने भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतका राष्ट्रपति द्रौपदी मुर्मु र प्रधानमन्त्री नरेन्द्र मोदीलगायत उच्च नेतृत्वसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
भ्रमणका क्रममा नेपाल–भारत द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल हुनुका साथै केही महत्त्वपूर्ण विषयमा समझदारी गर्ने तयारी रहेको आचार्यले बताएका छन् ।
नेपाल र भारतबीच रहिआएको ऐतिहासिक, राजनीतिक, आर्थिक, धार्मिक, सांस्कृतिक तथा सामाजिक सम्बन्धलाई थप मजबुत बनाउँदै आपसी विश्वास, सहकार्य र साझेदारी अभिवृद्धि गर्न भ्रमण महत्त्वपूर्ण हुने रास्वपाको विश्वास छ ।
रास्वपाले प्रधानमन्त्री शाहको भारत भ्रमण सफल, उपलब्धिमूलक र सुखद रहोस् भन्ने कामनासमेत गरेको छ ।

























