ट्रकमा चाउचाउ ल्याएर रित्तै फर्किँदा समृद्दि आउँदैन : मुख्यमन्त्री
वि.सं.२०७५ पुस ११ बुधवार २३:२८
shares

उत्पादनमा ध्यान नदिई ट्रकमा चाउचाउ भित्र्याएर रित्तै फर्काए कर्णालीको सम्वृद्दि नआउने मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताएका छन् । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको आयोजनामा वुधबार चौरजहारीमा सम्पन्न सर्वपक्षीय अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले यस्तो बताएका हुन् ।
‘आर्थिक समृद्धि हासिल गर्न हरेक स्थानीय तहले उत्पादनको योजना निर्माण गर्नुपर्दछ । हरेक नागरिक उत्पादन सँग जोडिनुपर्छ,’ उनले भने, ‘ट्रकमा चाउचाउ भित्र्याउने र त्यसलाई रित्तै फर्काए कर्णालीको सम्बृद्धि हुँदैन । स्थानीय तहका उत्पादन पनि सँगै पठाउन सक्नुपर्छ ।’
स्थानीय तहमा उत्पादित वस्तुहरुको बजारीकरणका लागि सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताउँदै मुख्यमन्त्री शाहीले मागको आधारमा उत्पादनमा लाग्न आग्रह गरे ।
उनले चौरजहारीलाई कर्णाली प्रदेशको आर्थिक केन्द्रका रुपमा विकास गर्ने प्रदेश सरकारको योजना रहेको वताउँदै कृषि तथा जडीवुटीजन्य उद्योगको चौरजहारीमा राम्रो सम्भावना रहेका बताए । सल्लीबजार चौरजहारी सडकको स्तरोन्नति र कालोपत्रेका लागि प्रदेश सरकारले ६ करोड बजेट विनियोजन गरेको र कार्यप्रगतिको आधारमा बजेट थप गरिने उनको प्रतिवद्दता थियो ।
कार्यक्रममा भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले चौरजहारी नगरपालिका भित्रका कृषि योग्य जमिनमा सिँचाई प्रबन्ध गर्न आफू लागिपरेको बताएकी छन् । कार्यक्रममा प्रदेशसभा सदस्य गोपाल शर्मा, जिल्ला समन्वय समिति रुकुम पश्चिमका प्रमुख राजकुमार शर्मा र चौरजहारी नगरपालिका प्रमुख विशाल शर्मा लगाएतको उपस्थिती थियो ।

























