सुत्केरी र शीशुको मृत्युपछि शङ्करापुर अस्पतालमा तनाव
वि.सं.२०७५ पुस ११ बुधवार २२:४०
shares

सुत्केरी र शीशुको मृत्यु भएपछि काठमाडौंको नारायणटारस्थित शङ्करापुर अस्पताल परिसर तनावग्रस्त बनेको छ । गोकर्णेश्वर नगरपालिका-६ मा रहेको सो अस्पतालमा चिकित्सकको लापरबाहीले सुत्केरीको ज्यान गएको भन्दै मृतकका आफन्तले प्रर्दशन गरिहेका छन् ।
विहानदेखिको प्रर्दशन अझै जारी छ । उपचारका क्रममा लापरबाही भएको भन्दै आफन्तले चिकित्सकलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन गरेपछि अस्पताल तनावग्रस्त छ ।
मूलपानीकी २० वर्षीय प्रभा ढुंगानालाई मंगलबार सुत्केरी व्यथा लागेपछि शङ्करापुर अस्पताल लगिएको थियो । अस्पतालले सुत्केरी गराएपछि मृतक शीशु जन्मिएको बतायो । त्यसपछि अस्पतालले सुत्केरीलाई समेत खतरा छ भन्दै मृत शीशुसहित सुतकेरीलाई शिक्षण अस्पताल महाराजगञ्ज पठायो ।
शिक्षण अस्पताल महाराजगञ्जको आकस्मिक कक्षमा लाने बित्तिकै चिकित्सकले सुत्केरीलाई समेत मृत घोषणा गरेपछि स्थानीय आक्रोशित भएका हुन् । अस्पताललको लापरबाहीका कारण आमा र शीशुको मृत्युपछि महाराजगञ्जस्थित शिक्षण अस्पताल पठाईएको आफन्तले आरोप लगाएका छन् ।
‘शङ्खरापुर अस्पतालमै मृत्यु भएपछि आफू पन्छिनको लागि उसले शिक्षण अस्पताल पठायो,’ मृतककी सासुले भनिन् ।
अस्पतालले लापरवाही गरेकाले सुत्केरी र शीशु दुबैको ज्यान गएको चिकित्सकलार्ई कारबाही र उचित क्षतिपूर्तीको माग सहित स्थानीयले प्रदर्शन गरेका हुन् । अहिले पीडित र अस्पताल व्यवस्थापनबीच छलफल भइरहेको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ ।
सुत्केरीको शव अहिले महाराजगञ्जस्थित शिक्षण अस्पतालमा राखिएको छ ।
मृतकका अफन्तले उपचारमा संलग्न चिकित्सकलाई कारबाही, अस्पतालले मृतक पक्षसँग माफी माग्नुपर्ने, क्षतिपुर्तिबापत अस्पतालले १५ लाख दिनुपर्ने, अस्पतालले शिक्षण अस्पतालमा भएको शव आफै बुझ्नुपर्ने माग राखेका छन् ।
अस्पतालले भने सुत्केरी र शीशुको मृत्युमा आफ्नो लापरबाही नभएको भन्दै बचाउ गरेको छ । संकरापुरा अस्पतालमै केही साताअघि एक बिरामीको मृत्यु भएको थियो । जुन मृत्युलाई पनि शंकास्पद रुपमा हेरिएको छ ।
























